चैते धानले फेरिएको कैलालीको दक्षिणी क्षेत्र



शेरबहादुर ऐर । कैलाली ।

असारको पहिलो सातामै आकाश कालो बादलले ढाकिन्छ । हावासँगै आउने पानीको गन्धले किसानको मनमा उत्साह होइन, त्रास जन्माउँछ । कैलालीको दक्षिणी क्षेत्रका कृषकमा वर्षात सुरु हुनु भनेको खेत डुब्ने संकेत हो । गाउँका कच्ची बाटा हिलाम्मे बन्छन्, आँगनभरि पानी जम्छ, अनि हराभरा खेत केही दिनमै तालजस्तै देखिन थाल्छन् ।

लालबोझीकी ६५ वर्षीया लक्ष्मी विक घरअगाडि उभिएर पानीले भरिएको खेततिर टोलाइरहेकी थिइन् । उनले त्यो क्षण सम्झदै भनिन्, –‘पहिला असार लागेपछि हामीलाई खेत हेर्न पनि डर लाग्थ्यो । बीउ रोप्थ्यौँ, बाढी आउँथ्यो, सबै बगाएर लैजान्थ्यो ।’ उनको आवाजमा वर्षौँदेखिको पीडा मिसिएको थियो । गाउँका धेरै परिवारजस्तै उनको परिवारले पनि वर्षौँदेखि खाद्यान्न संकट भोग्दै आएको थियो ।

धान रोप्ने मौसममा खेत डुब्ने भएपछि धेरै किसानले खेत बाँझै छोड्न बाध्य हुन्थे । वर्षभरि खान पुग्ने अन्न नहुँदा कतिपय परिवारले ऋण गरेर गुजारा चलाउँथे भने केही युवा रोजगारीका लागि भारत पलायन हुन्थे । तर अहिले त्यही लालबोझीको दृश्य केही फेरिएको छ । पानीले डुब्ने खेतमा अहिले चैते धान लहलहाएको छ । वर्षात आउनुअघि नै धान भित्र्याउने अभ्यासले किसानको जीवनमा सानो भए पनि आशाको उज्यालो थपेको छ ।

कृषि ज्ञान केन्द्र कैलालीले बाढी प्रभावित क्षेत्रमा वैकल्पिक खेती प्रणाली विस्तार गर्ने उद्देश्यले चैते धान खेतीलाई प्राथमिकता दिएको छ । कृषक समूहमार्फत सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत कृषक समूहहरु अहिले गाउँको उदाहरणीय समूह बनिरहेका छन् । कृषि तथा पशु सेवा क्षेत्रअन्तर्गत सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरुको बुधबार संयुक्त अनुगमनका क्रममा उन्नती कृषक समूहले विद्यालयको जग्गा भाडामा लिएर गरिरहेको चैते धान खेतीमा अवसर र समस्या दुवै देखिए ।

समूहका अध्यक्ष कुम्भ कठायत खेतमा भेटिँदा धानमा बाला लाग्ने अवस्थामा रहेको थियो । उनी खेततिर हेर्दै भन्छन्, ‘वर्षातमा यहाँ धान खेती गर्न सकिँदैन । पानीले सबै डुबाउँछ । त्यसैले हामीले समय फेरेर खेती गर्न थाल्यौँ । अहिले चैते धान लगाउँछौँ, त्यसपछि गहुँ खेती गर्छौँ ।’
तीन वर्षअघि उनले पहिलोपटक चैते धान खेती सुरु गरेका थिए । गाउँलेले सुरुमा विश्वास गरेका थिएनन् । कसैले भन्ने गर्थे, ‘धान असारमै रोपिन्छ, चैतमा कहाँ फल्छ र ?’ तर उनले जोखिम उठाए । अहिले त्यही जोखिम उनको परिवारको आधार बनेको छ ।

उनका अनुसार एक बिघामा करिब ३० क्विन्टलसम्म धान उत्पादन हुने गरेको छ । अहिले उनले विद्यालयको जग्गा भाडामा लिएर १२ बिघामा खेती गरिरहेका छन् । तर, खेतमा लहलहाएको अवस्थामा पुगिरहेको धानले मात्र उनको जीवन सजिलो बनाएको छैन । खेतीको लागत दिनप्रतिदिन बढिरहेको छ । चैत–वैशाखको गर्मीमा सिँचाइका मुहान सुक्दै जान्छन् । बोरिङ चलाएर पानी तान्नुपर्छ । डिजेल महँगो छ । विद्युत् लाइन पुगे पनि सरकारले अझैसम्म धेरै किसानको खेतमा विद्युत् मिटर जडान गर्न सकेको छैन ।

‘धान त फल्छ,’ कठायत भन्छन्, ‘तर पानी तान्नकै खर्च धेरै हुन्छ । कहिलेकाहीँ लागत उठाउनै गाह्रो पर्छ ।’ लालबोझीमा अहिले पनि धेरै किसान बोरिङ चलाएर खेतमा पानी लगाउँछन् । मोटरको आवाज गाउँभर गुञ्जिन्छ । किसानको सपना मोटरसँगै जोडिएको छ । ४२ वर्षीय किसान प्रेम चौधरी भन्छन्, ‘दिनभर खेतमा काम ग¥यो, पानी लगाउन बोरिङगको भर छ । कतिबेला बिजुली हुँदैन, डिजेल किन्न पैसा छैन । खेती गरेर बाँच्न झन् गाह्रो हुँदै गएको छ ।’

नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्य अधिकार सुनिश्चित गरेको छ । संविधानको धारा ३६ मा खाद्यसम्बन्धी हकको व्यवस्था गरिएको छ, जसअनुसार नागरिकले खाद्य सुरक्षाको अधिकार पाउने उल्लेख छ । त्यस्तै, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन–२०७५ ले राज्यलाई खाद्य उत्पादन, संरक्षण र किसानको जीवनस्तर सुधारका लागि आवश्यक व्यवस्था गर्न बाध्य बनाएको छ । तर दक्षिणी क्षेत्रका किसान भन्छन– कानुनमा लेखिएका अधिकार खेतसम्म आइपुगेका छैनन् ।

कृषक माया चौधरी भन्छिन्, ‘सरकारले किसानलाई प्राथमिकता दिएको भन्छ । तर मल पाइँदैन, सिँचाइ छैन, बिजुली छैन । हामीले अधिकार कागजमा मात्रै देखेका छौँ ।’ उनको घरको अवस्था पनि उस्तै छ । छोरा भारतमा मजदुरी गर्छन् । उनी भन्छिन्, ‘यदि खेतीबाट राम्रो आम्दानी हुन्थ्यो भने छोरालाई विदेश पठाउनु पर्दैनथ्यो ।’ भजनीमात्र होइन, कैलालीको दक्षिणी क्षेत्रका धेरै बाढी प्रभावित बस्तीमा अहिले चैते धान खेती विस्तार भइरहेको छ । कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी क्षेत्रमा किसानको आकर्षण बढ्दो छ ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लाभर करिब १८ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भइरहेको छ । उनका अनुसार साढे तीन क्विन्टल प्रति हेक्टरमा धान उत्पादन भइरहेको छ । उनले भने, ‘बाढीका कारण वर्षातमा खेती गर्न नसक्ने क्षेत्रका लागि चैते धान प्रभावकारी विकल्प बनेको छ । किसानलाई प्राविधिक सहयोग र बीउ उपलब्ध गराउने काम भइरहेको छ ।’ तर सरकारी कार्यक्रमको प्रभाव गाउँसम्म पुग्न अझै अपूरो छ । किसानहरू भन्छन– तालिमभन्दा बढी आवश्यक सिँचाइ, विद्युत् र बजार हो ।

कैलालीको दक्षिणी क्षेत्रका धेरै किसानले अहिले पनि उत्पादन भएको धान उचित मूल्यमा बेच्न पाउँदैनन् । व्यापारीले खेतमै पुगेर सस्तो मूल्यमा धान किन्छन् । किसानसँग भण्डारण गर्ने ठाउँ छैन, त्यसैले बाध्य भएर बेच्नुपर्छ । गाउँकी वृद्धा सीता विक धान सुकाउँदै गर्दा आँखा रसाउँदै भन्छिन्, ‘हामीले खेतमा पसिना बगाउँछौँ, तर नाफा व्यापारीले खान्छ,’ उनले भनिन्, ‘हरेक वर्ष बाढीले गाउँ डुबाउँछ । सडक भत्किन्छ, विद्यालय बन्द हुन्छन्, पशुचौपाया बिरामी पर्छन् । तर किसानहरू फेरि पनि खेतमा फर्किन्छन् । किनकि उनीहरूसँग विकल्प कम छ ।’

जलवायु परिवर्तनको असरले तराईका बाढी प्रभावित क्षेत्र झन् जोखिममा परिरहेका छन् । मौसमको अनियमितता बढ्दो छ । कहिले खडेरी, कहिले अत्यधिक वर्षा । किसानको जीवन मौसमको दयामा निर्भर बन्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख चौधरी भन्छन्, ‘बाढी प्रभावित क्षेत्रमा वैकल्पिक खेती प्रणाली, समयमै सिँचाइ, सौर्य ऊर्जा आधारित पम्प र बजार पहुँच सुनिश्चित नगरे किसान टिक्न गाह्रो हुनेछ । तर लालबोझीका किसानलाई नीति र योजनाभन्दा बढी भोलिको चिन्ता छ ।’

अहिले गाउँका खेत सुनौलो देखिन्छन् । हावासँगै धानका बाला हल्कासँग हल्लिन्छन् । टाढाबाट हेर्दा त्यो दृश्य निकै सुन्दर लाग्छ । तर त्यो हरियालीभित्र संघर्ष लुकेको छ– ‘बाढीसँगको संघर्ष, गरिबीसँगको संघर्ष, अनि बाँचिरहनुपर्ने बाध्यतासँगको संघर्ष ।’ कुम्भ कठायत खेतको बीचमा उभिएर भन्छन्, ‘हामी खेती छोड्न चाहँदैनौँ । खेत नै हाम्रो जीवन हो । तर किसानलाई बचाउने नीति भएन भने एक दिन यी खेत खाली हुन्छन् ।’ असार आउँदैछ । कैलालीका दक्षिणी क्षेत्रका किसान फेरि आकाश हेरेर मौसमको हिसाब गर्न थालेका छन् । किनकि उनीहरूलाई थाहा छ– पानी उनीहरूको सबैभन्दा ठूलो डर पनि हो र आशा पनि हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ८ गते शुक्रबार