रास्कोटमा शिक्षा सुधार अभियान



कालीकोट ।

रास्कोट नगरपालिकाले शैक्षिक गुणस्तर सुधारमा फड्को मार्दै गएको छ । नगरपालिकाभित्रका सबै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि रणनीतिक योजना बनाएर शिक्षा सुधार अभियान चलाइएको हो । रास्कोट नगरपालिकाका चार वटा माध्यमिक विद्यालय र छ वटा अधारभूत विद्यालयलाई अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न रास्कोट नगरपालिकाले नीतिगत निर्णय गरेर अभियान थालेको हो । नगरपालिकाले नगर शिक्षा ऐन, स्थानीय पाठ्यक्रम निर्माण, शिक्षक काज सरुवासम्बन्धी कार्यविधि र प्रध्यानाध्यापक व्यवस्थापन कार्यविधि लागू गरेको छ । यस्तै कक्षागत शिक्षक व्यवस्थापनको लागी विद्यालय गाभ्ने, विद्यालय नर्स, विद्यालय सुरक्षा गार्ड र कक्षा १ देखि ५ सम्मका विद्यालयमा अंगे्रजी माध्यमद्वारा पठनपाठन जस्ता नीतिगत निर्णय गरी शिक्षा सुधारको अभियान थालिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको कमजोर अवस्थालाई बलियो बनाउन पहिला नीतिगत निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख खेमराज शाहीले बताए । उनका अनुसार पछिल्लो समय निजी शैक्षिक संस्थाहरुमा विद्यार्थी भर्ना हुने र सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुने देखिएकाले नगरपालिकाले यस्ता नीतिगत निर्णय गरेर कार्यान्वयनमा ल्याएको हो ।

उनले भने, ‘नगरपालिकाले गरेका नीतिगत निर्णय कार्यान्वयन भइरहेका छन् । गत वर्षभन्दा यो वर्षदेखि रास्कोटका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना सङ्ख्या दोब्बरले वृद्धि भएको छ ।’ हाल नगरका चार वटा माविहरुमा एसईई तयारीका लागी आवसीय कक्षा सञ्चालन भइरहेका छन् । एक विद्यालयलाई दुई लाखका दरले चारवटा विद्यालयलाई आठ लाख बजेट छुट्याएर आवासीय कक्षा सञ्चालन गरिएको हो । मंसिरदेखि फागुन महिनासम्म विद्यालयमै खाना बस्न र तयारी कक्षा सञ्चालन हुनेछन् ।

हाल चारवटै विद्यालयमा जम्मा ३०९ जना विद्यार्थी आवासीय कक्षामा भर्ना भएका छन् । शिक्षा सुधारका लागि नगरबाट चार करोड बजेटसमेत विनियोजन भएको छ । यो बजेटले शिक्षकलाई आवश्यक तालिम, अभिभावक शिक्षा, परीक्षा प्रणाली हेरफेर जस्ता कार्यक्रम गरिने शिक्षा शाखा प्रमुख शाहीले जानकारी दिए ।

नगरप्रमुख धर्मराज शाहीले हप्तामा एक पटक शिक्षा शाखा र नगरपालिकाको टोलीले विद्यालय अनुगमन गर्ने गरेको बताए । कक्षा कोठामा शिक्षक समयमा जान्छ कि जाँदैन ? विद्यार्थी समयमा स्कुलमा पुग्छन् कि पुग्दैनन् ? भन्ने जस्ता विषयमा निगरानी गर्ने गरिएको उनको भनाइ छ । पठनपाठनमा राम्रो र कडाइ गर्दा परीक्षामा चिट चोर्ने व्यथा अन्त्य हुने उनले बताए । आगामी परीक्षामा कक्षा ८ को नतिजा राम्रो ल्याउन हाल नगरका विद्यालयमा अभ्यास तयारी परीक्षा थालिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार