प्रहरी र स्थानीयबीचको विवादले खदाङमा तनाव



विवादले उग्ररुप लिएपछि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा रहेको इलाका प्रहरी कार्यालय खदाङमा स्थानीयले शनिबार अपरान्ह्र तोडफोड गर्दै प्रहरीमाथि आक्रमण गरेका हुन् ।

बाँके ।

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङ प्रहरी र स्थानीयबीचको विवादले तनावग्रस्त बनेको छ ।शनिबार अपराâ इलाका प्रहरी कार्यालय खदाङ र सोही वडामा पर्ने ल्हाँ गाउँका स्थानीयबीच भएको विवादले उग्ररूप लिएपछि तनाव सिर्जना भएको थियो । विवादले उग्ररूप लिएपछि ल्हाँका स्थानीयले चौकी तोडफोड गर्दै त्यहाँ रहेका प्रहरीमाथि आक्रमण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काका अनुसार ल्हाँ गाउँका अन्दाजी ३४ वर्षीय स्थानीय युवा जुन रोकायालाई चौकी नजिकैको छेप्के पुलमा प्रहरीले लागूऔषधको ओसारपसारमा संलग्न रहेको आशंकामा चेकजाँच गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो । उनका अनुसार प्रहरीले चेकजाँच गर्न नपाउँदै रोकाया आत्तिएर शुक्रबार साँझ ठूलो भेरी नदीमा हाम फालेर बेपत्ता भएका थिए ।

दुई दिनदेखि जारी स्थानीय र प्रहरीबीचको विवाद साम्य नभएपछि शनिबार अपराâ स्थानीय आक्रोशित भएर प्रहरी चौकी नै तोडफोड गर्दै त्यहाँ रहेका प्रहरीमाथि आक्रमण गरेका थिए । स्थानीयको आक्रमणबाट चौकीमा खटिएका दशजना प्रहरीमध्ये तीनजना घाइते भएको डीएसपी खड्काले जानकारी दिए । लागूऔषध कारोबार हुँदैछ भन्ने सूचना प्रहरीले एक साताअघि नै पाएपछि दुई÷तीन दिनदेखि प्रहरीलाई सादा पोसाकमा खदाङमा खटाइएको थियो ।

‘बेपत्ता युवाले एक ट्रक ड्राइभरलाई ब्राउनसुगर बुझाउँदै छन् भन्ने सूचना थियो । सो सूचनाका आधारमा प्रहरीले चौकीभन्दा टाढा नै चेकजाँच सुरु गरेको थियो । तर, प्रहरीले उनलाई चेकजाँच गर्न नपाउँदै आत्तिएर भेरीमा हाम फालेका हुन्,’ डीएसपी खड्काले भने । तनावग्रस्त बनेको खदाङमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभिन्न युनिटबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरी चौकी पूरै तोडफोड भइसकेको डीएसपी खड्काले बताए । उनले भागेका युवा रोकाया खोलामा खसेको वा बगेको कसैले नदेखेको र अहिलेसम्म शव पनि फेला नपरेको बताएका छन् । उनले भने, ‘यदि त्यस्तो घटना भएको रहेछ भने पनि हामी गहिराइमा अनुसन्धान गर्छौँ र दोषी पत्ता लागे कारबाही गर्छौँ ।’

यद्यपि सोही आवेगमा आएर प्रहरी चौकीमाथि नै आक्रमण भई प्रहरी बेपत्ता हुनु दुखद भएको उनी बताउँछन् । घाइते भएका प्रहरीलाई उपचारका लागि जिल्लातर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । तनावग्रस्त बनेको खदाङ जिल्ला प्रहरी कार्यालय डोल्पाबाट करिब ३० किलोमिटर पश्चिममा पर्दछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार