नेपालगन्ज (बाँके) ।
बाँकेको एक वनमा वन्यजन्तुका लागि पहिलोपटक सोलार सिस्टमबाट पिउने पानीको व्यवस्था गरिएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर –८ स्थित सरकारद्वारा व्यवस्थित गरिएको शमसेरगन्ज–माथेवास चक्ला वनमा सोलार पम्पसहितको पानी पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले कम्दी जैविक मार्गमा पहिलोपटक सोलार पम्पसहितको वन्यजन्तुका लागि पानी पोखरी निर्माण कार्य सम्पन्न भएको बताए ।
उनले डिभिजन वन कार्यालय बाँकेले राप्तीसोनारी ८ स्थित सरकारद्वारा व्यवस्थित गरिएको शमसेरगजन्ज–माथेवास चक्ला वनमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (ईलम परियोजना)को आर्थिक सहयोगमा ५५ मिटर बोरिङ गरि पानी निकालिएको जानकारी दिए । यो पोखरीले वन्यजन्तुको वासस्थानका साथै आगलागी नियन्त्रणमा समेत ठूलो राहत पु¥याउने विश्वास लिइएको भन्दै उनले बस्तीभन्दा निकै टाढा रहेको यो पोखरी जैविक मार्ग व्यवस्थापनको नमुना अभ्यासको रूपमा रहने उल्लेख गरे ।
डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले लामो प्रयासपछि वनक्षेत्रमा सोलार सिस्टमबाट वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न सकिएको बताए । उनले करिब १० लाख रूपैयाँँको लागतमा २ किलोवाट क्षमताको सोलारसहितको पानी पोखरी निर्माण भएको जानकारी दिए । वन क्षेत्रमा दर्जनौँको सङ्ख्यामा पानी पोखरी भए पनि गर्मी र सुक्खा मौसममा पोखरीमा पानी नहुँदा वन्यजन्तुलाई समस्या हुँदै आएको थियो ।
उनले पानीको खोजीमा वन्यजन्तुहरू मानव बस्तीसम्म पुग्ने र मानव–वन्यजन्तुबीच हुने द्वन्द्व पनि न्यूनीकरण हुने आशा व्यक्त गरे । यसअघि पानीको खोजीमा वन्यजन्तुहरू मानव बस्तीसम्म पुग्दा मानव–वन्यजन्तुबीच द्वन्द्व हुनुका साथै वन्यजन्तुमाथि आक्रमण हुने जोखिम पनि रहेको थियो । बाँकेका त्रिशक्ति, भगवती, मधु, अशोक, जनमुखी, रामजानकी, सिद्धेश्वरी तथा जनकल्याण लगायतका सामुदायिक वनमा दर्जनौँको सङ्ख्यामा वन्जन्तुका लागि पानीको व्यवस्थापन गर्नका लागि पोखरी निर्माण गरिएका छन् ।
तर ति पोखरीहरू आकासे पानीको भरमा रहेकाले गर्मी र सुक्खा मौसममा ति पोखरीमा पानी उपलब्ध नहुँदा वन्यजन्तुलाई पानीको समस्या रहँदै आएको थियो ।
पानीको खोजीमा वन्यजन्तुहरू सोही क्षेत्र भएर बग्ने सिक्टा सिँचाइको पश्चिमी मूल नहरमा जाँदा कैयौँपटक डुब्ने तथा मर्ने जस्ता घटना हुँदै आएका थिए भने कतिपय समयमा चोरी सिकारी गर्ने समूहले पानीमा फँसेका तथा पानी पिउन नहरमा पुगेका वन्यजन्तुमाथि आक्रमण गर्ने तथा मारेर लैजाने जस्ता क्रियाकलाप पनि हुँदै आएका थिए ।
वन्यजन्तुलाई पानी पिउनका लागि वन जङ्गल क्षेत्रमा बनाइएका पोखरीमा बाह्रै महिना पानीको व्यवस्थापन गर्नका लागि सोलारको जोहो गरेर भए पनि पानीको उपलब्धता गराइनुपर्ने स्थानीय बताउँछन् । वन्यजन्तुलाई पानी पिउनका लागि विभिन्न सामुदायिक वन तथा चक्ला वनमा बनाइएका पोखरीमा सधैभर पानीको व्यवस्था गर्न आवश्यक बजेटको व्यवस्थापन गर्न स्थानीयले सरकारसँग माग गरेका छन् । वनमै वन्यजन्तुका लागि बाह्रै महिना पानीको व्यवस्थापन भए मानव बस्तीमा पनि उनीहरू नपुग्ने र सम्भावित मानव–वन्यजन्तु द्वन्द्व पनि नहुने तथा नहरमा पुगेर डुब्ने तथा मर्ने समस्या पनि अन्त्य हुने उनीहरूको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्