अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री



काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवद्र्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगरपालिका–९ ले आज बिहान आयोजना गरेको एक कार्यक्रममा उहाँले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध विश्वका विभिन्न मुलुक तथा अन्तरराष्ट्रिय संस्थासँगको कूटनीतिक, आर्थिक, सांस्कृतिक र रणनीतिक सम्बन्धमा आधारित रहेको उल्लेख गरे । नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको तथा नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्न आन्दोलनका मूल्य–मान्यताका आधारमा परराष्ट्र नीति सञ्चालन भइरहेको उनले बताए ।

मन्त्री खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध सन्तुलित, मैत्रीपूर्ण र बहुपक्षीय सहकार्यमा आधारित रहेको उल्लेख गर्दै राष्ट्रिय हितको संरक्षण, आर्थिक विकास, शान्ति तथा अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु नेपालको परराष्ट्र नीतिको मुख्य उद्देश्य भएको बताए । “परराष्ट्र मन्त्रालयभित्र हुने ढिलासुस्ती अन्त्य गरी नागरिकलाई समयमै सेवा प्रदान गर्न म लागिपरेको छु ।

राहदानी वितरण प्रक्रियालाई निकै सहज बनाएका छौँ । पहिले हप्तौँ लाग्ने राहदानी अहिले आवेदन दिएको दुई–तीन दिनमै र कतिपय अवस्थामा भोलिपल्टै उपलब्ध गराउन सक्ने अवस्थामा पुगेका छौँ”, मन्त्री खनालले भने । उनले विदेशमा रहेका नेपालीका समस्या सम्बोधन गर्न ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरिएको जानकारी दिए ।

उनले निर्वाचनपछि सरकारले सार्वजनिक गरेको ‘१०० बुँदे प्रतिबद्धता पत्र’ अनुसार काम भइरहेको बताउँदै २०६३ पछि महत्वपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने तथा पुराना भ्रष्टाचारका फाइल खोल्ने प्रक्रिया अघि बढेको जानकारी दिए। फजुल खर्च नियन्त्रण गर्न मन्त्रालय घटाइएको उनको कथन थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार