सुर्खेत ।
कर्णाली प्रदेशका स्थानीय तहका दलित जनप्रतिनिधिलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममार्फत यहाँका ७९ स्थानीय तहका जनप्रतिनिधिहरुलाई मानसिक स्वास्थ्य र नसर्ने रोगबारे सचेतना प्रदान गरिएको हो ।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन (डब्लएचओ)का प्रतिनिधि प्रदीप अधिकारीले नसर्ने रोगबाट विश्व मानव समुदायलाई प्रभावित तुल्याइ रहकाले हरेक देश र नागरिकले यसबारे सजग हुन आवश्यक रहेको बताए ।नसर्ने रोगको पहिचान, नियन्त्रण तथा रोकथामका लागि थुप्रै प्रयास भइरहे पनि विश्वमा लाखौँ र नेपालमा हजारौँ मानिसले ज्यान गुमाउन परेकाले मानसिक तथा शारीरिक स्वास्थ्य बनाउन व्यक्ति स्वयंले आफ्नो जीवनशैली सुधार्न र सरकारले जारी गर्ने नीति निर्देशन अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।
कर्णाली प्रदेशका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले पछिल्लो समयमा मानसिक तथा नसर्ने रोग समाजमा बढिरहेको तथ्याङ्क प्रस्तुत गरे । गरिबी, अशिक्षा, अभाव, सूचना तथा प्रविधि, सामाजिक सञ्जाल तथा बदलिँदो जीवनशैलीका कारण हरेक परिवार तथा समाजमा मानसिक रोग देखिन थालेको र यसले चिन्ता, उदासिनता तथा आत्महत्याजस्ता घटना बढ्दै गएकाले समयमै यसको पहिचानका साथै नियन्त्रण तथा रोकथामका उपायबारे उनले बताए ।
सामाजिक विकास मन्त्रालय सुर्खेतका मानसिक स्वास्थ्य कार्यक्रमका सम्पर्क व्यक्ति खगेन्द्रप्रकाश गैरेले नसर्ने मुटुरोग, हाइपरटेन्सन, क्यान्सर, मधुमेह र श्वासप्रश्वासको समस्याजस्ता रोग बढिरहेकाले त्यसबारे स्थानीय तहका दलित जनप्रतिनिधिलाई जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर कार्यक्रम गरिएको बताए । यसबाट समयमै रोगको पहिचान भई अकाल मृत्यु हुनबाट जोगाउने सहयोग मिल्ने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्