सडकमा सुरक्षाकर्मीको भूमिका शंकास्पद : ओभरलोड बोकेर निर्धक्क आवतजावत



नन्दराम जैशी,सुर्खेत
शनिबार बिहान वीरेन्द्रनगरको एयरपोर्ट चोक नजिकबाट क्षमताभन्दा बढी इँटा तथा निर्माण सामग्री बोकेका दुई टिप्परलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही ग¥यो । किसान इटासँगै अन्य निर्माण सामाग्री बोकेको भे१क १९१३ र अर्को एक टिप्पर बाँकेको नेपालगन्जबाट कोहलपुर हुँदै सुर्खेत भित्रिएका थिए ।ट्राफिक प्रहरीलाई छलेर रातारात ट्राफिक नियम उल्लंघन गर्दै ती मालवाहक सवारीसाधन एकाबिहानै सुर्खेत पुगेका हुन् । तर नेपालगन्जदेखि सुर्खेत उपत्यका प्रवेशस्थल सुब्बाकुनासम्मका कुनै पनि प्रहरी चेकपोष्टमा न ती सवारी साधन रोकिए, न त प्रहरीले नै रोक्यो । अन्ततः उच्च भारवाहनसहित वीरेन्द्रनगर पुगेका ती टिप्परलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

यो एक प्रतिनिधिमूलक घटना मात्रै हो, तर ती मालवाहक गाडी जसरी नेपालगन्जबाट सुर्खेत भित्रिए त्यसरी नै हरेक दिन उच्च भारवाहनका मालवाहक गाडी सुर्खेत भित्रिन्छन् । तर रातारात भित्रिएका अधिकांश गाडीबारे प्रहरी नै बेखबर हुन बाध्य छ । यसरी ट्राफिक प्रहरीलाई छलेर सुर्खेत भित्रिने उच्च भारवाहनका गाडी कि त दुर्घटनामा परेपछि थाहा हुन्छ, कि कारबाहीमा परेपछि मात्रै ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको पाँच महिनाभित्र अर्थात् मंसिरसम्म मात्रै उच्च भारवाहनका ७३१ वटा गाडी कारबाहीमा परिसकेका छन् । जसमा २२४ वटा निर्माण सामाग्री बोकेका मालवाहक कारबाहीमा परेका छन् भने अन्य क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधन रहेका छन् ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार शनिबार कारबाही परेका टिप्पर ट्राफिक नियम उल्लघंन गरी रातारात भागेका कारण अन्य चेकपोष्टले नियन्त्रणमा लिन नसकेका हुन् । उच्च भारवाहनका मालवाहक गाडीका कारण जोखिम नहोस् भनेर पछिल्लो समय चेकजाँचमा कडाइ गरिएको उनले बताए । ‘प्रहरीलाई छलेर रातारात भाग्न खोज्ने उच्च भारवाहनका मालवाहक गाडीलाई नियन्त्रणमा लिई कारबाही गर्न ट्राफिक प्रहरी लागि परेको छ,’ उनले भने, ‘यसरी ट्राफिक नियम उल्लघंन गर्ने जो सुकै सवारी एक ठाउँबाट भागेपछि अर्को चेकपोष्टमा कारबाहीमा परेरै छाड्छ । ट्राफिक प्रहरीको सक्रियताकै कारण कारबाहीको सङ्ख्या बढिरहेको छ ।’
केहि समययता प्रहरी चेकपोष्टमा इन्ट्री हुन छाडेपछि रातारात भाग्ने सवारीसाधनबारे जानकारी नहुने सुब्बाकुना प्रहरी चेकपोष्टले जनाएको छ । त्यहाँका प्रहरी हवल्दार भिमबहादुर बुढाले चेकपोष्टमा इन्ट्री अनिवार्य गरिए मात्रै ट्राफिक नियम उल्लघंन गरी रातारात भाग्ने सवारीसाधनबारे जानकारी हुने उनको भनाइ छ ।‘कतिपय अवस्थामा हामी बसिरहेकै बेला सवारीसाधन स्पिडमा आएर भाग्छन् । सडकको बीचमा नगएसम्म कुनै पनि सवारी रोकिँदैनन्,’ उनले भने, ‘रातारात भाग्ने सवारीबारे हामी नै बेखबर बन्न बाध्य छौँ । यदी कुनै शंकास्पद सवारी लागेको र सूचना आएको खण्डमा पिछा गर्ने र अन्य चेकपोष्टमा सूचना दिने काम हुन्छ ।’
धमाधम कारबाही गरिँदै
पछिल्लो समय सुर्खेत ट्राफिक प्रहरीले उच्च भारवाहनका गाडीलाई नियन्त्रणमा लिँदै धमाधम कारबाही गर्दै आएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा कारबाही गरिएका उच्च भारवाहनका ७३१ वटा गाडीबाट ६ लाख ३८ हजार ५०० राजस्वसमेत संकलन भएको छ । जसमा उच्च भारवाहनका २२४ मालवाहक गाडीमध्ये बबई चेकपोष्टले ट्रक, मिनि ट्रक र टिप्पर गरी १९ वटा मालवाहक गाडीलाई कारबाही गरेको छ । यस्तै बांगेसिमल चेकपोष्टले ट्रक, मिनि ट्रक र टिप्पर गरी ४३, बोटेचौर चेकपोष्टले ८, बडपिपल चेकपोष्टले ६, छिन्चु चेकपोष्टले २०, जहरे चेकपोष्टले १३ र लेकवेशी चेकपोष्टले ५ वटा ट्रक, मिनि ट्रक र टिप्परलाई कारबाही गरेको छ । यस्तै मेहलकुना चेकपोष्टले २, बाबियाचौर चेकपोष्टले ३, गोठिकाँडा चेकपोष्टले २, बड्डिचौरले २५, सुब्बाकुना चेकपोष्टले ३७ र जिल्ला ट्राफिक प्रहरी कार्यालयले ५९ वटा ट्रक, मिनि ट्रक र टिप्परलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।
हुँदैन कानुन कार्यान्वयन 
पछिल्लो समय मालवाहक गाडीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले तोकेको सवारीको वजनको हदसम्बन्धी कानुन कार्यान्वयनमा हटेर गरेको पाइएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० (ङ) अनुसार सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा निर्धारित वजनभन्दा बढी वजनको सवारी चलाएको पाइएमा नियन्त्रणमा लिइ कारबाही गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्न सक्ने उल्लेख छ । यस ऐनमा भनिएको छ, ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कसुर पहिलो पटक गर्नेलाई पाँच सय, दोस्रो पटक गर्नेलाई एक हजार र तेस्रो पटक वा सोभन्दा बढी पटक गर्नेलाई एक हजार पाँच सय रूपैयाँको जरिवाना यातायात निरीक्षक वा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले तत्काल गर्न सक्नेछ ।’

मालवाहक सवारीसाधनको भारवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ ले पनि मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा तत्काल कारबाही गर्नुपर्ने जनाएको छ । सोही अनुसार मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्डबमोजिम भार ओसारपसार गर्नुपर्ने भए पनि पछिल्लो समय त्यसको विपरीत हुने गरेको छ ।
बढी भार बोकेका सवारीसाधनको सामान व्यवस्थापनबारे कानुनी व्यवस्था गरिए पनि सवारीधनी र चालकहरूले कार्यान्वयन नगरेको पाइन्छ । तोकिएको भारवहन क्षमताभन्दा बढी भार बोकी आएका मालवाहक सवारीसाधनले प्रचलित कानुन अनुसारको जरिवाना गर्नुका साथै बढी भएको सामान झारी सवारीधनीले त्यस्तो सामान भण्डारणको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । यस्तै भार छुट्टयाउन नसकिने÷नमिल्ने सामानको कूल वजन तोकिएको भन्दा बढी भई ढुवानी गर्नु परेको अवस्थामा नजिकको यातायात व्यवस्था कार्यालयबाट पूर्वस्वीकृति लिएर मात्र ढुवानी गर्नुपर्ने व्यवस्था छ । यदी पूर्वस्वीकृति दिँदा तोकिए अनुसारको शुल्क असुलउपर गर्नुपर्ने उल्लेख छ । तर यसको कार्यान्वयन पाटो भने निकै फितलो छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार