सुर्खेतबाट प्रदान हुने राजस्व सेवा अब नारायण नगरपालिकामै



दैलेख ।

आन्तरिक राजस्व कार्यालय सुर्खेतबाट प्रदान हुँदै आएको राजस्वसम्बन्धी सेवा अब जिल्लाको नारायण नगरपालिकामार्फत पनि उपलब्ध हुने भएको छ । दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा नारायण नगरपालिका राजस्व सेवा केन्द्रको औपचारिक शुभारम्भ गरिएको हो । नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाल र आन्तरिक राजस्व कार्यालय सुर्खेतका कार्यालय प्रमुख चक्रप्रसाद ढुंगानाले राजस्वसम्बन्धी सेवा हस्तान्तरण सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले स्थानीय तहबाट राजस्व सेवा सञ्चालन हुनु संघीय शासन प्रणाली कार्यान्वयनको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा दिन स्थानीय तह, प्रशासन र सम्बन्धित कार्यालयबीच समन्वय आवश्यक रहेको उल्लेख गरे । नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले स्थानीय तहबाटै राजस्व सेवा सुरु हुँदा सेवाग्राहीको समय र खर्च दुवै बचत हुने बताए ।

उनले नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले सेवा विकेन्द्रीकरणले नागरिकमैत्री प्रशासन प्रवद्र्धन हुने धारणा राखे । उनका अनुसार स्थानीयस्तरमै सेवा उपलब्ध हुँदा सेवाग्राहीको पहुँच विस्तार हुनेछ ।

आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चक्रप्रसाद ढुंगानाले संघीयताको मर्मअनुसार सेवा स्थानीय तहसम्म विस्तार गरिएको बताउँदै आगामी दिनमा सेवाको गुणस्तर अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । नेपाल पत्रकार महासंघ दैलेखका जिल्ला अध्यक्ष अमर सुनार र दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापा लगायतले स्थानीय तहबाट राजस्व सेवा सञ्चालन हुनु सकारात्मक कदम भएको बताएका थिए ।

नारायण नगरपालिका राजस्व सेवा केन्द्रबाट स्थायी लेखा नम्बर (प्यान) दर्ता, नवीकरण, कर विवरण बुझाउने लगायत आन्तरिक राजस्वसम्बन्धी विभिन्न सेवा प्रदान गरिने जनाइएको छ । सेवा केन्द्र सञ्चालनमा आएपछि सामान्य राजस्व सेवा लिनका लागि सेवाग्राहीले सुर्खेत पुग्नुपर्ने बाध्यता हटेको छ । आन्तरिक राजस्व कार्यालय सुर्खेतले आवश्यक उपकरण तथा प्राविधिक प्रशिक्षण उपलब्ध गराएपछि सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

कर्णाली प्रदेशमा पालिकाबाटै राजस्व सेवा केन्द्र सञ्चालन गर्ने पहिलो पालिका रासकोट नगरपालिका बनेको थियो भने दोस्रोमा नारायण नगरपालिका परेको छ । स्थानीयस्तरमै राजस्व सेवा उपलब्ध गराउन सक्ने कानुनी व्यवस्थाअनुसार आन्तरिक राजस्व कार्यालयसँगको समन्वयमा पालिकाहरूमा राजस्वसम्बन्धी सेवा हस्तान्तरण गर्न थालिएको जनाइएको छ ।

तर पालिकास्तरीय राजस्व सेवा केन्द्रले आफ्नो पालिका क्षेत्र बाहिरका सेवाग्राहीलाई मात्र सेवा दिन पाउने व्यवस्था रहेको बताइएको छ । सेवा सुचारु भएपछि नायारण नगरवासी सुर्खेत पुग्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै खुसी भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार