धनगढी ।
बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्रमा देखिएको तनाव तथा स्थानीय बासिन्दामाथि भएको कुटपिट र लुटपाट घटनामा जिल्ला प्रशासनमा बसेको बैठक पाँचबुँदे निर्णय जारी गरेको छ । बैठकको निर्णयमा घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा कर्णाली करिडोरमा निर्वाध आवागमन सुनिश्चित गर्न जोड दिइएको छ ।
निर्णयपत्रअनुसार बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने लामापाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर उत्पन्न विवादले पछिल्ला दिनमा तनाव सिर्जना गरेको थियो । सोही क्रममा स्थानीय बासिन्दा तथा यात्रुहरू कुटपिट र लुटपाटको घटनामा परेको उल्लेख गरिएको छ ।
निर्णयमा घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न तथा दोषीमाथि कानुनी कारबाही अघि बढाउन गृह मन्त्रालयसमक्ष सिफारिस गर्ने उल्लेख छ । स्थानीयवासीमाथि भएको दुव्र्यवहार र सुरक्षामा देखिएको कमजोरीबारे गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष अनुसन्धान आवश्यक रहेको जनाइएको छ ।
हिमाली गाउँपालिका क्षेत्रमा सुरक्षाकर्मीको पर्याप्त उपस्थिति सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरिने उल्लेख छ । यस्तै, लामापाटामा अस्थायी प्रहरी पोष्ट निर्माणकार्य तत्काल सुरु गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । स्थानीय तह र सरोकारवालाहरूले सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि प्रहरी उपस्थिति अपरिहार्य भएको बताएका छन् ।
कर्णाली करिडोरअन्तर्गत पर्ने हिमाली गाउँपालिका क्षेत्रका सडकहरूमा सवारी आवागमन अवरुद्ध नगर्न सबै पक्षलाई आग्रह गरिएको छ भने बाजुरा जिल्ला र हुम्ला जिल्ला बीचको आपसी सद्भाव र सामाजिक सम्बन्ध कायम राख्न विशेष जोड दिने निर्णयमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्