सुदूरपश्चिमको पहिलो केबलकार निर्माणको काम धमाधम हुँदै



सुदूरपश्चिम ।

सुदूरपश्चिम प्रदेशको पहिलो केबलकारको रूपमा जाल्पादेवी केबलकार निर्माण कम्पनीले निर्माण गर्न थालेको चिसापानी–राजकाँडा केबलकारको काम धमाधम भइरहेको छ । २०८२ साल पुसदेखि सुरु भएको केबलकारको बेसको काम सकिएर पिलर राख्नेकाम भइरहेको छ। १४ वटा पिलर र ३४ वटा गोन्दुला फिट गर्नुपर्नेमा अहिले ३ वटा पिलर लगाउने काम सकिएको छ ।

केबलकार सञ्चालक सूर्यबहादुर थापाले असारसम्म नभए दशैँसम्ममा केबलकार सञ्चालनमा आउने बताए । उनले वैशाखमा सञ्चालनमा ल्याउने पूर्वतयारी भए पनि आफू बिरामी भएर चार महिना भारतमा औषधि उपचारमा बस्नु परेको र चुनावका कारण दुई महिना ढिला हुन गएको बताए ।

उनले भने, ‘केबलकारको बेसको काम सकिएर पिलर फिट गर्ने काम भइरहेको छ । इटलीबाट सामानसँगै निर्माण कम्पनीले प्राविधिक पठाएको छ । उहाँहरूको टिमले काम गरिरहनु भएको छ । रोपवेको सहायताले पिलर फिट हुदैँछ ।’ राजकाँडामा केबलकारसँगै मालिका मन्दिर निर्माण, चमेना गृह, टिकट घर, बाटो निर्माण लगायत काम पनि धमाधम भइरहेको छ ।

धेरै ठेकेदारले काम लिएकाले पनि काम फटाफट भएको देखिन्छ । सञ्चालक थापाले आठ जना ठेकेदारले अलग–अलग कामको ठेक्का लिइ काम गरेको जानकारी दिए । मालिकादेवी मन्दिर निर्माणको लगभग पचास प्रतिशत काम सकिएको छ । मन्दिर जाने बाटोमा ढुङ्गाको छपनी लगाएर आकर्षक बाटो निर्माण भइरहेको छ ।

जाल्पादेवी केबलकार कम्पनीले २० बिघा जमिन केबलकार सञ्चालनका लागि आफ्नो नाममा लिइ उक्त क्षेत्रका रुख कटान प्रक्रिया पूरा गरी केबलकारको काम सुरु गरेको हो । आइएमी समूहका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको ७५ प्रतिशत लगानी तथा कैलाली लम्कीका व्यवसायी सूर्यबहादुर थापाको २५ प्रतिशत लगानीमा केबलकारको काम अगाडि बढेको हो ।

सञ्चालक थापाले सुदूरपश्चिमको पहिलोे केबलकारको रूपमा जाल्पादेवी केबलकार रहेको जनाउँदै यसको लम्बाइ ३१ मिटर लामो रहेको बताए । पाँच अर्ब लागतमा केबलकार निर्माणले पूर्णता पाउने भएको हो । व्यवसायी थापाले अनुमानित लागत रकम बढ्न पनि सक्ने बताए ।केबलकारको टप र बटम स्टेसनमा आवश्यक भौतिक संरचना निर्माणको काम भइरहेको छ ।

केबलकार सञ्चालनले मोहन्याल गाउँपालिका–७ मा रहेको ऐतिहासिक धुलिकोट दरबारसँग जोडिएका महत्त्वपूर्ण कुराहरूको अवलोकन र प्रचार प्रसारमा सहयोग पुग्नुका साथै स्थानीयको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । राजकाँडामा होटल व्यवसाय सञ्चालन गर्नुभएका खेम खत्रीले केबलकार सञ्चालनमा आएपछि होटल व्यवसाय राम्रै चल्ने विश्वास व्यक्त गरे ।

उनले अहिले पनि तराईको गर्मी छल्न र यहाँबाट देखिने मनोरम दृश्य अवलोकनका लागि पर्यटकहरू आउने गरेको बताए । राजकाँडामा खानेपानी र बिजुली बत्तीको समस्या छ । केबलकार सञ्चालनमा आएपछि उक्त समस्या समाधान हुने आशा स्थानीयले लिएका छन् । सञ्चालक थापाले राज्यको शून्य लगानीमा निजी क्षेत्रले सञ्चालनमा ल्याउने केबलकारसँगै बाटोघाटो, खानेपानी, बिजुलीबत्तीको विकास पनि सँगसँगै हुने जानकारी दिए ।

२०८२ साल वैशाखमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले केबलकारको शिलान्यास गरेकी थिइन् । मालिका मन्दिर निर्माण सम्पन्न भएपछि भारत सरकार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथद्वारा उद्घाटन गराउने तयारी रहेको समेत जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार