वीरेन्द्रनगर ।
कर्णाली छोरी सम्मेलनको दोेस्रो संस्करण आयोजना हुने भएको छ । श्री ज्योति फाउन्डेशनको आयोजनामा कर्णाली छोरी सम्मेलन–२०८३ को दोस्रो संस्करण शनिबारदेखि हुन लागेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै फाउन्डेशनका अध्यक्ष ज्योति कटुवालले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइन् ।
बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार र मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउन सम्मेलन सम्मेलनको परिकल्पना गरिएको उनको भनाइ छ । उनका अनुसार सम्मेलन शनिबार र आइतबार सुर्खेतको वीरेन्द्रनगरनमा सञ्चालन हुनेछ ।
सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहबाट दुई–दुई जना छोरीहरूको सहभागिता रहनेछ । साथै राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सहभागी छोरी गरी करिब दुई सय ५० भन्दा बढीको उपस्थिति रहने फाउन्डेशनले जनाएको छ ।
सम्मेलनको मुख्य उद्देश्य समाजमा हुने विभिन्न हिंसा विरुद्ध व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट प्राप्त निष्कर्षलाई तीन तहका सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गर्नु रहेको छ । सम्मेलन अवधिभर कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्षका अनुभव प्रस्तुत गर्नेछन् । सम्मेलनमा विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न प्यानल छलफल सत्रसमेत सञ्चालन हुने कार्यक्रम छ ।
साथै फाउन्डेसनले जाजरकोट भूकम्प प्रभावित तथा विपन्न छोरीहरूको शिक्षाका लागि छात्रवृत्ति कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । फाउन्डेसनले हरेक वर्ष १५ जना भूकम्पपीडित र १५ जना विपन्न छोरीहरूलाई कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको हो ।









प्रतिक्रिया दिनुहोस्