अलपत्र पाँच पुलको विकल्प खोजिँदै, भेरी कोरिडोरमा थप १४ पुल बनाउन सरकारको स्वीकृति



जाजरकोट । 

नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका बीच छलगाडको किनारमा हस्तान्तरण गरेको थियो ।सडक हस्तान्तरण गरेको सात वर्षपछि यो सडकखण्डको ५६ किलोमिटर कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ भने बाँकी ठाउँमा ठेक्का लागेर पनि काम सुरु हुन सकेको छैन ।

तर, लामो समयदेखि पुल नहुँदा सास्ती खेपिरहेका नागरिकका लागि भने केही आशाको किरण देखिएको छ । सोही खण्डमा बाँकी रहेका १४ वटा पुल निर्माण गर्न राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयले मागेको सहमति दिएको छ । जाजरकोटको नलगाड–१२ बाट डोल्पाको सदरमुकाम दुनैसम्मको ६२ किलोमिटर क्षेत्रमा यी पुल निर्माण हुन लागेका हुन् ।

जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म १४ वटा पुल निर्माण गर्नुपर्ने भन्दै लामो समयदेखि फाइल मन्त्रालय हुँदै योजना आयोग पुगेर अड्किएको थियो । स्रोत सुनिश्चित भएसँगै अब अन्य काम सुरु हुने योजना प्रमुख नरेश केसरीले बताए ।‘तीस मिटरभन्दा कम लम्बाइका पुलको डिजाइन सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले स्वीकृत गर्छ, त्योभन्दा माथिको लागि माथिल्लो निकायमा पठाउने गरिन्छ,’ उनले भने ।

योजना आयोगले भेरी कोरिडोरभित्रका फूलबारीखोला, चिसापानीखोला, खहरेखोला, घट्टेखोला, मनकाखोला, रिजिगार, उसुमखोला, कर्पगाड, खदाङ, खदाङभेरी, चुँगाड, त्रिपुराकोट, गल्ली गाड र खोरखोलामा पुल निर्माण गर्न सहमति दिएको हो ।एकातिर नयाँ पुल निर्माणको बाटो खुलेको छ भने अर्कोतिर यही सडकखण्डमा छ वर्षदेखि पाँचवटा पक्की पुल अलपत्र पर्दै आएका छन् । छ वर्षअगाडि ठेक्का लागेका पक्की पुलको काम नहुँदा यस क्षेत्रका नेताले समेत चर्को आलोचना खेप्नुपरेको छ ।

५६ किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुग्दा सँगसँगै ठेक्का लागेका पुलको भने कुनै काम भएको छैन । योजना प्रमुख केसरीले अलपत्र पाँचमध्ये तीनवटा पुल निर्माणको जिम्मा अर्को कम्पनीलाई दिइने र बाँकी दुईवटा पुल क्याराभानले नै निर्माण गर्ने गरी अन्तिम सहमति हुन लागेको बताए । क्याराभान हिराचन जेभीले २०७७ माघ २ गते जाजरकोटको नलगाड खोला र झुर्मेखोलाको पक्की पुल निर्माण गर्न १८ करोड ४३ लाख ४३ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।

सोही जेभीले सोही मितिमा १३ करोड ५४ लाख रुपैयाँमा नलगाड–९ को त्रात्रखोला, वडा नम्बर ८ को मैदेखोला र वडा नम्बर ११ को ताक्सुगाड चौखामा पुल निर्माणको अर्को ठेक्का पनि लिएको थियो । भेरी कोरिडोरका लाइफलाइन मानिएका यी पुल लामो समयदेखि निर्माणविहीन छन्।यद्यपि, नलगाड–१२ को तल्लुस्थित भेरी नदीको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडको पुल निर्माण कार्य सुरु भएको छ ।

रुकुम पश्चिमको आठबीसकोटस्थित छहरेखोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुलको काम करिब पूरा भएको छ । तर, एयपी एमआरपी पुलचोक जेभीले ठेक्का लिएको खदाङको पुल भने विवादका कारण अझै सुरु हुन सकेको छैन । हाल नेपालगञ्ज, सुर्खेत तथा काठमाडौँबाट सिधै डोल्पाको सदरमुकामसम्म यातायातका साधन पुग्ने गरेका छन् ।

जाजरकोटको तल्लुसम्म कालोपत्रे सडक र त्यहाँबाट रुकुम पश्चिम हुँदै डोल्पाको सदरमुकामसम्म नेपाली सेनाले निर्माण गरेको कच्ची सडकमा गुड्दै सवारीसाधन दुनै पुग्छन् । यातायातको पहुँचसँगै डोल्पाका पर्यटकीयस्थलमा भ्रमणमा जाने पर्यटकको चाप ठूलो मात्रामा बढेको छ ।हाल यो सडकखण्डको नामकरण भेरी कोरिडोर सडक योजना राखिएको छ ।

सुर्खेतबाट डोल्पाको अन्तिम विन्दु अर्थात् नेपाल र चीनको सिमाना मरिमसम्म जोड्ने यो कोरिडोरको कुल लम्बाइ ३१० किलोमिटर छ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पाको अन्तिम विन्दु मरिमसम्म पुगेर यो सडक पूरा हुन्छ । भारत, नेपाल र चीन जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यस योजनाअन्तर्गत हाल जाजरकोट खलङ्गाको पासागाडदेखि नलगाड–१२ तल्लुसम्म यति बिल्डर्समार्फत कालोपत्रेको काम भइरहेको योजना प्रमुख केसरीले बताए ।

त्यस्तै, तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्मको सडक कालोपत्रे गर्न दुईवटा ठेक्का लागेकोमा एउटाको काम सुरु भएको छ भने अर्को अझै सुरु हुन सकेको छैन । योजना प्रमुख केसरीका अनुसार ४२ किलोमिटर सडक कालोपत्रे गर्न क्याब निर्माण जावलाखेलले ७४ करोड रुपैयाँमा ठेक्का पाएको छ । गत असोज २ गते भएको सम्झौताअनुसार २०८५ असोज १ गतेसम्म काम सम्पन्न गर्नुपर्नेछ । छलगाडबाट मरिमसम्म भने एक सय २० किलोमिटर सडक बाँकी छ ।

भेरी कोरिडोरकै डोल्पा सदरमुकाम दुनै–लासिक्याप खण्डको निर्माणमा ढिलाइ हुँदा सोभन्दा माथिल्लो सडक निर्माणमा प्रत्यक्ष बाधा पुगेको छ। आलोचना चर्को भएपछि बल्ल ठेक्काको कामले केही गति लिएको छ । डोल्पाको सदरमुकामबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटरमध्ये २५ किलोमिटर कच्ची सडक कटान गर्नुपर्नेछ । दुनै–लासिक्याप खण्ड छिटो सम्पन्न नभई माथिल्लो भागमा जिम्मेवारी लिएको नेपाली सेनाले आवश्यक उपकरण लैजान नसक्ने भएकाले तल्लो खण्डको काम छिटो सक्नुपर्ने बाध्यता छ ।

अहिले २५ किलोमिटर सडकखण्डभित्र कटानको कामलाई तीव्रता दिइएको छ । माथिल्लो डोल्पाको भागमा पर्ने लासिक्याप–मरिम ७५ किलोमिटरमध्ये सेनाले ४० किलोमिटर कटान गरिसकेको आयोजनाले जनाएको छ । दुनै–लासिक्याप खण्ड निर्माणका लागि सूर्य–श्रेया–शान्ति देवी जेभीसँग २०७८ चैत १७ गते सम्झौता भएको थियो, जसको म्याद २०८२ पुस १६ गतेसम्म छ ।

पूर्वमन्त्री धनबहादुर बुढाले सेनाले निर्माण गर्ने खण्डभन्दा तलको दुनै–लासिक्याप सडक यथाशीघ्र निर्माण भएमा माथिल्लो सडक निर्माण गर्न सहज हुने बताए । ‘भेरी कोरिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहन सेवामा सजिलो हुने भएकाले छिन्चु–जाजरकोट–डोल्पा त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको छ,’ उनले भने ।

नेपाली सेनाले २०६५ सालमा सुरु गरेको यो सडकअन्तर्गत दुनैबाट चीनको सिमाना मरिम नाकासम्मको एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर निर्माण भइसकेको छ भने दुनैबाट धोसम्म निर्माण हुन बाँकी छ । दुनैबाट धोसम्मको ५० किलोमिटर खण्डमा पर्ने चट्टान विस्फोट गराउनुपर्ने आयोजनाको भनाइ छ ।

देशको उत्तरी सीमासँग जोडिएको माथिल्लो डोल्पाका तीन गाउँपालिकाका नागरिकलाई नेपालतर्फ सडक सुविधा नहुँदा जिल्ला सदरमुकाम दुनैसम्म पुग्न हप्ता दिनसम्म पैदल हिँड्न बाध्य छन् । डोल्पा जडीबुटीको भण्डार भएकाले यो त्रिदेशीय मार्ग निर्माण सम्पन्न भएपछि कर्णाली प्रदेशसहित सिङ्गो मुलुककै आर्थिक स्तर वृद्धि हुने अपेक्षा लिइएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार