नेपालगन्ज बसपार्कको कुलिङ सेन्टरको दुरुपयोगः बोर्ड हटाएर क्याफे सञ्चालनमै



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नागरिकलाई तातो हावाको लहर (लु)को प्रभावबाट बचाउन बाँकेको नेपालगन्ज बसपार्कभित्र ३९ लाख रूपैयाँको लागतमा निर्माण गरिएको कुलिङ सेन्टरको बोर्ड हटाएर सञ्चालन भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिका र रेडक्रसको लगानीमा सर्वसाधारणका लागि निर्माण गरिएको कुलिङ सेन्टरमा क्याफे सञ्चालन भइरहेको विषयमा मिसन टुडे दैनिकमा सोमबार समाचार प्रकाशित भएको थियो ।

सोमबार अपरान्ह मिसन संवाददाता कुलिङ सेन्टरमा पुग्दा बाहिर टाँगिएको बोर्ड हटाइए पनि भित्र भने क्याफे सञ्चालनमा नै रहेको थियो । जहाँ धूम्रपान गर्न पूर्णतया निषेध हुनुपर्ने कुलिङ सेन्टरमा बसेर केही युवाहरूले चुरोट पिइरहेका थिए । केही युवाहरू मोबाइलमा लुँडो खेलिरहेका थिए । ती युवाहरूबारे क्याफेका सञ्चालक डिम्याक्स थापा भनेर चिनिने द्रोण थापाले आफ्ना साथी तथा बस व्यवसायमा आबद्ध कर्मचारीहरू रहेका बताए ।

उनी बसपार्कको व्यवस्थापनको जिम्मा पाएको कम्पनीका साझेदारमध्ये एक हुन् । थापाले मिसन संवाददातासँग कुलिङ सेन्टरमा क्याफे सञ्चालन भइरहेको भनेर प्रकाशित समाचारप्रति असन्तुष्टि व्यक्त गरे । उपमहानगरले चलाउन नसक्ने कुलिङ सेन्टरलाई आफूले सञ्चालन गरिदिएको र आफ्नो १० लाख रूपैयाँ लगानी भइसकेको थापाको दाबी थियो । क्याफे अहिले घाटामा रहेको र खल्तीबाट बिजुलीको बील तिरिरहेको उनले दाबी गरे ।

उनले आफूले कुलिङ सेन्टर व्यवस्थापनको जिम्मा नलिएको भए अहिलेसम्म बेवारिसे भइसक्ने दाबी पनि गरे । ‘यहाँ नशा खानेहरूको अड्डा हुन्थ्यो । कसैले सम्हाल्न सक्ने थिएन । हामीले त झन् व्यवस्थापन गरेर सरकारको बोझ घटाइदिएका छौँ,’ थापाले भने । कुलिङ सेन्टरमा राखिएको क्याफेको काउन्टरमा हुँक्का समेत राखिएको छ । रेडक्रसले दिएका फलामका बेन्चहरूमा डिएस क्याफेको लोगो रहेका खोलहरू राखिएको छ । थापाले आफूले टेबलहरू समेत ल्याएर राखेको बताए ।

कुलिङ सेन्टरमा रेडक्रसले दिएको पानी चिसो तातो बनाउने मेसिन पनि अहिले चलिरहेको छैन । थापाले आफैँले फ्रिज किनेर राखेको र चिसो पानी किनेर खान मिल्ने व्यवस्था रहेको बताए । तर, उनले कुलिङ सेन्टरमा आउने कसैलाई पनि बन्देज नहुने र केही किनेर खानैपर्छ भन्ने बाध्यकारी नियम नरहेको बताए । तर, कुलिङ सेन्टरभित्र बसेको अवस्थामा भेटिएका भारतको केरलाबाट डोल्पा घुम्न जानका लागि आएका तीन जना युवाहरूले आफूहरूले क्याफे ठानेर नै आएर बसेको र पानी किनेर खाएको बताए ।

उनीहरूले उक्त कुलिङ सेन्टर सरकारी हो भन्ने कसैले जानकारी नदिएको पनि बताए । थापाले अब कुलिङ सेन्टरको बाहिरपट्टि छानो हालेर स्मोकिङ जोन बनाउन लागेको पनि बताए । अहिले छानो हाल्नका लागि संरचना समेत बनाइसकिएको छ । यता नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट कुलिङ सेन्टर सञ्चालनका लागि बसपार्कको व्यवस्थापनको ठेक्का लिएको कम्पनीलाई नै जिम्मा दिएको तर कुलिङ सेन्टरभित्र कुनै पनि क्याफे सञ्चालन गर्ने अनुमति नदिएको बताउँछन् ।

‘त्यहाँ बस्न आउनेहरूलाई चियाकफी खाने व्यवस्था बाहिरपट्टि कतै गरेर खर्च व्यवस्थापन गर्न सकिन्छ भने गर्नुस् भनेको हो । तर भित्रै क्याफे सञ्चालन गर्न पाइँदैन,’ सोमबार नगरप्रमुख विष्टले मिसन टुडेसँग भने, ‘त्यस्तो छ भने अनुगमन गरेर हटाउन लगाउँछु ।’ विष्टले केही दिनअघि पनि मिसन टुडेसँगको कुराकानीमा आफू काठमाडौँबाट फर्केलगत्तै अनुगमन गर्ने बताएका थिए ।

तर उनी अहिलेसम्म अनुगमनमा गएका छैनन् । एक वर्षअघि नेपालगन्ज उपमहानगरपालिकाको २७ लाख रूपैयाँँ लागतमा कुलिङ सेन्टरको भौतिक संरचना निर्माण गरिएको थियो भने नेपाल रेडक्रस सोसाइटीले १२ लाख मूल्य बराबरका आवश्यक विभिन्न सामग्री सहयोग गरेको थियो। उक्त कुलिङ सेन्टरको उद्देश्य गर्मी तथा ‘लु’बाट सर्वसाधारणलाई राहत दिने रहेको नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोबद्र्धनसिंह सम्झना बताउँछन् ।

रेडक्रसले कुलिङ सेन्टर निर्माणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेपश्चात् सञ्चालनको जिम्मा उपमहानगरपालिकाको रहेको उनको भनाइ छ । तर कुलिङ सेन्टरमा क्याफे सञ्चालन गर्दा जुन उद्देश्यका लागि निर्माण गरिएको हो त्यसको उद्देश्य पूर्ति नहुने सम्झनाको भनाइ छ । उनले बसपार्कमा खटिने नगर प्रहरी वा ट्राफिक प्रहरीबाटै उक्त कुलिङ सेन्टर सञ्चालन गर्न सकिने विकल्प रहे पनि क्याफे किन सञ्चालन गर्न दिइयो भन्ने जानकारी नभएको बताए ।

कुलिङ सेन्टरमा चारवटा एसी जडान गरिएका छन् । जसबाट वातानुकूलित तापक्रम बनाउने व्यवस्था छ । कुलिङ सेन्टरमा गर्मीबाट आहत भएका मानिसहरूलाई आपत्कालीन स्वास्थ्य सेवा पनि दिने भनिएकोमा अहिले भने लाखौँको सरकारी लगानी गरिएको संरचनामा अनधिकृत क्याफे सञ्चालन दिइएको छ । कुलिङ सेन्टरको संरचनाले एक हजार दुई सय ९१ स्क्वायर फिट क्षेत्रफल ओगटेको छ भने छानामा युपिभिसी, सिलिङमा जिप्सम बोर्ड लगाइएको छ ।

कुलिङ सेन्टरलाई नेपाल रेडक्रस सोसाइटीले एक एक थान वाटर कुलर र वाटर ट्यांकी, दुई टन क्षमताका इन्भर्टरयुक्त चार वटा एसी, आठ वटा पंखा दिएको थियो । तर अहिले कुलिङ सेन्टरमा चारवटा पंखा मात्रै रहेका छन् । कुल ६० सिट क्षमताका फलामको ३ सिटे कुर्सी २० थान र १४ वटा एलइडी बल्ब सहयोग गरेको थियो । यसरी सर्वसाधारणको नाममा लाखौँ खर्चिएको उक्त कुलिङ सेन्टर बनाएर नेपालगन्ज उपमहानगरपालिकाले त्यसको सञ्चालनको जिम्मेवारीबाट भाग्न खोजेको देखिन्छ । साथै बसपार्क व्यवस्थापनको जिम्मा लिएका व्यवसायीको दबाबमा आएर अनधिकृत रूपमा क्याफे सञ्चालन गर्न दिइएको देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार