सुर्खेत।
बाजुराको हिमाली गाउँपालिकामा भएको लुटपाट, तोडफोड र कुटपिट घटनामा प्रशासनले बेवास्ता गरेको आरोप लगाउँदै हिमाली युवा क्लबले आइतबारदेखि कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको छ।
क्लबका अनुसार जेठ ८ गते जिल्ला प्रशासन कार्यालय, प्रहरी, सशस्त्र प्रहरी र राजनीतिक दलबीच भएको २४ घण्टे सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको हो। उल्टै स्थानीयका घरमा थप लुटपाट र तोडफोडका घटना बढेको उनीहरूको आरोप छ।
हिमाली गाउँपालिका–३ लाम्पाटामा स्थानीयमाथि कुटपिट हुनुका साथै घरहरूमा तोडफोड र लुटपाट भएको बताइएको छ। घटनामा हुम्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरू संलग्न रहेको दाबी गरिएको छ। पर्यटकहरूको समेत सामान लुटिएको आरोप क्लबले लगाएको छ।
क्लबले घटनास्थलको तत्काल अनुगमन, दोषीमाथि कारबाही, पीडितलाई क्षतिपूर्ति, घाइतेको उपचार, विस्थापित परिवारको पुनर्स्थापना तथा प्रहरी चौकी भवनमा भएको क्षतिको भरपाई गर्न माग गरेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै क्लबले कर्णाली कोरिडोर बन्द गरेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्