बँदेल आतंकविरुद्ध उच्च अदालतमा रिट दायर



नन्दराम जैशी । सुर्खेत ।

दैलेखमा मान्छेको ज्यान लिनेगरी बँदेलको आतंक बढेपछि स्थानीयले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका छन् । बँदेलले आतंक सिर्जना गरेको ठाउँलाई विपद् संकट क्षेत्र घोषणा गरेर मृत्यु भएकाहरूका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उचापर खर्च उपलब्ध गराउनुपर्ने माग राख्दै उच्च अदालतमा रिट दायर भएको हो । अधिवक्ताहरू उपेन्द्रकुमार रावत, नमराज योगी, लोकप्रसाद गौतम र स्थानीय नमनकुमार शाहीले रिट दायर गरेका हुन् । उनीहरूले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, वन, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन दैलेखदेखि सम्बन्धित स्थानीय तह गरी २५ वटा निकायविरुद्ध रिट दायर गरेका छन् ।

रिटमा दैलेखका दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाटिकाँध गाउँपालिका, आठबीस नगरपालिका, महाबु गाउँपालिका लगायतका सयौँ गाउँबस्तीमा विगत १० वर्षदेखि बँदेलले बालीनाली नष्ट गरेर हजारौँ किसानहरूलाई दुःख हैरानी दिएको उल्लेख छ । पछिल्लो समय बँदेल दिनदहाडै मानव बस्तीमा प्रवेश गरी मान्छेको ज्यानसमेत लिन थालेका छन् । विगत लामो समयदेखि यस क्षेत्रमा जंगली बँदेलले मानिसहरूलाई आक्रमण गर्ने गरेको स्थानीय नमनकुमार शाहीले बताए । बँदेलको आक्रमणबाट स्थानीय मानिसहरू गम्भीर घाइते हुनुका साथै मृत्युसमेत भएको भन्दै स्थानीयवासी डर, त्रासका बीच खेतीपाती गरिरहेको उनको भनाइ छ ।

खेतीबालीसमेत क्षति हुँदा खाद्य संकट निम्तिनुका साथै, बँदेलको आतंकका बस्तीहरू नै असुरक्षित छन् । ‘विषेश तथा सार्वजनिक प्रकृतिको भई यसको संवेदनशिलतालाई मध्यनजरसमेत नगरी तीनै तहका सरकार आफ्नो दायित्वमा उदासीन छन्,’ रिटमा भनिएको छ, ‘अब तीनै तहका सरकार र राज्यका अन्य जिम्मेवार निकायहरूको लापरबाही, ढिलासुस्ती र निर्णय लिनमा ढिलाइ गर्नुहुँदैन । दिनप्रतिदिन जनताको जीउधनको सुरक्षा र संरक्षणमा गम्भीर असर परेको छ ।’

कानुनी प्रावधान तथा स्थानीय जनताको वस्तुस्थितिको आधारमा जनताको मौलिक हकको सुनिश्चितताको लागि न्याय प्रशासन ऐन, २०७३ को दफा ८(१) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४१ को उपनियम (१)बमोजिम विपक्षी निकायहरूका नाममा परमादेश लगायतको उपयुक्त आज्ञा आदेशको माग गरिएको छ ।

यस्तै पश्चिम दैलेखका जनताले लामो समयदेखि बँदेल आतंक भोग्दै आएको हुँदा स्थानीय तहमार्फत सर्वसाधारण किसानहरूको बालीनालीमा पुगेको हानिनोक्सानीको लगत संकलन गर्नुपर्ने कुरा पनि रिटमा उठाइएको छ । साथै किसानहरूलाई उचित राहत तथा क्षतिपूर्ति दिनु-दिन लगाउनुपर्ने र बँदेल आतंक समस्याको अल्पकालीन र दीर्घकालीन समाधानका उपायहरू अवलम्बन गर्न सरकारी निकायका नाममा उपयुक्त आज्ञा आदेश जारी गर्नुपर्ने माग गरिएको छ ।

बँदेलको आक्रमणका कारण माघ १२ गते भैरवी गाउँपालिका–६ कुर्माकोटमा जंगलमा बाख्रा चराउन गएका ७७ वर्षीय प्रदीप सिंहको मृत्यु भएको थियो । यस्तै सोही बँदेलको आक्रमणबाट स्थानीय ४० वर्षीय दीपक सिजाली र १८ वर्षीय मिकेश सिजालीसमेत घाइते भएका थिए ।

यस्तै माघ २० गते आठबिस नगरपालिका–८ स्थित उकाली मोडमा तिलेपाटा जानेक्रममा ३० वर्षीय दीपेन्द्र वडुवाललाई पनि बँदेलकै आक्रमणबाट गम्भीर घाइते भएको अवस्थामा हेलिकप्टरबाट उद्धार गरेर उपचार भइरहेको छ । पुनः माघ २४ गते गते भैरवी गाउँपालिका–५ बैटाकुरास्थित आफ्नै बारीमा काम गरिरहेका ५० वर्षीय पदमबहादुर विष्टको बँदेलको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको रिटमा उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार