कोहलपुरमा समालोचना लेखनसम्बन्धी कार्यशाला



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा दुईदिने समालोचना लेखनसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कोहलपुर वाङ्मय प्रतिष्ठान बाँकेको आयोजनामा सुरु भएको दुईदिने कार्यशाला आइतबार सम्पन्न भएको हो । दुईदिने कार्यशालामा लेखनसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यशालाई उपप्रध्यापक डा. नेत्रमणी सुवेदी र डा. खगेन्द्र घोडासैनीले प्रशिक्षण गरेका थिए ।

कार्यशालामा प्रशिक्षक सुवेदीले साहित्य, कविता, आख्यान र निबन्धको समालोचना लेखनको सैद्धान्तिक प्रक्रिया, कविता समालोचना लेखनको सैद्धान्तिक प्रक्रियाबारे प्रशिक्षण दिएका थिए । यस्तै अर्का प्रशिक्षक घोडासैनीले अनुसन्धात्मक लेखको शीर्षक चयन र विषय परिचय लेखन, अनुसन्धानात्मक लेखको अध्ययन विधि र ढाँचा तथा सैद्धान्तिक आधार लेखन र अनुसनधात्मक लेखको छलफल र परिणाम निष्कर्ष लेखन तथा प्रकाशन प्रक्रियाका बारेमा सहभागीहरूलाई जानकारी दिएका थिए ।

समालोचना लेखनसम्बन्धी कार्यशालाको समापन सत्रमा सम्पूर्ण सहभागीहरूको तर्फबाट सरिता काफ्लेले कार्यशाला महत्वपूर्ण सिकाइको कार्यशाला भएको बताइन् । उनका अनुसार साहित्यका विषयमा कार्यशालाबाट जानकारी प्राप्त भएको छ । ‘तालिममा धेरै कुरा सिकेका छौँ । सिकेका कुरा व्यवहारमा लागू गर्नेछौँ,’ उनले भनिन् ।
प्रशिक्षक खगेन्द्र घोडासैनीले समालोचना लेखनसम्बन्धी कार्यशालामा आफूले सिकेका कुरा सिक्ने र सहभागीबाट सिक्ने अवसर प्राप्त भएको बताए ।

‘सिकाइ निरन्तरको प्रयासले सम्भव हुन्छ । सफलता हासिल गर्न प्रयास जारी राख्नुपर्छ । आयोजकप्रति आभार प्रकट गर्न चाहन्छु,’ उनको भनाइ थियो । प्रशिक्षक सुवेदीले समालोचनामा रुचि राख्नेहरूको सङ्ख्या देखेर आफूलाई खुसी लागेको बताए । समालोचना गहन विषय भएका कारण अध्ययन आवश्यक रहेको उनको भनाइ थियो । निरन्तरको अभ्यासले सफलता हासिल गर्न सकिने भएकोले हरेक क्षेत्रमा निरन्तरता दिन सुवेदीले आग्रह गरेका थिए ।

उनले भने, ‘सहभागीहरूले सक्रिय सहभागीता जनाउनुभयो । सिक्ने र सिकाउने अवसर मिल्यो । कार्यशाला सफल भएको अनुभूति गरेको छु ।’ कोहलपुर वाङ्मय प्रतिष्ठान बाँकेका कार्यबाहक अध्यक्ष सुमित्रा न्यौपानेले दुईदिने कार्यशाला अत्यन्त सफल भएको बताइन् । उनका अनुसार नेपालगन्ज र कोहलपुर क्षेत्रमा साहित्य सिर्जना गरिरहेका व्यक्तिहरूको उल्लेख्य सहभागीता रहेको थियो । दुईदिने कार्यशालामा कोहलपुर, नेपालगन्ज र खजुरा क्षेत्रका साहित्यकार तथा लेखनमा रुचि राख्ने ५२ जनाको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार