हुम्ला ।
ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यति बेला खानेपानीकै लागि पुमखोला र काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ ।
उनले भने, “भैसेवाज गाउँमा विद्यालय जाने समयमा प्रत्येक विद्यार्थी हरेक दिन बिहान खाली ग्यालिन लिएर जान्छन् र साँझ विद्यालय बिदा हुने बित्तिकै उक्त ग्यालिनमा पानी भरेर घर फर्किन्छन् ।”उक्त विद्यालयमा अध्ययनरत लोकन्द्र खड्काले पढ्नुभन्दा बढी साँझ पानी बोक्नकै पिरलो बढी हुने गरेको बताए । “दिउँसो कक्षामा पनि साँझ पानीको ग्यालिन कसरी लैजाने र घरपरिवारलाई पानी कसरी खुवाउने होला भन्ने चिन्ताले सताइरहन्छ”, उनले भने ।
उक्त बस्ती अग्लो डाँडामा छ । उक्त बस्तीकाले पिउँदै आएको पानीको मुहान सुकेपछि समस्या भएको छ । त्यहाँसम्म पानी ल्याउन अन्य मुहान नै नभएको वडाध्यक्ष मोहनलाल रिठालले बताए ।
यस वर्ष रु तीन लाख विनियोजन गरेर काँडागाउँमा खानेपानीको व्यवस्थापन गर्न खोजेको भए पनि उक्त बस्तीमा सम्भव नभएपछि अहिले आकाशे पानी सङ्कलन गर्ने योजना अघि बढाएको वडाध्यक्ष रिठालले बताए । एक एक हजारका ८० वटा ड्रम वितरण गरी आकाशे पानी सङ्कलन गर्ने योजना बनाएको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्