धनगढी ।
सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुईवटा विधेयकहरू टेबल गरिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरिएको हो ।
सामाजिक विकासमन्त्री मेघराज खड्काले सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १०७ को उपनियम (१)बमोजिम ती विधेयकहरू सभासमक्ष टेबल गर्न प्रस्ताव गरेका थिए । यसअघि वैशाख १७ गते नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले संसद् सचिवालयमा दर्ता भई लामो समयदेखि प्रक्रियामा नगएका यी दुई विधेयकलाई अविलम्ब सदनमा पेस गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय गरेको थियो ।
दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको उक्त बैठकले विधेयकहरू रोकिँदा संसद्को कार्यप्रणालीमाथि नै प्रश्न उठ्ने भन्दै गम्भीर ध्यानाकर्षण जनाएको थियो । सरकारले ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ २०८१–१२–०३ गते र ‘बरघर तथा भलमन्सा प्रथा संरक्षण विधेयक’ २०८२–०२–२१ गते संसद् सचिवालयमा दर्ता गराएको थियो ।
सचिवालयमा दर्ता भएको लामो समय बितिसक्दा पनि सदनमा पेश नभएको भन्दै प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले यसलाई प्राथमिकतामा राख्न दबाब दिँदै आएको थियो ।









प्रतिक्रिया दिनुहोस्