कास्की ।
प्रक्रियागत ढिलाइका कारण गत वर्ष सुरु हुन नसकेको प्रवीणता प्रमाणपत्र तहको एचए र स्टाफ नर्स विषयको पढाइ यस वर्षदेखि सञ्चालन गर्न गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले तयारी अगाडि बढाएको छ । गत असार १६ गते प्रदेश मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) सँगको सहकार्यमा गोरखाको आँपपिपल अस्पतालमा एचए र बागलुङको धवलागिरि अस्पतालमा स्टाफ नर्स विषयको पढाइ सुरु गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेसहित मन्त्रालयका पदाधिकारी, पूर्वस्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, सम्बन्धित अस्पताल र ‘सिटीइभिटी’का प्रतिनिधिसहित सोमबार मन्त्रालयमा बसेको संयुक्त बैठकले एचए र स्टाफ नर्सको पढाइ सञ्चालनका लागि तदारुकताका साथ तयारी अगाडि बढाउने निर्णय गरेको मन्त्रालयका अतिरिक्त प्रदेश सचिव खिमबहादुर खड्काले बताए ।
‘सिटीइभिटी’ गण्डकी प्रदेश कार्यालयका प्रमुख शारदा घिमिरेले परिषद्को आगामी बैठकमा प्रस्ताव पेस गर्नेगरी तयारी भइरहेको बताइन् । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्ले अनुमति दिने निर्णय गरेपछि पढाइ सञ्चालन हुने उनको भनाइ छ । “प्रस्ताव तयार छ, परिषद्को आगामी बैठकमा पेस हुन्छ”, प्रमुख घिमिरेले भनिन्, “स्टाफ नर्स र एचए पढाउन सिटीइभिटी र प्रदेश सरकार तयारी अवस्थामा छ ।”
गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री पाठकले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालगत्तै सञ्चालन गर्नेगरी प्रदेश सरकारले पूर्वाधार तथा स्रोत व्यवस्थापनको काम गरिसकेको बताए । स्वास्थ्य मन्त्रालय र सिटीइभिटीले आवश्यक बजेटसमेत विनियोजन गरेको उनको भनाइ छ । परिषद् बैठकबाट अनुमतिप्राप्त भएपछि सिट निर्धारण हुने उनले बताए ।
मन्त्रालयले अनुमति लिने प्रक्रियासँगै पढाइ सञ्चालनका लागि प्राविधिक र व्यवस्थापकीय तयारीलाई तीव्रता दिएको छ । दुवै अस्पतालमा भौतिक पूर्वाधारदेखि र मानवसंशाधनको उपलब्धता रहेकाले पढाइ सुरु गर्न कुनै समस्या नरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले धवलागिरि प्रादेशिक अस्पताललाई गत वर्ष सय शय्यामा स्तरोन्नति गरेपछि स्टाफ नर्स पढाउने बाटो खुलेको थियो ।एचए पढाउने तयारी भइरहेको गोरखाको आँपपिपल अस्पताल पनि अहिले ५० शय्यामा स्तरोन्नति गरिएको छ ।
स्टार्फ नर्सका लागि बागलुङ नगरपालिका–१४ स्थित ‘सिटीइभिटी’को भवनमा सैद्धान्तिक विषयको पढाइ र व्यावहारिक अभ्यास धवलागिरि अस्पतालमा गर्नेगरी तयारी गरिएको छ । गोरखाको आँपपिपल अस्पतालमा एचए पठनपाठनका लागि भने केही पूर्वाधार थप्नुपर्ने आवश्यकता रहेको जनाइएको छ ।पालुङटार नगरपालिकाअन्तर्गत रहेको उक्त अस्पताल गत वर्षमात्र प्रदेश सरकारमातहत ल्याइएको थियो ।
यी अस्पतालमा स्टाफ नर्स र एचए विषयको पढाइ सुरु भएमा स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका दृष्टिले महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको थियो । प्राविधिक विषयको पढाइ सुरु गर्ने विषयमा सिटीइभिटीको उच्च नेतृत्वसँग मुख्यमन्त्री र मन्त्रालयतहबाट भएको पटकपटकको छलफलपछि प्रदेश सरकारले उक्त निर्णय गरेको थियो ।न्यून आय भएका र सीमान्तकृत समुदायका विद्यार्थीलाई प्रदेश सरकारबाट पूर्ण छात्रवृत्तिको सुविधासमेत दिनेगरी तयारी गरिएको छ ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा प्राविधिक विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएकामा यी विषयको अध्ययन/अध्यापनमा जोड दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्लास्तरमा नर्सिङ, स्टाफ नर्सलगायत चिकित्सा विषयको पढाइ नहुँदा ग्रामीण भेगका विद्यार्थी ठूलो रकम खर्चेर पोखरालगायत ठूला सहरमा जानुपर्ने बाध्यता छ । रासस









प्रतिक्रिया दिनुहोस्