शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
माघ २४ गते बाँके क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेवार नारायणप्रसाद गौडेलको फेसबुक पेजबाट एउटा फोटो पोष्ट भयो । ‘नारायणप्रसाद गौडेलको सचिवालय’ नामक पेजबाट पोष्ट गरिएको फोटोमा थिए, गौडेल र नेकपाका एम्मेदवार नरेन्द्र पाण्डे ‘जेम्स’ । दुवैले ढाका टोपी लगाएका थिए । दुवैजनाले अंगालो मारेको फोटोमा उनीहरू निकै खुसी देखिन्छन् ।
लाग्थ्यो, उनीहरूको कुनै विशेष विजयी उत्सवमा भेटिएका दौँतरी र वर्षौँपछि भेटिएका आत्मीय साथी हुन् । बत्तिसै दन्त देखाएर मुस्कुराइरहेका गौडेल र पाण्डे अहिले चुनावी मैदानमा छन् । फागुन २१ को निर्वाचनको लागि उनीहरू छुट्टाछुट्टै दलबाट चुनावी मैदानमा छन् । मैदानमा एकअर्काका प्रतिस्पर्धी रहेका उनीहरू घरदैलो गर्ने क्रममा भेटिँदा देखिएको सौहार्दताले सामाजिक सञ्जालमा पोष्ट भएपछि चुनावी प्रतिस्पर्धामा रहेपछि उम्मेदवारहरूबीच आत्मीयता देखिएको भन्दै चौतर्फी रूपमा तारिफ भयो ।
सोही फोटोमै गौडेल र पाण्डेसँगै देखिएका नेकपाका नेता महेश्वरजंग गहतराज ‘अथक’ले पनि फोटो शेयर गर्दै गौडेल र पाण्डेको अंकमालले सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् । यस्तै गौडेलको सचिवालयबाट पोष्ट भएको स्ट्याटसमा समेत लेखिएको छ ‘दुवै उम्मेदवारबीच भेट हुँदा आपसी सम्मानका साथ छोटो शुभकामना आदान–प्रदान भयो । लोकतान्त्रिक संस्कारको सुन्दर उदाहरण प्रस्तुत भयो ।’
स्ट्याटसको कमेन्टमा बहुसंख्यक सकारात्मक कमेन्ट छन् । मनरुप शाही नाम गरेका फेसबुक प्रयोगकर्ता ‘भाइचाराको सम्बन्ध’ भन्दै सकारात्मक टिप्पणी गरेका छन् । यस्तै, पत्रकार संगीन शर्माले उम्मेदवारबीच आत्मीयता देखिएको भन्दै दुवैजनाको आत्मीयताले उम्मेदवारहरूबीच प्रतिस्पर्धा मात्रै होइन आत्मीयता हुन्छ भन्ने कुराको सन्देश दिएको उल्लेख गरेका छन् ।
पत्रकार शर्माले लेखेका छन्, ‘बाँके क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) र काँग्रेसका उम्मेदवार नारायण गौडेलबीच भेट हुँदा देखिएको आत्मियता । साक्षी बन्नुभयो पूर्वमन्त्री तथा सांसद महेश्वर गहतराज अथक ।’ भेटका सन्दर्भमा मिसन टुडे दैनिकसँग कुराकानी गर्दै नेपाली काँग्रेसका उम्मेदवार गौडेलले चुनाव लोकतान्त्रिक प्रक्रिया भएको भन्दै प्रतिस्पर्धा लोकतन्त्रकै सुन्दर पक्ष रहेको बताए ।
चुनावमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा स्वभाविक रहेको भन्दै उम्मेदवारहरूको सौहार्दताले सकारात्मक सन्देश दिने उनको भनाइ थियो ।यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे ‘जेम्स’ फरक पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहे पनि घरदैलोमा विभिन्न पार्टीका उम्मेदवारबीच भेट हुने सोही क्रममा गौडेलसँग आफ्नो भेट भएको बताए । उनले भने, ‘घरदैलोको क्रममा भेट भएको थियो । फोटो त्यतिबेला खिचेको हो । एकचोटी रमाइलो पनि भयो ।’
यस्तै माघ २६ गते बाँके क्षेत्र नम्बर ३ का दुई उम्मेदवारहरूको समेत घरदैलोमा भेट भएको तस्बिर सार्वजनिक भएको थियो । पत्रकार कुशल दर्लामीले पोष्ट गरेको स्ट्याटसमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपक जीएम र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारबीच भेट भएको थियो । उनीहरूबीच देखिएको सौहार्दताको समेत चौतर्फी तारिफ भयो ।
दुवैजनाको फोटो पोष्ट गर्दै खगेन्द्र सुनारको सचिवालयले समेत दुवैजनाको चुनावी प्रचार प्रसारका क्रममा भेट भएको उल्लेख गरेको थियो । पोष्टमा लेखिएको छ, ‘रास्वपाका उम्मेदवार खगेन्द्र सुनार र नेकपाका उम्मेदवार दीपक जीएम ज्यूबीच चुनावी अभियानका क्रममा भेट ।’
उम्मेदवारहरूबीच भेटका बारेमा बोल्दै रास्वपाका उम्मेदवार सुनारले लोकतान्त्रिक प्रक्रियामा उम्मेदवारहरूबीच प्रतिष्पर्धा हुने भएपछि अस्वस्थ प्रतिष्पर्धा हुन नहुनेमा जोड दिए ।
उनका अनुसार चुनावी अभियानका क्रममा आफ्नो धेरै उम्मेदवारहरूको भेट भएको छ । आफूले भेटे जतिका उम्मेदवारहरूसँग सौहार्दपूर्ण रूपमा कुराकानी गर्ने गरेको सुनारले बताएका छन् । यसैगरी माघ २८ गतेका दिन नेपाली काँग्रेसका उम्मेदवार अमरबहादुर पुन र नेकपाका उम्मेदवार दीपक जीएमबीच पनि भेटघाट भएको थियो । उनीहरूको बीचमा भएको भेटपछि खिचेको तस्बिरको समेत तारिफ भएको थियो । बाँकेका तीनवटा निर्वाचन क्षेत्रमा ५६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।








प्रतिक्रिया दिनुहोस्