लाम्पाटाबाट छानबिन टोली फर्कियो



हुम्ला ।

हुम्ला र बाजुराको सीमा क्षेत्रमा पर्ने लाम्पाटामा भएको झडप घटनाको यथार्थ अवस्था बुझ्न गृह मन्त्रालयले गठन गरेको जाँचबुझ समितिको टोली हुम्लाबाट फर्किएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिमलराज कँडेलको नेतृत्वमा आएको टोली सोमबार सिमकोटबाट फर्किएको हो । प्रहरी नायव उपरीक्षक शंकर खड्काका अनुसार टोली आइतबार दिउँसो सिमकोट पुगेको थियो ।

टोलीले आइतबार र सोमबार दुवै दिन घटनासँग सम्बन्धित सरोकारवाला, स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा अन्य सम्बन्धित व्यक्तिसँग भेटघाट गरी घटनाबारे जानकारी संकलन गरेको थियो । गृह मन्त्रालयले सीमा क्षेत्रमा उत्पन्न विवाद र त्यसबाट निम्तिएको झडपको वास्तविकता पत्ता लगाउन उक्त छानबिन टोली गठन गरेको हो ।

टोलीमा एसएसपी कँडेलसहित एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र दुई जना प्रहरी निरीक्षक सहभागी रहेका छन् । छानबिन टोली जेठ १३ गते दुई जिल्लाका स्थानीयबीच झडप भएको स्थल लाम्पाटातर्फ गत बुधबार नै कवाडीबाट पुगेको थियो । टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै झडपमा प्रभावित स्थानीय तथा घाइते पक्षसँग समेत छलफल गरी जानकारी लिएको जनाएको छ ।

टोलीले हुम्लामा तथ्य संकलनको काम सम्पन्न गरेपछि अब बाजुराको सदरमुकाम मार्तडी पुगेर त्यहाँका सम्बन्धित पक्षसँग पनि सोधपुछ तथा अध्ययन गर्ने कार्यक्रम रहेको जनाएको छ । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा सीमासम्बन्धी विवाद चर्किँदा दुई जिल्लाका स्थानीयबीच झडप भएको थियो ।

विवाद उग्र बनेपछि सुरक्षाको अवस्था नियन्त्रणमा लिन दुबै जिल्लाबाट नेपाल प्रहरी र अन्य सुरक्षा निकायका टोली परिचालन गरिएको थियो । उक्त झडपमा चार जना स्थानीय घाइते भएका थिए । घाइतेहरूको अवस्था गम्भीर भएपछि उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पठाइएको थियो ।

सीमा विवादलाई लिएर उत्पन्न तनाव समाधान गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय तथा दुबै जिल्लाका सरोकारवाला निकायले समन्वयात्मक प्रयास जारी राखेका छन् । गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीको प्रतिवेदनपछि घटनाको वास्तविक कारण, जिम्मेवारी र समाधानका उपायबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ । यो घटना हाल चर्चाको बिषय बनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार