नन्दराम जैशी । सुर्खेत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नीतिगत प्रस्थानका १०० आधार’सहित आफ्नो चुनावी बाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ ।
बिहीबार सुर्खेतमा आयोजित परिवर्तन उद्धघोष सभाको अवसरमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह र उपसभापति स्वर्णिम वाग्लेसहितका शीर्ष नेताहरूले संयुक्त रूपमा बाचापत्र सार्वजनिक गरेका हुन् ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछिको सरकार र आगामी बजेटको स्पष्ट खाका प्रस्तुत गर्दै रास्वपाले मुलुकको अर्थतन्त्र र सुशासनमा आमूल परिवर्तन गर्ने उद्घोष गरेको छ । रास्वपाको १०० आधारसहितको चुनावी बाचापत्रमा शुसासन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखिएको छ । बाचापत्रको बुँदा नम्बर १२ मा ‘भ्रष्ट्राचार गरिन्न, गर्नेलाई छाडिन्न’ भन्ने उल्लेख छ ।
यसका लागि भ्रष्ट्राचार देश विकासको प्रमुख बाधक भएको दाबी गर्दै यसविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने रास्वपाको बाचा छ । ‘कानुनअनुसार गर्नु पर्ने काम नगरे वा ढिलो गरेमा र नगर्नु पर्ने काम गरे त्यसलाई पनि भ्रष्ट्राचार मानी दण्डित गरिनेछ,’ बाचापत्रमा उल्लेख छ, ‘भ्रष्ट्राचारका मुख्य अपराधीसँगै मतियारहरूलाई समेत समान कारबाही गरिनेछ । भ्रष्ट्राचारसम्बन्धी सूचना दिने सूचकलाई प्रोत्साहन तथा संरक्षण गर्न सूचक संरक्षण ऐन बनाई लागू गरिनेछ ।’
भ्रष्ट्राचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगअन्र्तगत विशिष्ट एन्टिकरप्सन पोलिसीको व्यवस्था गरिने उल्लेख छ ।भ्रष्ट्राचारी आशंका गरिएका र देशव्यापी विवाद बहस भएका मुद्दाका फाइलहरू खोलिने रास्वपाले बाचा गरेको छ । बाचापत्रको मुख्य बुँदा प्रस्तुत गर्दै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले अबको ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर (१०० खर्ब रुपैयाँभन्दा माथि) पु¥याउने महत्वाकांक्षी योजना सुनाए ।
उनका अनुसार फागुन ३ गते नागरिकसँगको करारपत्रमार्फत लक्ष्यहरू सार्वजनिक गरिएको थियो । फागुन ७ गते नीतिगत प्रस्थानका १०० आधारहरू पेश गरेको उल्लेख गर्दै अब बन्ने सरकारले यिनै आधारमा टेकेर जेठ १५ को बजेट र नीति तथा कार्यक्रम ल्याउने उनले बताए ।
‘रास्वपाले अर्थतन्त्र उकास्नका लागि ‘मिशन मोड’मा काम गर्नेछ ।
स्थिर मूल्यमा वार्षिक कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरी अबको ५ देखि ७ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय तीन हजार डलर (करिब ४ लाख रुपैयाँ नेपाली) पु¥याउने लक्ष्य छ,’ उनले भने, ‘हाल विश्व बैंकको मापदण्डअनुसार हामी निम्न आय भएको मुलुकमा छौँ ।अबको ५ वर्षमा हामी सम्मानजनक मध्यम आय भएको मुलुकको स्तरमा पुग्नेछौँ । त्यसको खाका रास्वपाले तयार गरेको छ ।’
बाचापत्रमा सरकारी सेवा प्रवाहलाई पनि उच्च प्राथमिकता दिइएको छ । सरकारी सेवामा ‘लाइन होइन अनलाइन’ भन्ने अवधारणा लागू गर्ने, न्याय सुधारमा मेरिटोक्रेसी (योग्यतातन्त्र) स्थापना गर्ने र दलमुक्त राज्य संयन्त्र निर्माण गर्ने प्रतिबद्धता रास्वपाले जनाएको हो । आर्थिक फड्को मार्न बाधक मानिएका दर्जनौँ ऐन र नियमावलीहरू एकैपटक खारेज गरेर निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने पनि रास्वपाले घोषणा गरेको छ ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र रूपमा जितेर स्थापित सत्तालाई चुनौती दिएका बालेन्द्र साह अहिले रास्वपाको वरिष्ठ नेताका रूपमा जोडिँदा पुस्तान्तरणको राजनीति नयाँ चरणमा प्रवेश गरेको उपसभापति वाग्लेको दाबी छ । रास्वपाले कृषि, पर्यटन, जलविद्युत् र सूचना प्रविधि (आईटी)लाई अर्थतन्त्रको मुख्य खम्बा मान्दै कर्णालीका डाँडाकाँडा र फाँटहरूमा आर्थिक क्रान्ति ल्याउने सपना देखाएको छ ।
निजी क्षेत्रलाई ‘सरकारको ढोका चाहार्नुपर्ने अवस्थाको अन्त्य गर्दै दैलोमै सरकार पुग्ने’ प्रत्याभूति दिलाइएको छ । अस्थिर राजनीतिको अन्त्य र सुशासनका लागि यसपटक आफ्नो चुनाव चिन्हमा मतदान गरी स्पष्ट बहुमत दिन आम मतदातालाई रास्वपाले आह्वान गरेको छ । खुद्रा सुधारले मात्रै नपुग्ने भन्दै राजकाजको जहाजलाई नै सही दिशामा मोड्न ५ वर्षको स्थिर सरकार आवश्यक रहेको रास्वपा नेताहरूले औँल्याएका छन् ।
वित्तीय क्षेत्रमा आधुनिक साधनहरूको प्रयोग गर्दै बीमामार्फत प्राप्त हुने सुरक्षाको उपयोगिता सहज बनाउने रास्वपाले प्रतिबद्धता जनाएको छ । ‘नेपाली जनतालाई विकास परियोजनाहरूमा सहभागी गराउन र आर्थिक टेवा दिन पालिका बन्ड, डेरिभेटिभ मार्केटजस्ता नवीन वित्तीय संयन्त्रहरू निर्माण गरिनेछ,’ पत्रमा भनिएको छ, ‘देशभित्र र नेपाली नागरिकले खरिद गर्न नपाउने गरि डिजिटल मुद्रा माइनिङलाई वैधानिकता दिइनेछ । बीमा उद्योगलाई आधुनिकरण गर्न बीमा एकेडेमी बनाइनेछ ।’
रास्वपाले शिक्षालाई आधुनिक, मौलिक, व्यवहारिक र नैतिक बनाउँदै यस सम्बद्ध व्यक्ति र संस्थाहरुलाई आवश्यक सुविधा प्रदान गर्ने बाचा गरेको छ भने गुणस्तरीय स्वास्थ्य सेवाको नागरिक अधिकार प्रत्याभूतिका लागि आवाश्यक नीति लिएको छ । युवालाई बहुआयामिक अवसरहरू प्रदान गरी निर्णायक नेतृत्वमा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ भने युवाहरुलाई रोजगार बनाउन देशभर तालिम केन्द्र र रोजगारी बैंक स्थापना गर्ने बाचा गरेको छ । रोजगारीका लागि बाध्यतावश देश छोड्नु नपर्ने समाजको परिकल्पनासहितको नीति लिएको रास्वपाले जनाएको छ ।
रोडबाट होइन, अब भोटबाट परिवर्तन गरौँ ः लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले परिवर्तनका लागि शान्तिपूर्ण र लोकतान्त्रिक बाटो रोज्नुपर्नेमा जोड दिए । ‘कर्णालीले हिंसात्मक द्वन्द्वको पीडा धेरै भोगिसकेको छ । अब फागुन २१ गते कर्णाली र देशको भाग्य र भविष्य बदल्ने अवसर आएको छ,’ उनले भने, ‘यो निर्वाचन केवल मतदानको दिन मात्रै होइन, देशको दिशा तय गर्ने दिन हो, त्यसैले अब रोडबाट होइन, भोटबाट परिवर्तन गरौँ ।’
नेपाली जनताले फागुन २१ गते अनुमोदन गरेर नेपाल अब अगाडि बढ्दैछ भन्ने कुरा विश्वलाई देखाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।सभापति लामिछानेले बहुमतसहितको स्थिर सरकार आवश्यक रहेको बताउँदै रास्वपालाई स्पष्ट जनादेश दिन आह्वान गरे । ‘पाँच वर्ष टिक्ने स्थायी सरकार नदिइए मुलुक फेरि अस्थिरतातर्फ जान सक्छ । त्यसैले घण्टी चुनाव चिह्नमा मतदान गर्न आह्वान गर्छु,’ उनले भने, ‘उत्तर धेरैले दिएका छन्, अब समाधान दिने समय आएको छ । पाँच वर्षको स्थिर सरकारमार्फत् देशलाई सही दिशामा लैजान हामी तयार छौँ ।’
अर्को प्रसंगमा पुराना दलहरुप्रति व्यंग्य गर्दै लामिछानेले लोकतन्त्र खतरामा प¥यो हामी जोगाउँछौँ भनेर कसैले ठेक्का लिनु नपर्ने तर्क गरे । लोकतन्त्रमाथि खतरा रहेको भनाइप्रति आपत्ति जनाउँदै लोकतन्त्रको असली संरक्षक जनता नै भएको दाबी गर्दै लोकतन्त्र जोगाउने ठेक्का कुनै नेता वा पार्टीले लिनु नपर्ने उनको भनाइ छ । जनता जागेपछि लोकतन्त्र आफैँ बलियो हुने उनले बताए ।
कर्णालीका उत्पादनलाई राष्ट्रिय बजारसम्म पु¥याउँछौँ ः बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेद्र साहले कर्णालीका उत्पादनलाई राष्ट्रिय बजारसम्म पु¥याउने नीति रास्वपाले लिएको बताए ।
‘डोल्पामा पाइने बहुमूल्य यार्सागुम्बा विश्व बजारसम्म पुग्न सक्ने तर कर्णालीका स्याउ, मार्सीजस्ता कृषि उत्पादन देशभर सहजै नपुग्नु बिडम्बना हो,’ उनले भने, ‘अब कर्णालीका उत्पादनलाई राष्ट्रिय बजारसम्म पु¥याउने पार्टी रास्वपा बन्नेछ, यसका लागि हामीले आवश्यक नीति बनाउने छौँ ।’
उनले कर्णालीमा अझै पनि भोकमरी, बालमृत्युदर र मातृमृत्युदर उच्च रहेको विषय उठाए । ‘यहाँको गरिबीलाई भोग्ने जनता धेरै छन्, तर त्यसलाई सही रूपमा बुझ्ने नेतृत्वको अभाव छ,’ उनले भने, ‘अब कर्णालीका जनताको सपना हाम्रो सपना हो, रास्वपाले कर्णालीबाट परिवर्तनको यात्रा सुरु गरेको छ ।’
सिंजा सभ्यताको संरक्षणमा जोड दिनुपर्ने उल्लेख गर्दै सिंजा उपत्यकालाई नेपाली भाषा र खस सभ्यताको उद्गमस्थलका रूपमा त्यहाँको सभ्यता जोगाउन आवश्यक रहेको उनले बताए । ‘सिंजाको भाषा, लिपि, कला, संस्कृति, नाचगान र जात्राको संरक्षण गर्नु नै इतिहास र पहिचान जोगाउनु हो । यो काम रास्वपाले गर्नेछ,’ उनले थपे, ‘देशको सबैभन्दा ठूलो रारा ताल, सबैभन्दा लामो नदी कर्णाली, सबैभन्दा ठूलो जिल्ला डोल्पा र विशाल गाउँपालिकाहरू भएको कर्णालीको गहिराइ आजसम्म कसैले सही रूपमा बुझ्न सकेन । त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो ।’









प्रतिक्रिया दिनुहोस्