पूर्वराजा ज्ञानेन्द्र शाह बाँकेको नेपालगन्जमा



मिसन समाचारदाता १३ पुस कोहलपुर/ पूर्वराजा ज्ञानेन्द्र शाह बाँकेको नेपालगन्जमा आइपुगेका छन्। मध्य तथा सुदूरपश्चिमका धार्मिक एवम् पर्यटकीय क्षेत्रको भ्रमणका लागि पूर्वराजा शाह बाँकेमा आएका हुन्। पत्नी र बुहारीका साथमा आएका शाहको एक हप्ते भ्रमण तालिका रहेको बताइएको छ।
पूर्वराजा शाह बिहीबार राजा विमानस्थलमा पुगेपछि उनका समर्थकले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए। दुई हजार बढी समर्थकको सहभागितामा पूर्वराजा शाहको परिवारलाई बाँकेमा स्वागत गरेको छ। राप्रपा पार्टीका जिल्ला स्तरका नेता कार्यकर्ताले पूर्वराजाको फुलगुच्छाले स्वागत गरेका थिए।
साँझ पाँच बजे विमानस्थलमा पुगेका शाहको स्वागतका लागि राजावादीले संगठित रुपमा बिहीबार दिउँसो ३ बजदेखि स्वागतका लागि विमानस्थल बाहिर लाम लागेका थिए ।
अधिवक्ता दीपक सिंहको संयोजकत्वमा २ सय एक सदस्यीय देशभक्त नागरिक स्वागत मुल समारोह समिती गठन गरिएको थियो। समितिको अगुवाइमा पूर्वराजको पक्षमा नारा लगाएका थिए। ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ देश बचाऊ’ लगायतका नारा लगाएका थिए।
एक हप्ते भ्रमण आएका पूर्वराजाले मध्य तथा सुदूरपश्चिमका धार्मिक क्षेत्रको भ्रमण समेत गर्ने भएका छन्। शाह निकटका स्रोतका अनुसार शुक्रबार बिहान बाँकेमा रहेको पश्चिम क्षेत्रको प्रसिद्ध हिन्दुको धार्मिक क्षेत्र वागेश्वरी माताको दर्शन गर्ने कार्य तालिका रहेको छ। पूर्वराजा आउने भएपछि बिहीबार बिहानैदेखि नेपालगन्ज विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो।
पारिवारिक रुपमा धार्मिक भ्रमण भने पनि पूर्वराजाले बाँकेमा निर्माण सम्पन्न भएको एक होटल उद्घाटन गर्न बाँकेमा पुगेको बताइएको छ। हालैमात्र सञ्चालनमा आएको सोल्टी शिवविक्रम होटल एण्ड रिसोर्टलाई पूर्व राजाले नयाँ वर्षको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा ७० करोडको लागतमा एक वर्ष लगाएर निर्माण भएको सोल्टी होटलको शाखा उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।
पूर्व राजपरिवारको लगानी रहेको भनिएको ८१ कोठे यो चारतारे होटल ३ वर्षअघिदेखि निर्माण सुरु भएर भर्खरमात्रै सञ्चालमा आएको हो। उनले भ्रमण अवधिमा आफ्ना समर्थकसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ। पूर्वराजा शाहका साथमा पत्नी कोमल राज्यलक्ष्मी शाह, युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह र छोरी प्रेरणा छन्।
– paschimnews

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १३ गते बिहीबार