राप्ती नदीमा बाढी तथा डुबानसम्बन्धी पूर्वतयारी अभ्यास



नेपालगन्ज (बाँके) ।

बाँकेमा बिहीबार बाढी तथा डुबानसम्बन्धी कृत्रिम घटनाको पूर्वअभ्यास गरिएको छ । जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ५ सिधनियाघाटस्थित राप्ती नदीमा उक्त अभ्यास गरिएको हो । जिल्लाका सम्पूर्ण स्थानीय तहको समन्वय, सुपर कार्यक्रमको सहयोग र नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटीको सहकार्य तथा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा पूर्वअभ्यास गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक दिलकुमार तामाङले बाँके जिल्ला बाढी तथा डुबानजन्य समस्या हुने संवेदनशील जिल्ला भएकाले सम्भावित हुनसक्ने जनधनको क्षतिबाट जोगिन तथा जोगाउनका लागि कृत्रिम घटना अभ्यास गरिएको बताए । जिल्लामा हुने प्रकोपहरूमध्ये बर्सातको समयमा आउने बाढी मुख्य भएको तथा विगतका वर्षहरूमा राप्ती नदीमा आएको बाढीले थुप्रै जनधनको क्षति गरेको, नागरिहरूलाई आफ्नो थातथलोबाट विस्थापित गरेको इतिहास रहेको, जसमध्ये विशेषगरी डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका नागरिक प्रभावित हुने गरेको उल्लेख गरे ।

बाढीजन्य विपद्ले विगतमा यस क्षेत्रमा पारेका प्रभावको अनुभवका आधारमा आगामी मनसुनमा आउनसक्ने बाढी र बाढीले गर्ने असरको प्रतिकार्य गर्न जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरिसकेको भन्दै सोही योजना तथा निर्णयबमोजिम कृत्रिम घटना अभ्यास गरिएको जानकारी दिए । 

बाढीजन्य विपद् प्रतिकार्यमा सरोकारवालाहरूको सहभागिता र समन्वय अभिवृद्धि गर्नु, उपलब्ध जनशक्ति र स्रोतसाधनको प्रभावकारिता पूर्वआकलन गर्नु, जिल्ला स्थानीय तहको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारिता अभिवृद्धि गर्नु तथा विपद्बाट जनधनको क्षति हुन नदिनु पूर्वअभ्यासको उद्देश्य रहेका उनले बताए ।

नेपाली सेनाको श्री नं. ४ बाहिनी अड्डा इमामनगर राँझाका सहायक बाहिनीपति महासेनानी सुवास केसीले बाँकेमा बाढी तथा डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न पूर्वअभ्यास महत्वपूर्ण रहेको बताए । उनले सबै सरोकारवाला पक्षसँग समन्वय, सहकार्य तथा क्षमता अभिवृद्धि गरेर मात्र विपद् प्रतिकार्यमा जुट्न सजिलो हुने बताए ।

डुडुवा ५ का वडाअध्यक्ष झङ्कबहादुर थापाले हरेक वर्ष राप्ती नदीले डुबान, कटान तथा बाढीजन्य प्रकोपबाट स्थानीय नागरिकले क्षति बेहोर्दै आएको भन्दै पूर्वतयारी अभ्यासले उक्त क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुग्ने बताए । पूर्वअध्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूले नदीमा डुबेका नागरिक, नदी छेउका तटमा फँसेका नागरिक, नदीले बगाउँदै ल्याएका नागरिक, नदीले बगाएर मृत्यु भएका नागरिक, बाढीमा हराइरहेका नागरिकहरूलाई विभिन्न तरिकाले उद्धार गरेका अभ्यासका दृश्य देखाइएको थियो ।

पूर्वअभ्यासमा नेपाली सेनाका मेडिकल टिमसहित ७३ जना, सशस्त्र प्रहरी बलका ३७ जना, नेपाल प्रहरीका ११ जना, रेडक्रसका ११ जना तथा स्थानीय समुदायका २० जना गरि १५० भन्दा बढीले उद्धार तथा प्राथमिक उपचार गरेका थिए ।

कार्यक्रममा नेपाली सेनाको बज्रदल गणका गणपति रामचन्द्र श्रेष्ठ, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्द, अनुसन्धान उपनिर्देशक हरिष विष्ट, नेपाल पत्रकार महासंघ बाँके सचिव कृष्ण ओली, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महामन्त्री मिनकुमार मल्ल, रेडक्रस बाँकेका सभापति गोवद्र्धनसिंह सम्झना, सञ्चारकर्मी, विभिन्न सरकारी कार्यालयका प्रमुख, सरोकारवाला निकाय तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार