जीवन ज्योतिमा विज्ञान तथा हस्तकला प्रदर्शनी (फोटोफिचर)



कोहलपुर ।

हरियाली र सुन्दर वातावरण । चारैतिर अभिभावकहरूको बाक्लो घुइँचो । अधिकांश अभिभावकको मुहारमा खुसी र उत्साह । यो दृश्य शनिबार कोहलपुर नगरपालिका–१० रामनगरस्थित जीवन ज्योति माध्यमिक विद्यालयको हो । विद्यालयको वातावरण शनिबार अन्य दिनहरू भन्दा फरक थियो । त्यसको कारण थियो, विज्ञान तथा हस्तकला प्रदर्शनी । विद्यालयले आयोजना गरेको विज्ञान तथा हस्तकाला प्रदर्शनीले म्युजियमको झल्को दिइरहेको थियो ।

विद्यार्थीहरूले प्रदर्शनीमा राखेका कलात्मक तथा विज्ञान प्रदर्शनीले सबैको मन लोभ्याएको कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रबिलाल मिजारले बताए । विद्यालयले गरेको विज्ञान तथा हस्तकला प्रदर्शनीले बालबालिकाको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनी बताउँछन् ।

‘कक्षाकोठामा के पढाइ हुन्छ भन्ने कुरा विद्यार्थीहरूले व्यवाहारिक रूपमा यहाँ प्रदर्शन गर्नु भएको छ,’ उनले भने, ‘प्रदर्शनी अवलोकन गर्दा स–साना बालबालिकाहरूको राम्रो मनछुने प्रतिभा हेर्न पाउँदा खुसी लाग्यो ।’ यसले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत मद्दत पुग्ने उनी बताउँछन् ।

विद्यालयले गरेको विज्ञान तथा हस्तकला प्रदर्शनीले विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनुका साथै आत्मविश्वास बढ्ने लुम्बिनी प्रदेश सांसद कृष्णा केसी ‐नमुना)ले बताइन् । प्रविधिको विकास सँगसँगै विद्यार्थीहरूले प्रविधिको प्रयोग गरेर निर्माण गरेका रोवट, डोजर र ड्रोनले विद्यार्थीहरूको चौतर्फी विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।

विद्यालयमा विद्यार्थीहरूले गरेका कलात्मक तथा विज्ञान प्रर्दशनीले मन लोभ्याएको अभिभावक ऋषिराज कोइरालले बताए । विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै बालबालिकाहरूलाई व्यवाहारिक शिक्षा प्रदान गरेको भन्दै उनले खुसी व्यक्त गरे । विद्यालयको शैक्षिक क्यालेण्डरअनुसार विज्ञान तथा हस्तकला प्रदर्शनी गरिएको जीवन ज्योति माविका प्रबन्धक निर्देशक जोमन जेम्सले जानकारी दिए । उनले यस वर्ष विगतको भन्दा भिन्न तरिकाले विद्यालयले विज्ञान तथा हस्तकला प्रदर्शनी गरेको बताए ।

विद्यार्थीहरूको अन्तरनिहीत क्षमता प्रस्फुटन गर्नुका साथै व्यावहारिक सीपको विकास हुने विश्वास लिइएको बताए । विद्यार्थीहरूले पाठ्यक्रममा अध्ययन गरेका कुरालाई व्यावहारिक रूपमा विज्ञान तथा हस्तकला प्रदर्शनी गरेको उनको भनाइ थियो । कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीहरूले विज्ञान तथा हस्तकला प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा कोहलपुरका अन्य विद्यालयका विद्यार्थीहरू समेत अवलोकन गर्न पुगेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार