‘कोहलपुर गोल्डकपले सबैलाई जोड्न भूमिका खेलेको छ’

दीपक ओली, सहसंयोजक कोहलपुर गोल्डकप
म पहिलो संस्करणदेखि नै खेलप्रेमीको रूपमा हेरिहरेको थिएँ । कोहलपुरमा यस्तो ठूलो प्रतियोगिता सुरु हुनु राम्रो कुरा हो । मलाई पनि व्यक्तिगत रूपमा एकदमै खुसी लागिरहेको थियो । यो प्रतियोगिताले फुटबलका माध्यमबाट धेरै क्षेत्रका नागरिकहरूलाई जोड्ने काम गरेको छ । पहिलो, दोस्रो र तेस्रो हुँदै अहिले चौथो संस्करण सञ्चालन भइरहेको छ । म गोल्डकपको सहसंयोजकको भूमिकामा छु । यो संस्करणलाई भव्य रूपमा सम्पन्न गराउन हामी अहोरात्र खटिरहेका छौँ । गोल्डकपले यहाँ उद्योगी, व्यवसायी, खेलप्रेमीहरूलाई खेलकुदको विकासमा लगानी गर्नुपर्छ भन्ने जागरण ल्याएको छ । खेल जीवनको एउटा अंग हो । त्यसैले यसले नवयुवाहरूलाई खेलमार्फत प्रेरित गरेको छ । प्रतियोगिता भव्य रूपमा सञ्चालन भइरहेको छ । गोल्डकप अवलोकनका लागि सबैलाई आग्रह गर्दछु ।
‘गोल्डकपले फुटबलको क्रेज बढाएको छ’
चेतकान्त भट्टराई आर्थिक संयोजक, कोहलपुर गोल्डकप
पश्चिम नेपालको खेलकुद विकास गर्ने उद्देश्यसहित कोहलपुर गोल्डकप सञ्चालन हुँदै आएको छ । प्रतियोगितालाई भव्य र सभ्य रूपमा सञ्चालन गर्नका लागि हामी निरन्तर लागिपरेका छौँ । गोल्डपकले फुटबल संस्कृति विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । अहिले तेह्र बिघस्थित मैदान पनि यसैका कारणले राम्रो बन्दै गएको अवस्था छ । यहाँ रंगशाला समेत निर्माण भइरहेकोले आगामी दिनमा झन् व्यवस्थित रूपमा प्रतियोगिता सञ्चालन गर्न सहज हुने हाम्रो आशा रहेको छ । फुटबलप्रतिको आकर्षण बढ्दो छ । गोल्डकपको सिको गर्दै स्कुलहरूले समेत फुटबलका प्रतियोगिताहरू अनिवार्य गराएका छन् । यो राम्रो सन्देश हो । यस प्रतियोगिताले फुटबलको क्रेज बढाएको छ । त्यसैले त्यस्ता प्रतियोगिता सञ्चालनलाई सकारात्मक रूपमा लिनुपर्छ ।
‘अब महिलालाई फुटबलसँग जोड्नुपर्छ’
ममता थापा कन्टेन्ट क्रिएटर, कोहलपुर
खेलकुद भनेको केवल खेल मात्र होइन, यो सबैलाई एकैठाउँमा जोड्ने सशक्त माध्यम हो । त्यसैले हरेक खेल गतिविधिमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा आत्मसात् गरिएको हुन्छ । यही भावनालाई आत्मसात् गर्दै कोहलपुर गोल्डकपले ‘खेलसँग पर्यटन, खेलसँग मनोरञ्जन’ भन्ने नारा अघि सारेको छ । कोहलपुर गोल्डकपले सबैलाई एउटै ठाउँमा जोडेको छ । सबै उमेर समूहका नागरिकले कोहलपुर गोल्डकपलाई सपोर्ट गरिरहनु भएको छ । स्थानीयको साथ आवश्यक देखिन्छ । संरचना निर्माणलाई पूर्णता दिनुपर्छ । अब फुटबलमा महिलाहरूलाई समेत जोड्नुपर्छ । आगामी दिनमा गोल्डकपले फुटबल विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्भावना रहेको छ। यसलाई सफल बनाउन सबैको भूमिका महत्वपूर्ण देखिन्छ ।
‘कोहलपुर गोल्डकप व्यवस्थित बन्दै गएको छ’
मदन विक सदस्य, नगर खेलकुद विकास समिति कोहलपुर
हामीलाई पहिलो गोल्डकप आयोजना गर्दा धेरै चुनौती सामना गर्नुपरेको थियो । किनभने यस्तो प्रतियोगिता कोहलपुरमा पहिलोपटक हुँदै थियो। तर हामीले सोचेको भन्दा पनि राम्रोसँग पहिलो संस्करण सम्पन्न भयो । दोस्रो र तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भयो । हामी अहिले चौथो संस्करण सञ्चालन गरिरहेका छौँ । यसपटक विगतको भन्दा फरक हिसाबमा प्रतियोगिता सञ्चालन भइरहेको छ । पहिला दर्शकले रुखमा बसेर हेर्थे । अहिले प्याराफिटमा बसेर हेर्ने अवसर पाइरहेका छन् । फुटबल रंगशाला निर्माण हुनु कोहलपुरको लागि गौरवको कुरा हो । कोहलपुर गोल्डकप व्यवस्थित बन्दै गएको छ । यसलाई अझै व्यवस्थित बनाउन हामीले प्रयास गरिरहेका छौँ । पाँचौ संस्करण अझ भव्य रूपमा सञ्चालन गर्नेको लागि आयोजकका तर्फबाट भरपुर प्रयास हुनेछ ।
‘गोल्डकपसँग जोडिन पाउँदा खुसी छु’
गजेन्द्र शाही सञ्चालक, कोहलपुर डेन्टल हस्पिटल, कोहलपुर
कोहलपुर गोल्डकप सञ्चालन हुनु आफैँमा महत्वपूर्ण पक्ष हो । जुन कोहलपुरमा विगत चार वर्षदेखि निरन्तर सञ्चालन भइरहेको छ । अहिले चौथो संस्करण चलिरहेको छ । यसमा म पनि कोहलपुर डेन्टल अस्पतालको माध्यमबाट जोडिएको छु । कोहलपुर गोल्डकपको सहप्रयोजकका रूपमा हामी जोडिएका छौँ । गोल्डकप अवधिभर हामी उपचार सेवामा सहुलियत समेत प्रदान गरेका छौँ ।
अर्कातिर यो प्रतियोगिताले नयाँ पुस्तालाई बढी आकर्षित गरेको मैले देखेको छु । यसले भोलिका लागि फुटबल विकासमा लगानी गरिरहेको छ। हामी पनि कोहलपुरको फुटबल विकासका लागि भूमिका खेल्नुपर्छ भन्ने उद्देश्यले नै जोडिएका हौँ । यस्तो प्रतिष्ठित प्रतियोगितामा जोडिन पाउँदा म खुसी छु । चौथो कोहलपुर गोल्डकप सफलताको शुभकामना पनि व्यक्त गर्दछु ।
‘कोहलपुर गोल्डकप निरन्तर सञ्चालन गर्नुपर्छ’
भरतनिधि तिवारी सामाजिक अभियान्ता, कोहलपुर
चौथो कोहलपुर गोल्डकप २०८३ भव्य रूपमा सञ्चालन भइरहेको छ । विगतका तीन संस्करण पनि सफलतापूर्वक सम्पन्न भएका थिए । यसपटक पनि भव्य रूपमा सम्पन्न हुनेमा म विश्वस्त छु । किनभने यहाँको दर्शकको उपस्थितिले नै गोल्डकपप्रतिको माया र विश्वास थाहा हुन्छ । अर्कातिर यस कोहलपुरको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । यसको लागि स्थानीय सरकारको पनि भूमिका महत्वपूर्ण रहेको छ ।गोल्डकप सफल बनाउनका लागि कोहलपुर नगरपालिकाले सञ्चालन गर्दै आएको छ । जुन निकै सराहनीय पाटो हो । कोहलपुर गोल्डकप निरन्तर सञ्चालन हुनु नै सकारात्मक पक्ष हो । यस्ता प्रतियोगिता निरन्तर हुँदा खेलाडी उत्पादन र फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यो प्रतियोगिता निरन्तर चल्नुपर्ने भन्ने मेरो माग छ ।
‘हामीलाई फुटबल सिक्ने अवसर मिलेको छ’
विशाल रावत खेलाडी, कोहलपुर
म कोहलपुर रेसिङ साहारा क्लबको ‘बी’ टिमको खेलाडी हुँ । क्लबले पश्चिम नेपालकै ठूलो फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ । यति मात्रै होइन क्लबले अहिले ग्रासरुट फुटबल प्रशिक्षण समेत गरिरहेको छ । जसका कारण हामी जस्ता फुटबल खेल्न मन पराउने खेलाडीहरूले राम्रो अवसर पाएका छौँ । चौथो कोहलपुर गोल्डकप भइरहेको छ । मैले पहिलो संस्करणदेखि नै हेर्दै आइरहेको छु ।
देश तथा विदेशका खेलाडीको खेल हेर्ने मौका पाएका छौँ । राम्रा राम्रा खेलाडी आउनुभएको छ । जुन हाम्रो लागि निकै नै ठूलो अवसर हो । सिक्ने मौका हो । म फुटबलर बन्न चाहन्छु । मेरो सपनालाई पूरा गर्नका लागि क्लबले भूमिका खेलेको छ । आगामी दिनमा पनि यस्ता प्रतियोगिता सञ्चालन होस् भन्ने हाम्रो चाहना छ । गोल्डकप सफलताको शुभकामना दिन चाहन्छु ।
‘कोहलपुर गोल्डकप खेल्ने सपना छ’
गौरव सुनार खेलाडी, कोहलपुर
म कोहलपुर रेसिङ साहारा क्लबको ‘बी’ टिमको खेलाडी हो । केही वर्षदेखि म यहाँ फुटबल सिकिरहेको छु । मलाई खेलकुद विधा धेरै मन पर्छ। एउटा खेलकुदप्रेमीका नाताले कोहलपुर गोल्डकप म निरन्तर फ्लो गरिरहेको हुन्छु । कोहलपुर गोल्डकपका सबै संस्करणमा म स्वयम्सेवक भएर समेत काम गरिरहेको छु । खेल समेत नजिकबाट हेर्न पाएको छु । जुन मेरो लागि सौभाग्यको कुरा हो । यहाँ राम्रा खेलाडीहरू खेल्नुहुन्छ। उहाँहरूको खेल कौशल हेरेर हामी कसरी खेल्ने भनेर सिकिरहेका छौँ । मेरा धेरै साथीहरू यहाँ आउँछन् । हामी सबैजना खेल हेरेर समीक्षा पनि गरिरहेका हुन्छौँ । आफ्नै घरछेउमा यस्तो ठूलो प्रतियोगिता हुनु राम्रो कुरा हो । कोहलपुर गोल्डकपमा खेल्ने मेरो ठूलो सपना छ ।









प्रतिक्रिया दिनुहोस्