शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा पाँचजना महिलामाथि लुटपाट र कुटपिट भएको छ । शुक्रबार विहान साढे सात बजेतिर बाख्रा चराउन गएका पाँचजना महिलामाथि लुटपाट र कुटपिट भएको हो । अज्ञात समूहको आक्रमणबाट राप्ती सोनारी–३ बैसागाउँ र नवलपुर गाउँका पाँचजना महिला घाइते भएका हुन् ।
घाइते हुनेमा राप्ती सोनारी–३ बैसागाउँ अन्दाजी ४० वर्षीय श्याम कुमारी थारू, अन्दाजी ५५ वर्षीया गौरी थारू र बिसमति थारू, अन्दाजी ६५ वर्षीया मंगरी थारू र ५६ वर्षीया रामकलिया थारू रहेका छन् । अज्ञात समूहको आक्रमणमा परेका पाँचैजना महिलाका शरिरका विभिन्न भागमा चोट लाग्नुका साथै अंगभंग भएको छ । केही महिलाहरूका सुनका गरगहना समेत उनीहरूले लगेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कुटपिटको घटना राप्ती सोनारी–३ का हरियाली सामुदायिक वन उपभोक्ता समिति र भुरभवानी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गतका जंगल क्षेत्रमा शुक्रबार विहान अन्दाजी ९ बजेतिर भएकोे थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी)दीपक पातलीले उक्त समूहले पहिलोपटक ४० वर्षीया श्याम कुमारी थारूलाई आक्रमण गरेको बताए ।
बैसागाउँकी थारू जंगल क्षेत्रमा बाख्रा चराउन गएकी थिइन् । उनका अनुसार श्याम कुमारीको हाँत भाँचिएको छ । कान र नाकमा गम्भीर चोट छ भने कुटपिटका कारण शरिरको भित्री भागमा चोट लागेको छ । पहिलो घटना भएको करिब १ घण्टापछि एउटै स्थानमा चारजना महिलामाथि आक्रमण भएको देखिएको उनले बताए । उक्त समूहकै आक्रमण र कुटपिटको शिकार भइन्, राप्ती सोनारी–३की ५५ वर्षीय गौरी थारू ।
आक्रमणपछि कुटपिटबाट उनको दाइने कन्चटमा चोट लागेको छ । सोही वडाकी ५५ वर्षीया बिसमति थारूको खुट्टा र टाउँकोमा चोट लागेको सूचना अधिकारी पातलीले बताए । ५६ वर्षीया रामकलिया थारूको दायाँ खुट्टा नै भाँचिएको उनको भनाइ छ । यसैगरी, ६५ वर्षीया मंगरी थारूको टाउँकोमा चोट छ । ‘घटना महिलाले लगाएका गहना लुट्ने उद्देश्यले भएको देखिन्छ ।
पाँचैजना महिलाको आक्रमणको प्रकृति एउटै छ । सबैलाई पहिला आक्रमण र कुटपिट गरिएको छ । विशेषगरी नाक,कान र घाँटीमा चोट देखिएको छ । सामान्य रूपमा हेर्दा गहना लुटपाट गर्ने उद्देश्य देखिन्छ,’ सूचना अधिकारी पातलीले भने । घाइते पाँचैजनाको अवस्था मध्यम रहेको र उनीहरूको नेपालगन्जस्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा १० पक्राउ
शुक्रबार विहान राप्ती सोनारी–३ मा पाँचजना महिलामाथि लुटपाट र कुटपिट गरेको आरोपमा प्रहरीले दशजनालाई पक्राउ गरेको छ । राप्ती सोनारीका विभिन्न स्थानबाट घटनामा सलंग्न भएको आशंकामा दशजनालाई पक्राउ गरिएको डिएसपी पालतीले जानकारी दिए ।
दिउँसो इलाका प्रहरी कार्यालय बैजापुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले राप्ती सोनारी–७ बाट एकैपटक आठ जनालाई पक्राउ गरेको थियो । शकांष्पद अवस्थामा अटो रिक्सामा सवार रहेका आठ जनालाई पक्राउ गरिएको उनले बताए । तीमध्ये एक जना नेपाली नागरिक र बाँकी सात जना भारतीय नागरिक रहेको उनको भनाइ छ ।
आठ जनालाई नियन्त्रणमा लिइसकेपछि थप दुई जनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । समातिनेहरूमा अन्दाजी २२ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन् । ‘घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरिएको हो ।
उनीहरूमाथि अनुसन्धान हुन्छ । त्यसपछि घटनामा संलग्न भएको नभएको पुष्टि हुन्छ,’ डीएसपी पातलीले मिसन टुडेसँग भने । घटनापछि राप्तीपारी क्षेत्रमा प्रहरीले सर्च अभियान चलाएको थियो । सर्च अभियानका लागि स्थानीय प्रहरीका साथै जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर र इलाका प्रहरी कार्यालय भगवानपुरबाट समेत प्रहरी परिचालन भएका थिए ।









प्रतिक्रिया दिनुहोस्