वीरेन्द्रनगरः गर्मीमा पानी न बत्ती



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै खानेपानी र विद्युत् संकट चुलिएको छ । लामो समयदेखि वर्षा नहुँदा भू–गर्भीय जलस्रोत सुक्न थालेका छन् भने यहाँका सर्वसाधारणहरू दैनिकी जीवन नै प्रभावित हुने गरी समस्यामा परेका छन् । वीरेन्द्रनगरका अधिकांश इनार, कुवा तथा हातेपम्पमा पानी आउन छाडेको स्थानीयवासी बताउँछन् ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको धाराको पानी समेत नियमित नआउँदा नागरिकले हप्तौँसम्म पानीको अभाव झेल्नुपरेको छ । कतिपय टोलमा साता दिनसम्म धारा नखुल्ने अवस्था रहेको स्थानीयको गुनासो छ । पानीको अभाव भएपछि सर्वसाधारण बिहानैदेखि ट्यांकर र सार्वजनिक धारामा लाइन बस्न बाध्य छन् ।

निजी ट्यांकरमार्फत पानी खरिद गर्नुपर्ने अवस्था आएपछि विपन्न परिवार थप मारमा परेका छन् । गर्मी बढेसँगै पानीको माग उच्च भए पनि आपूर्ति भने घट्दै गएको छ । खानेपानीको संकटसँगै विद्युत् समस्याले पनि वीरेन्द्रनगरवासीलाई थप सास्ती दिएको छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन बिग्रिएपछि करिब एक महिनादेखि विद्युत् आपूर्ति प्रभावित बनेको हो । वैकल्पिक रूपमा सञ्चालन गरिएको ३३ केभी लाइनबाट आउने विद्युत् पनि अनियमित रहेको स्थानीयको भनाइ छ ।

विद्युत् आए पनि लो–भोल्टेजका कारण पंखा, फ्रिज, इन्टरनेटलगायत विद्युतीय उपकरण प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् । अत्यधिक गर्मीका बीच फ्यानसमेत राम्रोसँग नचल्दा बालबालिका, वृद्धवृद्धा तथा बिरामी बढी प्रभावित भएको समाजसेवी पीताम्बर ढकाल बताउँछन् । यस्तै व्यवसायीहरू समेत विद्युत् समस्याले मारमा परेका छन् ।

उद्योग, कलकारखाना तथा साना व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै उनीहरूले नियमित विद्युत् आपूर्तिको माग गरेका छन् । यता विद्युत् वितरण केन्द्रले भने कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको मर्मत कार्य तीव्र रूपमा भइरहेको जनाएको छ । वितरण केन्द्रका अनुसार अबको एक हप्ताभित्र मर्मत सम्पन्न गरी नियमित विद्युत् सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

स्थानीयवासीले सम्बन्धित निकायलाई खानेपानी र विद्युत् समस्याको दीर्घकालीन समाधान गर्न आग्रह गरेका छन् । गर्मी अझै बढ्ने अनुमान भइरहेका बेला समयमै समस्या समाधान नभए जनजीवन थप कष्टकर बन्ने देखिन्छ । वीरेन्द्रनगरमा पर्याप्त खानेपानी स्रोत नहुँदा हरेक वर्ष गर्मी मौसममा नागरिकले पानीको चरम समस्या झेल्दै आएका हुन् । विशेषगरी लामो खडेरी र अत्यधिक गर्मीका कारण मुहानमा पानीको मात्रा घटेपछि संकट झन् गम्भीर बनेको स्थानीयवासी बताउँछन् ।

वीरेन्द्रनगर–३ का प्रेमबहादुर रावलका अनुसार अहिले धारामा चार–पाँच दिनको फरकमा मात्र पानी आउने गरेको छ । गर्मी मौसममा पानीको खपत बढ्ने तर स्रोत घट्ने भएकाले समस्या झन् चर्किने गरेको उनले बताए । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले हाल झुप्राखोला, खरीखोला, बोरीखोला लगायत उपत्यका आसपासका साना मुहानबाट संकलन गरिएको पानी वितरण गर्दै आएको छ । तर मागअनुसार आपूर्ति हुन नसक्दा आलोपालो प्रणाली अपनाइएको हो ।

संस्थाका अनुसार मुहानमा पानीको मात्रा करिब ४० प्रतिशतले घटेको छ भने गर्मीयाममा आपूर्तिमा करिब ५० प्रतिशत कमी आउने गरेको छ । हाल ४८ घण्टाको फरकमा पानी वितरण गर्ने व्यवस्था गरिए पनि उपभोक्ताले भने चार–पाँच दिनसम्म पनि धारामा पानी नआउने गुनासो गरेका छन् । उपत्यकामा जनसङ्ख्या वृद्धि, नयाँ घर निर्माण तथा बढ्दो सहरीकरणका कारण पानीको माग बर्सेनि बढिरहेको छ । तर सीमित स्रोत, अपर्याप्त संरचना र प्रशोधन क्षमताको अभावले समस्या झन् जटिल बन्दै गएको छ ।

समस्या समाधानका लागि पहल 

खानेपानी समस्या समाधानका लागि स्थानीय तह र प्रदेश सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना अघि सारेका छन् । वीरेन्द्रनगर नगरपालिकाले तत्काल समस्या समाधानका लागि बिग्रिएका बोरिङ मर्मतमा बजेट विनियोजन गरिएको जनाएको छ । नगरपालिकाका प्रमुख मोहनमाया ढकालका अनुसार समुदायको मागका आधारमा बोरिङ निर्माणका लागि प्रदेश सरकार र नगरपालिकाले संयुक्त रूपमा अनुदान उपलब्ध गराउँदै आएका छन् ।

प्रतिबोरिङ १० देखि १५ लाख रूपैयाँसम्म अनुदान दिने गरिएको छ । भूमिगत पानीको स्रोत संरक्षण र व्यवस्थापनका लागि ‘भूमिगत स्रोतको पानी निकाल्न तथा उपभोग गर्न अनुमतिपत्र जारी गर्ने निर्देशिका–२०७६’ कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।निर्देशिकाअनुसार माटो परीक्षण, जग्गाधनीको स्वीकृति, समिति गठन, वडाको सिफारिस तथा नापी नक्सा अनिवार्य गरिएको छ ।

नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा ६१ वटा बोरिङ निर्माणका लागि अनुमति दिइएको थियो । त्यसपछि आर्थिक वर्ष २०७८–०७९ मा तीन, २०७९–०८० मा २४, २०८०–०८१ मा २२ र २०८१–०८२ मा २४ वटा बोरिङ निर्माण भएका छन् । चालू आर्थिक वर्षमा थप चार वटा बोरिङ निर्माणका लागि सम्झौता गरिएको छ । तर वीरेन्द्रनगरका सबै क्षेत्रमा बोरिङ प्रभावकारी नहुने देखिएको छ ।

वडा नं. २, ३, ७, ९ र १० मा बोरिङबाट पर्याप्त पानी आउने भए पनि वडा नं. १ लगायत केही क्षेत्रमा इनार तथा बोरिङ खन्दा समेत पानी नआउने समस्या रहेको जनाइएको छ । दीर्घकालीन समाधानका रूपमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर ल्याउने परियोजना अघि बढाइएको छ । वल्र्ड बैंक, नेपाल सरकार र नगरपालिकाबीच त्रिपक्षीय सम्झौतामार्फत उक्त आयोजना सञ्चालन भइरहेको छ ।

प्रादेशिक राजधानी बनेपछि वीरेन्द्रनगरमा बसाइँसराइ र जनसङ्ख्या वृद्धि तीव्र बनेसँगै प्रशासनिक, शैक्षिक, पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको छ । यसले बत्ती र पानीको माग पनि बढ्दो क्रममा छ । तर सम्बन्धित निकायले जनअपेक्षा र आवश्यकता अनुसार काम गर्न सकेका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार