कोहलपुर ।
कोहलपुर साझ चोकस्थित रहेको ज्ञान बहुमुखी क्याम्पसमा “शिक्षण सिकाइमा प्रविधिको प्रयोग” विषयक तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र ज्ञान बहुमुखी क्याम्पसको आयोजनामा उक्त तीन दिने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न हो।
कार्यक्रमको उद्घाटन परीक्षा नियन्त्रण कार्यालय कोहलपुरका निर्देशक डा. लक्ष्मण पोख्रेलले गरेका थिए भने समापन लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद ढकालले गरेका थिए। समापन कार्यक्रममा बोल्दै उपकुलपति ढकालले वर्तमान समय प्रविधिको युग भएको उल्लेख गर्दै शिक्षण सिकाइमा प्रविधिको प्रभावकारी प्रयोग अपरिहार्य रहेको बताए।
उनले शिक्षण सिकाइमा नयाँ–नयाँ प्रविधिहरूको प्रयोग तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै प्रविधिसँग नजोडिएका प्राध्यापकहरू शिक्षण पेशामा पछि पर्न सक्ने भएकाले सबैका लागि प्रविधि ज्ञान अनिवार्य भएको धारणा व्यक्त गरे।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र खनालले ज्ञान बहुमुखी क्याम्पसले गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै प्राध्यापकहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा बाँके र बर्दियाका ३० जना प्राध्यापकहरूको सहभागिता रहेको थियो।
डा. कृष्णप्रसाद अधिकारी, डा.हरि अधिकारी, आइटी इन्जिनियर अनुभव अधिकारी, कुमार सापकोटा र चरित्रा शाहले प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रममा सहभागी प्रशिक्षार्थी प्राध्यापक तथा प्रशिक्षकहरूलाई क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेश खड्काले स्वागत गरेका थिए। क्याम्प प्रमुख टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण मणि प्रसाद गैरेले गरेका थिए।








प्रतिक्रिया दिनुहोस्