पहिराले कर्णाली करिडोर अवरुद्ध, यात्रु बाटोमै अलपत्र



कर्णाली ।

पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ । मंगलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो ।

वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएका कारणले कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा तीन सयभन्दा बढी यात्रु बाटोमै अलपत्र परेका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए ।

वर्षा नरोकिएका कारण पहिरो पन्छाउन उपकरण प्रयोग गर्न नसकिएको उनले बताए । आज बिहानैदेखि डोजरले पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि झन्डै तीन किलोमिटर सडकमा लेदो बगेकाले पन्छाउन कठिन भएको प्रहरी नायब उपरीक्षक खत्रीले बताए ।

कर्णाली करिडोर हुँदै कालीकोटको रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, बाजुरा र हुम्लाबाट आएका सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन् । बिरामी, परीक्षार्थी र काम विशेषले हिँडेका यात्रु लालीघाट, रेगिंल, सान्नीगाड र खुलालुमा अलपत्र परेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार