कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर क्षेत्रमा केही समययता भइरहेको अघोषित लोडसेडिङका कारण नागरिकको जनजीवन नै प्रभावित बनेको छ । नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रमार्फत वितरण हुने विद्युत् अनियमित हुँदा नागरिकहरूले सास्ती भोगिरहेका छन् । केही समययता कोहलपुर क्षेत्रमा दिउँसो र रातको समयमा बिनाजानकारी अघोषित रूपमा लोडसेडिङ भइरहेको भन्दै कोहलपुर क्षेत्रका विभिन्न क्षेत्रका अगुवाहरूले कार्यालयलाई ध्यानाकर्षण गराएका छन् ।
सोमबार कोहलपुरस्थित नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रमा पुगेर यस क्षेत्रका अगुवाहरूले कार्यालयको गम्भीर ध्यानाकर्षण गराएका हुन् । उनीहरूले कार्यालयले गरिरहेको सेवाप्रवाह, कार्यालयमा कार्यरत कर्मचारीहरूको कार्यशैली र अघोषित लोडसेडिङका कारण सेवाग्राहीहरू मारमा परेको भन्दै कार्यालय प्रमुखलाई भेटेर गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।
कार्यालयले हजारौँ सेवाग्राहीहरूलाई झुक्याएर थाहै नदिई विद्युत् कटौती गरिरहेको उनीहरूको भनाइ थियो । राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरका नगर सभापति राजेन्द्र श्रेष्ठले कार्यालयले सेवाग्राहीमाथि अन्याय गरिरहेको बताए । उनका अनुसार कार्यालयले विद्युत् अनियमित गर्दा हजारौँ सेवाग्राही मारमा परेका छन् । ‘कार्यालय प्रमुखले जनतालाई विद्युत् नदिएर कमिसन खाएर ठूला उद्योगलाई विद्युत् दिन्छ भन्ने गुनासो छ । यहाँका प्राविधिक कर्मचारीहरूले राम्रो काम गरेनन् ।
कार्यालयको फोन उठ्दैन भन्ने गुनासो छ,’ उनले भने । उनले कुलमान घिसिङ हुँदा विद्युत् नियमित भए पनि अहिले भने अनियमित हुनुको कारण कार्यालय प्रमुखलाई सोधेका थिए । यस्तै उनले अहिले रास्वपाको सरकारलाई कर्मचारीहरूले असहयोग गरिरहेको समेत आरोप लगाए । जनता अब कार्यालयका विरुद्धमा सडकमा मात्रै आउन बाँकी रहेको र आफूहरूले रोकिरहेको उनको भनाइ थियो । श्रेष्ठले विद्युत् अनियमित भइरहेको भन्दै सेवाग्राहीको सहजताका लागि लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न माग गरे ।
कोहलपुरकै स्थानीय युवराज घर्तीमगरले रातिको समयमा कार्यालयका कर्मचारीको फोन नउठ्ने समस्या रहेको बताए । उनले भने, ‘एक्कासि बत्ती जान्छ । कार्यालयमा बत्ती आउन कति समय लाग्छ भनेर फोन गरिन्छ । तर कहिल्यै पनि फोन नै उठ्दैन । सेवाग्राहीको सेवामा कार्यालयले ध्यान दिन आवश्यक रहेको छ,’ उनले भने । अर्का स्थानीय दिनेश उपाध्यायले नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रले विद्युत्को कृत्रिम अभाव सिर्जना गरेका कारण सेवाग्राहीहरूले दुःख पाइरहेको बताए ।
उनका अनुसार कार्यालयका कर्मचारी कार्यालय समयमा व्यक्तिगत काम गर्छन् । प्राविधिक कर्मचारीहरूले व्यक्तिगत कमाउ धन्दामा लागेका छन् । कार्यालयले नियमित विद्युत् दिन सकिरहेको छैन् । यस्ता गम्भीर विषयमा कार्यालयले चासो नै नदिएको गुनासो उनले गरे । सामाजिक अभियान्ता कपिल शाहले विद्युत् नियमित नहुँदा साना बालबालिका,ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरूले सास्ती भोग्नु परेको बताए ।
कार्यालयले अबदेखि नियमित रूपमा कति बेला बत्ती जान्छ । कति बेला आउँछ भनेर पूर्वसूचना जारी गर्नसमेत उनले माग गरे । ‘पहिला लाइन काटिदैन थियो । अहिले लाइन काटिन्छ । यस्तो किन भइरहेको छ । सेवाग्राहीहरूलाई स्पष्ट जवाफ चाहिन्छ,’ शाहले माग गरे । नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख रमेश अवस्थीले केही दिन रातिको समयमा देशैभरी सिस्टम कोल्याप्स हुने भएका कारण बत्ती जाने गरेको बताए ।
उक्त समस्या वितरण केन्द्रको कन्ट्रोलमा समेत नहुने उनले बताए । ‘हाम्रो वितरण केन्द्र हो । हाम्रा केही संरचनाहरू रहेका छन् । वितरण संरचनाहरू दुरुस्त हुँदाहुँदै पनि जनशक्तिहरू रातदिन खटिदाँ पनि वितरण केन्द्रलाई सप्लाइ दिने निकायले दिएन भने आफूहरूले केही पनि गर्न नसक्ने अवस्था छ,’ उनले भने । उनले सेवाग्राही मात्रै होइन आफूहरूले समेत थुप्रै समस्या भोगिरहेको बताए । कार्यालयका कर्मचारीहरूको विषयमा आएको गुनासोका सम्बन्धमा आफू गम्भीर भएको भन्दै आगामी दिनमा यस्ता समस्या आउन नदिने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।
नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रमा अहिले ७९ जना कर्मचारी कार्यरत छन् । तीमध्ये १६ जना प्राविधिक, १३ जना मिटर रिडर र ५ जना सेवा करार तथा अन्य निजामति कर्मचारी रहेका छन् । अझै २२ जना प्राविधिक जनशक्ति नपुग रहेको उनले बताए । वितरण केन्द्रले कोहलपुर, बैजनाथ, राप्ती सोनारी र नेपालगन्जका केही वडामा सेवा प्रदान गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्