नेपालगन्ज (बाँके) ।
बाँकेको कोहलपुर र काठमाडौँबाट एकैसाथ प्रकाशित हुँदै आएको मिसन टुडे राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार गणेश रावत सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाको शनिबार नेपालगन्जमा सम्पन्न १५औँ साधारणसभामा पत्रकार रावत सम्मानित भएका हुन् ।
रावतसँगै ८ जना पत्रकारहरुलाई विभिन्न विधामा कलम चलाएबापत सम्मानित गरिएको छ भने एउटा सञ्चारमाध्यम पनि सम्मानित भएको छ ।
रावत सञ्चारमाध्यमबाट स्वास्थ्यको क्षेत्रमा योगदान पु¥याएबापत बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्काबाट सम्मानित भएका हुन् । उनीसँगै उक्त पुरस्कारबाट देवेन्द्रराज पौडेल पनि सम्मानित भएका छन् ।
त्यसैगरी रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट डिल्ली शाही, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट प्रियास्मृति ढकाल (बाँके) र रामप्रसाद चौहान (बर्दिया), रामआधार–रामप्यारी पत्रकारिता पुरस्कारबाट पवित्रा परियार र सजल गैरे तथा सूर्यनाथ गौतम (मुटुरोग) पत्रकारिता पुरस्कारबाट मधु पौडेल सम्मानित भएका हुन् ।
त्यसैगरी आँखा स्वास्थ्य शिक्षा पत्रकारिता पुरस्कार (संस्थागततर्फ) स्वास्थ्यपेज डटकम सञ्चार संस्थालाई पुरस्कृत गरिएको महासंघले जनाएको छ । सम्मानित हुने सबै पत्रकार तथा सञ्चार संस्थालाई नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सचिव सविन प्रियासन, कार्यक्रमका अतिथिहरु तथा पुरस्कारदाताहरुले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्