सम्पादकीयः बढ्दो महिला हिंसाले समाजमा चुनौती



नेपालमा महिला हिंसा एक ठूलो समस्या बनेको छ । हरेक दिन महिलाहरूले विभिन्न प्रकारका हिंसाका घटना सामना गर्नुपर्ने स्थिति छ । यो समस्याले केवल महिलाहरूलाई प्रभावित नगरेर सम्पूर्ण समाजलाई पनि नकारात्मक प्रभाव पार्छ । समाजमा अहिले जीउनै सिरिंग हुने खालका महिला हिंसाका घटनाहरू बढिरहेका छन् । महिला हिंसा एक संवेदनशील र गम्भीर सामाजिक समस्या बनेको छ । महिला हिंसाका धेरै कारणहरू छन् । जसमध्ये मुख्य रूपमा पितृसत्तात्मक समाज व्यवस्था, शिक्षा र जागरुकताको अभाव, आर्थिक असमानता, सामाजिक र सांस्कृतिक परम्परा, कानुनी व्यवस्था र कार्यान्वयनमा कमजोरी लगायतका रहेका छन् । घरेलु हिंसा, यौन हिंसा, बालविवाह, महिला तस्करी तथा कार्यस्थलमा हिंसा लगायतबाट महिलाहरू असुरक्षित हुँदै गएका छन् । महिला हिंसाले समाजमा विभिन्न नकारात्मक असरहरू पारिरहेको हुन्छ । महिलाहरूको आत्मविश्वास र आत्मसम्मान घट्ने, परिवार र समाजमा तनाव बढ्ने, आर्थिक विकासमा बाधा पुग्ने, सामाजिक सहिष्णुता र शान्ति बिग्रिने लगायतका नकारात्मक प्रभावहरू पारिरहेको हुन्छ । समाजमा महिला हिंसा हुन नदिन तथा रोक्नका लागि शिक्षा र जागरुकता अभियान चलाउन, कानुनी व्यवस्थालाई सुदृढ बनाउन, आर्थिक अवसरहरू बढाउन, सामाजिक र सांस्कृतिक परिवर्तनमा जोड दिन, सामुदायिक समर्थन र सहभागिता बढाउन आवश्यक देखिन्छ ।

महिला हिंसा एक जटिल समस्या हो जसलाई समाधान गर्न सम्पूर्ण समाजको प्रयास चाहिन्छ । सरकार, गैसरकारी संस्था र सामान्य नागरिक सबैले मिलेर महिला हिंसाविरुद्ध आवाज उठाउनु पर्छ । महिलाहरूलाई सम्मान र सुरक्षा प्रदान गरेर मात्र हामी एक समृद्ध र समृद्ध समाज निर्माण गर्न सक्छौँ । नेपालमा पछिल्लो समयमा महिला हिंसाका घटनाहरू विकराल बन्दै गइरहेका छन् । बलात्कार, हत्या, अपमान, घरेलु हिंसा र अन्य प्रकारका दुव्र्यवहारहरूले महिलाको जीवनलाई प्रत्यक्ष रूपमा असर पु¥याइरहेको छ । महिला हिंसा रोक्न तत्काल आवश्यक कदम चालिएन भने यसले घर, समाज र सिंगो देशमा नै अझ भयावह रूप लिन सक्ने देखिन्छ । कानुनी कार्यान्वयनमा कमजोरी हुनु पनि महिला हिंसा बढ्नुको अर्को कारण मान्न सकिन्छ । कानुनहरू बनेका भए पनि ती कानुनहरूको प्रभावकारी रूपमा कार्यान्वयन नहुनु, दोषीलाई सजाय नहुनुले महिला हिंसालाई थप बढावा दिइरहेको छ । प्रहरी प्रशासनमा लैंगिक संवेदनशीलताको अभाव, राजनीतिक दबाब, शक्तिको दुरूपयोग आदिले पनि पीडित महिलाहरूले न्याय पाउन सकेका देखिँदैनन् । कतिपय घटनामा पीडितले न्याय पाउनुका साटो पीडकले पाएका घटनाहरू पनि देखिन्छन् । पछिल्ला केही समयमा महिलाहरूलाई बलात्का गर्ने तथा क्रूरताका साथ पशुसरह हत्या गरिएका घटनाहरू पनि बाहिरिएका छन् ।

यस्ता घटनाहरूले महिलाहरूको मानसपटलमा थप डर, त्रास र भय सिर्जना गराएको छ । महिला हिंसाका विभिन्न रूपहरूमध्ये बलात्कार तथा हत्याजस्ता जघन्य अपराधका घटनाहरू अहिले समाजमा बग्रेल्ती देखिन थालेका छन् । यी घटनाहरूले एकातिर महिलाहरू असुरक्षित हुँदै गएका छन् भने अर्कोतिर मिलेर बसेका समाजमा विखण्डन ल्याउने, एकआपसमा द्वेष उत्पन्न हुने, समाज भाँडिने तथा थप अप्ठ्यारा अवस्थाहरू सिर्जना हुने खतरा बढिरहेका छन् । केही दिनअघि सुर्खेतमा एक नाबालिकामाथि भएको बलात्कापछिको हत्या घटना सेलाउन नपाउँदै बाँकेको नेपालगन्जमा सोच्न पनि नसकिने गरि अर्को क्रूर घटना घटेको छ । नेपालगन्जमा एक युवतीलाई रातिको समयमा जिउँदै जलिएको अवस्थामा फेला परिन् । हत्या हो या आत्महत्या हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक युवतीको आफन्तले दिएको जोहरीका आधारमा प्रहरीले ती युवतीका प्रेमी भनिएका र उनका घरका अन्य दुई जना सदस्यलाई नियन्त्रणमा लिएको छ । जिउँदै जलिएको उक्त घटना अत्यन्तै पीडादायी र अत्यन्तै दुःखद छ । कानुनको कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका प्रहरी प्रशासनले यथाशीघ्र छिटो छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन जरुरी छ र कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउनु पर्दछ । समाजमा अबदेखि यसप्रकारका अमानवीय व्यवहार र क्रूरताका घटना दोहोरिन नदिनका लागि सरोकारवालाले आवश्यक पहलकदमी लिन जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १९ गते बिहीबार