नन्दराम जैशी । सुर्खेत ।
घाँटीभरी गहिरा घाउका डाम । अनुहारमा मुस्कान देखिए पनि आँखाभित्र लुकेको पीडाको कथा अझै मेटिएको छैन । मृत्युको मुखबाट फर्किएकी यी बालिका आज विद्यालय जाने सपना बोकेर नयाँ जीवनतर्फ अघि बढिरहेकी छन् । लेकवेशी नगरपालिका सुर्खेतकी यी बालिकाको जीवनमा आएको दुःखद मोड त्यतिबेला सुरु भयो, जब उनका बुबाको हृदयघातका कारण निधन भयो ।
अनी परिवारको संरक्षण र माया पाउनुपर्ने उमेरमा उनीमाथि नै ज्यान लिने प्रयास भयो । प्रारम्भिक अनुसन्धानअनुसार परपुरुषसँगको सम्बन्धमा छोरी बाधक बनेको भन्दै आफ्नै आमाले उनको घाँटी रेटेर मृत भएको ठानेर नालामा फालेकी थिइन् । तर नियतिले अर्कै निर्णय ग¥यो । गम्भीर घाइते अवस्थामा रहेकी बालिकालाई स्थानीय छिमेकीहरूले जीवितै देखेपछि तत्काल उद्धार गरेका थिए ।
प्रदेश अस्पताल सुर्खेतमा समयमै उपचार पाएकी उनी मृत्युको मुखबाट फर्किन सफल भइन् । आज पनि उनको घाँटीमा रहेका घाउका डामहरूले उनले भोगेको अमानवीय हिंसाको कथा सुनाइरहेका छन् । नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान मार्ने उद्देश्यले गरिएको आक्रमण तथा बालबालिकामाथिको हिंसा गम्भीर फौजदारी अपराध हो, जसका लागि कडा कानुनी सजायको व्यवस्था गरिएको छ । घटनासम्बन्धी मुद्दामा बालिकाकी आमा हाल सुर्खेत कारागारमा कैद जीवन बिताइरहेकी छन् ।
शरीरमा लागेको घाउ समयसँगै निको हुन सक्छन्, तर ती बालिकाका मनमा बसेका पीडाका छाप मेटिन सायद समय नै आउने छैन । आफ्नै सन्तानलाई संरक्षण दिनुपर्ने हातबाट मृत्युको प्रयास हुनु कुनै पनि बालबालिकाका लागि अत्यन्त पीडादायी र त्रासदीपूर्ण घटना हो । यो केवल एक बालिकाको कथा मात्र होइन, बालअधिकार, मानवता र सामाजिक उत्तरदायित्वमाथिको गम्भीर प्रश्न पनि हो ।
तर अन्धकारबीच बालिकाको लागि आशाको किरण बनेर केही हातहरू अघि बढेका छन् । लभ एन्ड होप नेपाल संस्थाले बालिकाको उद्धार गर्दै उनको पूर्ण संरक्षण, पालनपोषण तथा उच्च शिक्षासम्म अध्ययनको जिम्मेवारी लिएको छ । बालिका उनको हजुरबुवासँग बस्ने भए पनि संस्थाले सम्पूर्ण जिम्मा लिने भएको हो । संस्थाको सहयोगमा अब उनी अहिले नियमित रूपमा विद्यालय जानेछिन् । र नयाँ जीवनप्रति उनी पनि निकै आशावादी देखिन्छिन् ।
एक समय मृत्युको मुखमा पुगेकी ती बालिका आज शिक्षाको उज्यालो बाटोमा हिँड्दा छिमेकीहरू पनि निकै खुसी भएका छन् । बाललिकाको खुसीको मुस्कानले पनि त्यो प्रष्ट गर्छ । पीडा ठूलो भए पनि आशा र अवसर पाए जीवन फेरि फुल्न सक्छ भन्ने पुष्टि यी बालिकाले आफ्नै पीडा र भविष्यबाट बताउनेछिन् । अब समाजले उनीप्रति सहानुभूति मात्र होइन, न्याय र सुरक्षा सुनिश्चित भएको आभास गरेको छ ।
बालिकामाथि हुने हिंसाका घटनामा अपराधी जोसुकै भए पनि कानुनको कठघरामा उभ्याउनुपर्ने सरोकारवाला निकाय बताउँछन् । किनकी प्रत्येक बालबालिकालाई सुरक्षित बाल्यकाल, शिक्षा र सम्मानपूर्वक बाँच्ने अधिकार पनि छ । पीडित बालिकाले भनिन्, ‘मलाई मार्न खोजियो, तर ईश्वरले बचाइदिनुभयो ।’
यो वाक्य केवल एक बालिकाको जीवन संघर्षको कथा होइन, मृत्युबाट जीवनतर्फको अदम्य यात्राको साक्षी पनि हो । यी बालिकाजस्तै सबै सीमान्तकृत वर्गका विपन्न र पीडित बालबालिकाको पक्षमा संस्थाले सधैँ काम गर्ने लभ एण्ड होप नेपालका अध्यक्ष शम्भुसंकर पोखरेलले बताए ।









प्रतिक्रिया दिनुहोस्