नेपालगन्ज (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा एकराज शर्मा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा शर्मासहित आठ जना कार्यसमिति पदाधिकारी तथा सदस्य निर्वाचित भएका हुन् । निर्वाचन संयोजक अधिवक्ता इश्वरीप्रसाद ज्ञवालीका अनुसार एक अध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, दुई महिला सदस्य र तीन खुला सदस्य गरि आठ जनाका लागि आइतबार निर्वाचन भएको थियो ।
आइतबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ४७५ मत खसेको उनले जानकारी दिए । पुस्तकालयमा कूल ७२६ सदस्य रहेका थिए । उपाध्यक्ष र सचिव पदमा भने शनिबार नै निर्विरोध निर्वाचित भएका उनले बताए । उनका अनुसार उपाध्यक्षमा निर्मल आचार्य तथा सचिवमा रवीन्द्रप्रसाद सुवेदी निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा उम्मेदवारी दिएका सुरेन्द्रबहादुर थापा र सचिवमा उम्मेदवारी दिएका हर्कबहादुर बुढथापाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि आचार्य र सुवेदी निर्विरोध निर्वाचित भएका थिए ।
आइतबार सम्पन्न निर्वाचनमा अध्यक्षमा एकराज शर्माले ३२५ मत प्राप्त गरि विजयी भएको निर्वाचन संयोजक ज्ञवालीले जानकारी दिए । उनका प्रतिद्वन्द्वी सुस्मा शर्माले १३२ मत प्राप्त गरेकी थिइन् । त्यसैगरी कोषाध्यक्षमा राजेन्द्र विष्टले २७३ मत प्राप्त गरि विजयी हुँदा उनका प्रतिद्वन्द्वी गितादेवी शर्माले १८० मत प्राप्त गरेकी थिइन् । सहसचिवमा ईश्वरप्रसाद शर्माले ३०२ मत प्राप्त गरि विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी शर्मिला मल्लले १४१ मत प्राप्त गरेको ज्ञवालीले जानकारी दिए । त्यसैगरी महिला सदस्यहरूमा मिनाकुमारी विसी र लक्ष्मीकुमारी पौडेल विजयी भएका छन् । खुला सदस्यहरूमा क्रमशः वीरेन्द्रकुमार शाही, सङ्गीन शर्मा र जिलेदार थारू विजयी भएको निर्वाचन समितिले जनाएको छ । कूल खसेको मतमध्ये ११ मत बदर भएको निर्वाचन अधिकृत विष्णु बेल्बासेले जानकारी दिए ।
उनका अनुसार नवनिर्वाचित कार्यसमितिलाई केहि दिनमा पदभार ग्रहण गराइनेछ । कार्यसमितिको कार्यकाल ३ वर्षको हुने उनले जानकारी दिए । उक्त पुस्तकालयको कार्यसमितिको कार्यकाल सकिएको लामो समय बितिसक्दा समेत नयाँ नेतृत्व चयन हुन सकेको थिएन । २०७९ असार २६ गते निर्वाचन प्रक्रियामार्फत पुस्तकालयमा नेतृत्व चयन गरिएको थियो ।
अघिल्लोपटक निर्वाचन भएको मितिले समितिको कार्यकाल २०८२ असार मै सकिएको थियो । तर, दुई महिना ढिलोगरी भदौ २१ गते २१औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशन सम्पन्न गरियो । सोही दिन नयाँ कार्यसमिति चयनका लागि समितिले वरिष्ठ अधिवक्ता ईश्वरी ज्ञवालीको संयोजकत्वमा रुद्रमणी न्यौपाने र विष्णु बेल्बासे सदस्य रहेको एक निर्वाचन समिति गठन गर्ने निर्णय गरिएको थियो ।
तर, नयाँ कार्यसमिति चयनका लागि कुनै पनि आधिकारिक प्रक्रिया सुरु नै भएको थिएन । लामो समयपछि आइतबार भने निर्वाचनमार्फत पुस्तकालयले नयाँ नेतृत्व पाएको हो । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र २०५८ सालमा स्थापना भएर २०७२ सालमा जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा गैरसरकारी संस्थाका रूपमा दर्ता भएर सञ्चालनमा छ ।









प्रतिक्रिया दिनुहोस्