बाँसगढी (बर्दिया) ।
बर्दियाको बाँसगढी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । शनिबारदेखि सुरु भएको बाँसगढीको १९औँ नगरसभामा सभाध्यक्ष खड्कबहादुर खड्काले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरसभामा छलफलपश्चात् शनिबार नै बाँसगढीको आगामी आवको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको हो ।
१९औँ नगरसभामा आउँदो असार १० गते बाँसगढीको आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरिनेछ । ‘करको दर होइन, करको दायरा विस्तार’ भन्ने नीतिलाई आत्मसात् गर्दै राजस्व प्रणालीलाई थप सुदृढ बनाइने, नगरभित्र सञ्चालनमा रहेका अटो रिक्सा तथा ई–रिक्सालाई नियमको दायरामा ल्याई रुट परमिट प्रणाली लागू गर्दै भाडादरमा एकरुपता कायम गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार विकास जस्ता कुरालाई प्राथमिकता दिइएको सभाका सभाध्यक्षसमेत रहेका बाँसगढी नगरपालिकाका प्रमुख खड्काले जानकारी दिए । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गुणस्तरीय र जीवनोपयोगी शिक्षा तथा स्वास्थ्य सेवामा आम नागरिकको समन्यायिक पहुँच सुनिश्चित गर्ने, स्थानीय कृषि प्रणालीको आधुनिकीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने, युवा, महिला र श्रमशक्तिको सीप विकास गरी रोजगारी र उद्यमशीलताका अवसरहरू सिर्जना गर्ने, डिजिटल प्रविधि र सूचना प्रविधिको उपयोग गरी सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, छिटो र सुशासनयुक्त बनाउने तथा सहभागितामूल, उत्थानशील र जलवायु अनुकूलित पूर्वाधारको विकास गर्ने कुरालाई प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि नगरपालिका छात्रवृत्ति अनुदान कार्यक्रम सञ्चालन गर्ने, प्रविधिमैत्री शिक्षण पद्धति लागू गर्ने, विद्यालय सुधार कार्यक्रमअन्तर्गत बालमैत्री, सुरक्षित, लैङ्गिक तथा अपाङ्गमैत्री कक्षाकोठा तथा शौचालय, खानेपानी र खेलमैदान निर्माण गर्ने, लैङ्गक समानता र महिला सशक्तीकरणमा जोड दिने, ज्येष्ठ नागरिकहरूको ज्ञान, सीप, अनुभव र जीवनमूल्यलाई नयाँ पुस्तामा हस्तान्तरण गरिने तथा ज्येष्ठ नागरिकका लागि ‘डक्टर एट होम’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
उज्यालो नगरपालिका अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै राष्ट्रिय प्रसारण लाइन नपुगेका बस्तीहरूमा विद्युत् सेवा विस्तार तथा पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने, ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सांस्कृतिक गाउँहरू पहिचान गरी होमस्टे सञ्चालनका लागि प्रोत्साहन गरिने, नवप्रवर्तनलाई प्रोत्साहन गर्न नवप्रवद्र्धनकारी व्यावसायिक योजनाका आधारमा युवालाई स्टार्टअप सहयोग र परामर्श सेवा उपलब्ध गराउने नीतिसमेत लिइएको छ ।









प्रतिक्रिया दिनुहोस्