वीरेन्द्रनगर ।
सुर्खेतको वीरेन्द्रनगरमा सन्तानको अध्ययनका लागि बसोबास गरिरहेका महिलाहरू अटो ड्राइभिङ तालिम पाएपछि उत्साहित भएका छन् । कर्णाली प्रदेश सरकारद्वारा सञ्चालन गरिएको ३० दिने तालिम पूरा गरेपछि सहभागी महिलाहरूले अब आत्मनिर्भर बन्ने बाटो खुलेको बताएका छन् ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालन गरिएको तालिममा कर्णालीका विभिन्न जिल्लाबाट वीरेन्द्रनगरमा बस्दै आएका ५० जना महिलाको सहभागिता रहेको थियो । अधिकांश महिलाहरू आफ्ना छोराछोरीको अध्ययनका लागि गाउँ छाडेर सहरमा बस्दै आएका हुन् । तालिममा सहभागी महिलाहरूले यसअघि घरायसी काममै सीमित रहँदा आर्थिक रूपमा परिवारमा निर्भर रहनुपरेको अनुभव सुनाए ।
अहिले भने अटो चलाउने सीप सिकेपछि आफ्नै कमाइ गर्ने आत्मविश्वास बढेको उनीहरूको भनाइ छ । हुम्लाबाट वीरेन्द्रनगर आएकी एक सहभागी महिलाले अटो चलाउन सिकेपछि आफूभित्र नयाँ हिम्मत जागेको बताइन् । ‘पहिले महिलाले अटो चलाउन सक्छन् भन्ने लागेको थिएन। अब आफैँ कमाएर छोराछोरीको खर्च चलाउन सकिन्छ भन्ने विश्वास बढेको छ,’ उनले भनिन्, ‘तालिमले अब सवारी चलाउने सीप मात्र नभई आत्मविश्वास समेत बढाएको छ । त्यसैले सहरमा बस्दा खर्च धेरै हुन्छ । अब काम गरेर केही आम्दानी गर्न सकियो भने परिवारलाई सहज हुनेछ।’
तालिम समापन कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन प्रदेश सरकारले सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । उनले सिकेको सीपलाई व्यवहारमा लागू गरेर स्वरोजगार बन्न आग्रह गरेका छन् ।
‘सीप सिकेर मात्रै हुँदैन, त्यसलाई काममा पनि लगाउनुपर्छ ।
महिलाहरू आत्मनिर्भर बने समाज र परिवार दुवै सशक्त बन्छन्,’ उनले भने, ‘प्रदेश सरकारले यसअघि अचार बनाउने, सिलाइ–कटाइ, च्याउ उत्पादन, केक बनाउने लगायत तालिम सञ्चालन गरिसकेको छ । ती कार्यक्रमबाट धेरै महिलाहरू साना घरेलु उद्यममार्फत आम्दानी गर्न थालेका पनि छन् ।’
वीरेन्द्रनगरमा पछिल्ला वर्षहरूमा महिला अटो चालकको सङ्ख्या पनि बढ्दै गएको छ । यसअघि नगरपालिकाले सञ्चालन गरेको तालिमपछि अहिले दुई दर्जनभन्दा बढी महिलाहरू व्यावसायिक रूपमा अटो सञ्चालन गरिरहेका छन् । नयाँ तालिमपछि थप महिलाहरू रोजगारी र स्वरोजगारमा जोडिने अपेक्षा गरिएको छ ।
आफ्ना छोराछोरीलाई विद्यालय तथा क्याम्पसमा अध्ययन गराउन सहरमा बसेका महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । मन्त्रालयका अनुसार सरकारले यस्ता कार्यक्रममार्फत निरन्तर सहयोग गरिरहने उल्लेख छ ।
तालिममा अधिकांश सहभागीले भविष्यमा आफ्नै अटो सञ्चालन गर्ने योजना रहेको बताएका थिए । केही महिलाले परिवारको आर्थिक भार कम गर्न तथा छोराछोरीको शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रदेश सरकारले आगामी दिनमा पनि महिलामैत्री तथा रोजगारीमूलक सीप विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्