शेरबहादुर ऐर । कैलाली ।
सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो र भरोसायोग्य मानिँदै आएको सेती प्रादेशिक अस्पताल पछिल्लो समय सेवा प्रवाहभन्दा बढी विवाद, अव्यवस्था र चिकित्सकीय लापरवाहीका कारण चर्चामा छ । पुस २३ गते गोदावरी नगरपालिका–८ की ३३ वर्षीया राधिका नेपालीको सुत्केरी अवस्थामा भएको मृत्युले अस्पतालको उपचार प्रणाली, चिकित्सकहरूको जिम्मेवारीबोध र प्रशासनिक नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
सामान्य अवस्थामा अस्पताल पुगेकी एक महिलाले स्वस्थ शिशु जन्म दिएपछि पनि केही घण्टाभित्रै ज्यान गुमाउनु कुनै सामान्य घटना होइन । अस्पताल प्रशासनले मृत्युको कारण ‘अत्यधिक रक्तश्राव’ भएको बताए पनि घटनाक्रम, चिकित्सकीय निर्णय प्रक्रिया र परिवारको भनाइले गम्भीर लापरवाही र पूर्वतयारीको अभावलाई संकेत गर्दछ । परिवारका अनुसार राधिका नेपालीलाई पुस २३ गते बिहान करिब ८ बजे अस्पतालमा भर्ना भएकी थिइन् ।
अस्पताल भर्ना हुँदासम्म उनको स्वास्थ्य अवस्था जटिलनै थियो । दिउँसो १२ बजेतिर चिकित्सकहरूले शल्यक्रियाबाट सुत्केरी गराउने निर्णय गर्दै उनलाई अप्रेशन थिएटरमा लगे । दिउँसो करिब १ बजे उनले एक स्वस्थ छोरीलाई जन्म दिइन् । परिवारले सो क्षणलाई राहतको रूपमा लिएको थियो । तर, त्यही क्षणपछि महिलाले ज्यान गुमाउनुपरेको थियो । शल्यक्रियापछि सामान्यतया वार्डमा सारिनुपर्ने राधिकालाई ‘रगत बगिरहेको’ भन्दै अप्रेशन थिएटरमै राखियो ।
परिवारलाई पूर्ण जानकारी नदिई उपचार अगाडि बढाइयो । बेलुकी करिब ७ बजे अस्पतालले उनलाई मृत घोषणा ग¥यो । अस्पताल पुगेको १२ घण्टाभित्रै एक स्वस्थ महिलाको मृत्युले परिवार मात्र होइन, सिंगो समुदायलाई स्तब्ध बनायो । मृतकका बुवा तुलाराम नेपाली भन्छन्, ‘यदि अवस्था जटिल छ, ज्यान जाने खतरा छ भनेर समयमै भनिएको भए हामी काठमाडौँ वा अन्यत्र लैजान्थ्यौँ । तर डाक्टरहरूले ‘सबै ठीक हुन्छ’ भनेर ढाढस मात्र दिइरहे ।’
सेती प्रादेशिक अस्पतालको प्रसूति तथा स्त्रीरोग महाशाखाको नेतृत्व डाक्टर खगेन्द्र भट्टले गरिरहेका छन् । अस्पतालको संरचनाअनुसार उच्च जोखिमयुक्त र जटिल सुत्केरी उपचारहरूमा महाशाखा प्रमुख वा वरिष्ठ कन्सल्टेन्टको प्रत्यक्ष निगरानी अनिवार्य मानिन्छ । तर, राधिका नेपालीको केसमा डाक्टर भट्टको प्रत्यक्ष उपस्थिति देखिएन । प्राप्त जानकारी अनुसार शल्यक्रिया कनिष्ठ चिकित्सक डाक्टर सृष्टी जोशी कार्कीको नेतृत्वमा गरिएको थियो । महाशाखा प्रमुखले आफू उक्त अप्रेशनमा संलग्न नरहेको स्वीकार गरेका छन् ।
वरिष्ठ चिकित्सकहरू प्रशासनिक काम वा निजी क्लिनिकमा व्यस्त रहने र सरकारी अस्पतालका जटिल उपचारहरू कनिष्ठको भरमा छाड्ने प्रवृत्तिका कारण यस्ता घटनाहरू दोहोरिरहेका छन् । नेतृत्व तहबाटै जिम्मेवारी नलिँदा अस्पताल प्रणाली कमजोर बन्दै गएको स्थानीयहरूको आरोप छ । राधिका नेपाली गर्भावस्थाभरि नियमित स्वास्थ्य परीक्षण गराउँदै आएकी थिइन् ।
परिवारका अनुसार उनले विभिन्न निजी प्रयोगशाला र अस्पतालमा गरी कम्तीमा पाँचपटक परीक्षण गराएकी थिइन् । ती सबै रिपोर्टहरूमा उनको उपचार समयमै नभए अवस्था ‘उच्च जोखिम’मा रहेको उल्लेख थियो । एक निजी प्रयोगशालाको रिपोर्टमा ३८ हप्ताभित्रै प्रसूति गराउनुपर्ने सुझाव समेत दिइएको थियो । यस्तो अवस्थामा चिकित्सकहरूले थप सतर्कता अपनाउँदै विशेषज्ञ टोली, पर्याप्त रगतको व्यवस्था र आकस्मिक व्यवस्थापनको तयारी गर्नुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य संगठनको ‘क्लिनिकल गोभरनेन्स’ मापदण्डअनुसार उच्च जोखिम भएका सुत्केरीहरूको उपचार वरिष्ठ कन्सल्टेन्टको प्रत्यक्ष निगरानीमा हुनुपर्छ । साथै, रगतको व्यवस्था अनिवार्य रूपमा सुनिश्चित गरिनुपर्छ । तर, राधिकाको केसमा यी मापदण्ड पालना भएको देखिँदैन । घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले निजी प्रयोगशालाको रिपोर्टका कारण चिकित्सकहरू ‘भ्रममा परेको’ तर्क अघि सारेको छ । तर, यो तर्कले उल्टै अस्पतालको लापरवाही उजागर गर्छ ।
यदि सरकारी अस्पतालका चिकित्सकलाई निजी प्रयोगशालाको रिपोर्टमा विश्वास थिएन भने शल्यक्रियाअघि अस्पतालकै प्रयोगशालामा पुनः परीक्षण किन गरिएन ? यदि रिपोर्टले जोखिम देखाएको थियो भने सोही अनुसारको वरिष्ठ विशेषज्ञ टोली किन परिचालन गरिएन ? पीडित पक्षको ठहर छ– यो अस्पताल प्रशासनले आफ्नै चिकित्सकीय त्रुटि ढाकछोप गर्न खोजेको प्राविधिक बहाना मात्र हो ।
चिकित्सकको लापरवाहीको आरोपसहित पीडित परिवारले तीन दिनसम्म शव बुझ्न मानेनन् । अस्पताल परिसर तनावग्रस्त बन्यो । जिल्ला प्रशासन कार्यालयमा पटक–पटक छलफल भयो । अन्ततः नवजात शिशुको पालनपोषण र शिक्षाका लागि आर्थिक सहयोग गर्ने सहमतिपछि मात्र परिवार शव बुझ्न तयार भयो । तर, परिवार भन्छ– ‘आर्थिक सहयोग न्याय होइन ।’
मृतककी भाउजु मिना नेपालीको प्रश्न गम्भीर छ,– ‘हाम्रो मान्छे उपचारका लागि अस्पताल गएको हो, मर्न होइन । डाक्टरको लापरवाहीले बच्चा टुहुरो बन्यो, यसको जिम्मेवारी कसले लिने ?’ यस घटनाबारे सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेयको प्रतिक्रिया पनि सन्तोषजनक देखिँदैन । उनले औपचारिक उजुरी नआएको भन्दै जिम्मेवारी पन्छाउन खोजेका छन् ।
उनले भने, ‘हामी बुझ्दैछौँ, विस्तृत जानकारीका लागि महाशाखा प्रमुखसँग सोध्नुपर्छ ।’ अस्पतालको माथिल्लो तहले एक–अर्कालाई देखाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले सुदूरपश्चिमको सरकारी स्वास्थ्य प्रणाली कति कमजोर छ भन्ने स्पष्ट देखिन्छ । राधिका नेपालीको मृत्यु कुनै संयोग होइन । यो सरकारी अस्पतालभित्र मौलाउँदै गएको गैरजिम्मेवारीपन, कमजोर नेतृत्व र फितलो अनुगमनको परिणाम हो ।
यदि यस प्रकरणमा निष्पक्ष छानबिन हुँदैन भने यस्ता घटनाहरू दोहोरिइरहने छन् । उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गरी दोषी चिकित्सक र जिम्मेवार निकायमाथि मेडिकल काउन्सिलको नियमअनुसार कारबाही हुनुपर्छ । अन्यथा, ‘गरिब र असहायका लागि अस्पताल उपचार होइन, मृत्युको प्रतीक हो’ भन्ने जनविश्वास अझ गहिरिँदै जानेछ । अब प्रश्न प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयतर्फ सोझिएको छ– के यो घटनाको सत्यतथ्य छानबिन हुनेछ ? कि विगतझैँ आर्थिक सम्झौतामा सीमित भएर यो फाइल पनि बन्द हुनेछ ?









प्रतिक्रिया दिनुहोस्