वनमुडुवाकै शंकर थारूले थापेको पासोमा परेर राम भगीरथको मृत्यु भएको मृतकका परिवारले जनाएका छन् । यो घटना शंकरकै कारण भएको मृतकका परिवारको दाबी छ । राम भगीरथको खेतमा मृत्यु भएपछि शंकरले शंकास्पद गतिविधि गरेका थिए । राम भगीरथ खेतमा लडिरहेको थाहा पाएपछि मृतककी श्रीमती रूपासँग घटनास्थलमा पुगेका शंकरले प्रेसरका कारण उनको मृत्यु भएको बताउँदै चाँडो घरमा लगेर दाहसंस्कार गर्न दबाब दिएका थिए ।
मधुर पौडेल । बाँसगढी ।
जनावरको सिकार गर्नका लागि थापिएको विद्युतीय पासोमा परी बाँसगढी नगरपालिकामा एक जनाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका–२ वमुडवाका राम भगीरथ थारूको जनावरका लागि खेतमा थापिएको विद्युतीय पासोमा परी मृत्यु भएको हो ।
सोही ठाउँका ३८ वर्षीय शंकर थारूले पासोमा पारेर आफ्नो पतिलाई मारेको आरोप लगाउँदै मृतककी पत्नी रूपा थारूले इलाका प्रहरी कार्यालय बाँसगढीमा किटानी जाहेरी दिएकी छन् ।
किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बाँसगढीले शंकरलाई पक्राउ गरेको छ । ‘पासो उनैले थापेका हुन् वा होइनन् भन्ने खुलेको छैन,’ इप्रका बाँसगढीकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराले भनिन्, ‘एक जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान अगाडि बढाएका छौँ ।’ मृतकको विद्युतीय पासोमा परेर मृत्यु भएको उनले बताइन् ।
मंगलबार बिहान काममा जान भनी हिँडेका राम भगीरथको एकैछिनपछि खेतको बीचमा एक्कासि मृत अवस्थामा लास भेटिएको थियो । उनी थ्रेसरमा धान दाउनका लागि भन्दै घरबाट हिँडेका थिए । राम भगीरथ ट्र्याक्टर मजदुर थिए । ‘धान दाउनका लागि लिन मोटरसाकइलमा ट्र्याक्टर साहु आएका थिए,’ उनकी श्रीमती रूपाले भनिन्, ‘तर मेरा बुढाले ‘तिमी जाँदै गर म एकैछिनमा सोझै खेतको बाटो हिँडेरै आउँछु’ भनेर साहुलाई पठाएका थिए ।’ एकछिनपछि उनी खेतको बाटो काममा जान भनेर हिँडे ।
तर उनी गएको केही समयपछि नै एक जना छिमेकी महिलाले उनी लडिरहेको देखेपछि घरमा खबर गरेकी थिइन् । ‘म गएर हेर्दा बुढाको शरीर चिसो भइसकेको थियो,’ रूपाले भनिन् । वनमुडुवाकै शंकर थारूले थापेको पासोमा परेर राम भगीरथको मृत्यु भएको मृतकका परिवारले जनाएका छन् । यो घटना शंकरकै कारण भएको मृतकका परिवारको दाबी छ ।
राम भगीरथको खेतमा मृत्यु भएपछि शंकरले शंकास्पद गतिविधि गरेका थिए । राम भगीरथ खेतमा लडिरहेको थाहा पाएपछि मृतककी श्रीमती रूपासँग घटनास्थलमा पुगेका शंकरले प्रेसरका कारण उनको मृत्यु भएको बताउँदै चाँडो घरमा लगेर दाहसंस्कार गर्न दबाब दिएका थिए ।
‘देख्नेबित्तिकै मेरा लोग्नेको लास बोकेर शंकर घरतिर कुदे,’ मृतककी श्रीमती रूपाले भनिन्, ‘घरमा ल्याएर लासलाई खाटमा राखेर सिरकले छोपे । मुखमात्र देखिने गरी लास राखेर उनी छिटो दाहसंस्कार गर्नुपर्ने भन्दै दाउरा र बाँसको खोजीमा लागे ।’
यतिबेलासम्म सबै गाउँलेहरू पनि जम्मा भइसकेका थिए । शंकरकै योजनाअनुसार दाहसंस्कारका लागि लैजाने तयारी पनि हँुदै थियो । उनले हरियो बाँस खोजेर लास बोक्नका लागि घारो बनाइसकेका थिए ।
शंकरले लास जलाउनका लागि ट्र्याक्टरमा दाउराको समेत बन्दोबस्त मिलाइसकेका थिए । ‘उनी (हालाहाल करो)चाँडो गरौँ भन्दै आत्तिइरहेका पनि थिए,’ मृतककी भाइबुहारी रन्जनी थारूले भनिन्, ‘घरीघरी उनी अब यैँ महिन फसैहीँ (अब यिनीहरूले मलाई फसाउने भए) भनेर बर्बराइरहेका पनि थिए ।’
यहीबेला वनमा च्याउ खोज्न गएका मृतकका भाइ घरमा आइपुगे । एक्कासि घरमा भएको घटनाबाट उनी अनभिज्ञ थिए । उनी आश्चर्यचकित भए । दाजुको एक्कासि कसरी मृत्यु भयो भन्नेबारे उनले ठम्याउन सकेनन् । उनले दाजुको सिरकले छोपिएको मृत शरीर खोलेर हेरे । लास जलेजस्तो कालो थियो ।
प्रेसरले हानेर शरीर यस्तो कालो त नहुनुपर्ने भन्दै उनले शंका गरे । उनले दाजुको लास उठाउन दिएनन् । प्रेसरका कारण नभएर शंकरले पासो थापेर आफ्ना पतिको कर्तव्य गरी मारेको रूपाले किटानी जाहेरीमा उल्लेख गरेकी छन् । घटनास्थलनजिकै विद्युतीय तारहरू छरिएको र हतारहतार शंकरले ती तार बटुलेर लगेको रूपाले बताइन् ।
घटनास्थल नजिकै एउटा नीलगाई पनि मृत अवस्थामा फेला परेको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे केही नयाँ तथ्यहरू खुल्नसक्ने इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । मृतकको जिल्ला अस्पताल बर्दियामा पोस्टमार्टम गरिएको छ ।