‘सूर्यतारा सिमेन्ट उद्योगको अलपत्र योजना कार्यान्वयनमा पहल भइरहेको छ’



नन्दराम जैशी । सुर्खेत ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेशकुमार सापकोटाले पश्चिम सुर्खेतमा अलपत्र अवस्थामा रहेको सूर्यतारा सिमेन्ट उद्योग निर्माण प्रक्रियाका लागि पहल भइरहेको बताएका छन् । उक्त उद्योग सञ्चालनका प्रक्रियागत समस्या समाधानका लागि उद्योग मन्त्रालयसँग छलफल भइरहेको उनको भनाइ छ ।

यसका लागि आवश्यक समन्वयमार्फत काम अगाडि बढाइने उनले बताए । प्रतिनिधिसभा सदस्यमा सुर्खेत–२ बाट निर्वाचित भएपछि पहिलोपटक सुर्खेतका पत्रकारहरूसँग भेटघाट गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सुर्खेत विमानस्थल विस्तार गर्नुको विकल्प नरहेको बताएका छन् ।

साथै सुर्खेतको समग्र विकास अवस्थालाई ध्यानमा राखेर केही नयाँ योजनाका लागि सरकारसँग पहल गर्ने र पश्चिम सुर्खेतका सडक, पुल जस्ता अधुरा आयोजना पूरा गर्नमा प्राथमिकता दिने उनले बताए । ‘सूर्यतारा सिमेन्ट उद्योग निर्माणको काम अघि बढाउन लागिएको छ । यसअघि नै काम थालिए पनि सरकारबाट सहयोग नपाएको भन्दै रोकिएको रहेछ,’ उनले भने, ‘अब काम अघि बढाउन संघीय सरकारसँग छलफल भइरहेको छ भने प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।’

यस्तो छ, उद्योगको अवस्था

यता सूर्यतारा इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले अहिले नयाँ सरकारसँग ठूलो आशा राखेर काम अघि बढाइएको बताए । प्रदेश सरकारसँग पटक–पटक सामान्य पूर्वाधार निर्माणका काम अघि बढाउन भनिएको भए पनि निकै चुनौतीको सामना गर्नु परिरहेको उनको भनाइ छ ।

‘अहिले केही काम गर्ने प्रतिबद्धता गरेकाले निर्माणको काम अघि बढाउन लागिएको छ,’ उनले भने, ‘प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेर काम अघि बढाइनेछ ।’ उद्योग निर्माणका केही कामहरू भने सुरु गरिएको तिमिल्सेनाले जानकारी दिए । विद्युत्, खानेपानी र पहुँच मार्ग लगायतका भौतिक पूर्वाधार नभएको भन्दै उद्योगले काम रोकेको हो ।

प्रदेश सरकारले यिनै पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममा समेत ठूला उद्योग सञ्चालनका लागि पूर्वाधार सहयोग गर्ने जनाएको छ । प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि १० किलोमिटर सडक निर्माण गर्न लागेको छ ।

प्रदेशको पूर्वाधार विकास निर्देशनालयले १० किलोमिटर सडक निर्माणको प्रक्रिया बढाएको हो । उद्योगसम्म पुग्ने १० किलोमिटर सडक निर्माणका लगि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । बराहताल गाउँपालिका वडा नं. ७ को लखरपाटादेखि मदनभण्डारी राजमार्गको खम्बागाडेसम्म १० किलोमिटर सडक निर्माण गर्न लागिएको हो ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्भट निर्माण र ग्रावेलसम्मका गर्ने गरी सम्झौता गरेर काम अघि बढाइएको जनाइएको छ । अहिले सडक निर्माणको काम धमाधम रूपमा अघि बढेको छ ।

दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक काम समेत सुरु गरिसकेको छ । करिब १५ अर्ब रूपैयाँ बराबरको लगानीमा उद्योग सञ्चालन हुन लागेको हो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ ।

यसका लागि बराहताल गाउँपालिका वडा नं. ७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार