
नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकामा पानीको हाहाकार हटााउन दोस्रो चरणको काम अघि बढेको छ । उपत्यकामा सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो चरणको काम अगाडि बढेको हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद विधिबाट बोलपत्र आह्वान गरेर दोस्रो चरणको काम सुरु गरिएको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर एकाइ कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्याकेज–२ तथा दोस्रो चरणका लागि ग्लोबल बोलपत्र खुलाएसँगै कामले तीव्रता पाएको हो । आयोजना प्रमुख सञ्जीवकुमार शाहका अनुसार २०८१ भदौ १३ गते एकाइ कार्यालय सुर्खेतले पहिलो चरणको कामका लागि चिनियाँ सिञ्ज्याङ टम्र्स इन्टरनेसनल इकोनोमी एण्ड टेक्निकल कोअपरेसन कम्पनीसँग सम्झौता गरेको थियो । तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग तीन अर्ब ५० करोड आठ लाखको लागतमा सम्झौता भई काम अघि बढेको उनले बताए ।
‘नेपाल सरकारले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत कार्यान्वयन गरिरहेको यो आयोजनाले वीरेन्द्रनगरका पाँच लाख स्थानीयलाई खानेपानीको सुविधा पु¥याउने लक्ष्य लिएको छ’ उनले भने, ‘प्याकेज–२ मा ८०० किलोमिटर लम्बाइको पानी वितरण गर्ने लाइन निर्माण हुनेछ ।’ उनका अनुसार झुर्पामा खानेपानी शुद्धीकरण प्रणालीको स्तरोन्नति, झुप्रा, खरिखोल, बोरिखोला तथा इत्रामस्थित इन्टेकको स्तरोन्नति, झुप्रा, खरिखोला–बोरिखोला र इत्रामबाट ट्रान्समिसन जडान गर्न बोलपत्र आह्वान भएको छ ।
इत्राम क्षेत्रमा एक हजार ५०० घनमिटर क्षमताको ट्याङ्की निर्माण र स्वाचालित डाटा संकलन प्रणाली जडानका काम दोस्रो चरणमा हुनेछन् । पहिलो चरणको काम अन्तर्गत धमाधम संरचना निर्माण भइरहेका छन् । परियोजनाअन्तर्गत रूख कटान कार्य सकिएको छ । तीव्र पारिएको छ। आयोजना इकाईका प्रमुख साह का अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं. ८, ११ र १२ तथा लेकवेशी नगरपालिका वडा नं. १० मा पर्ने ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग अनुमति प्राप्त भएपछि आयोजनाले रूख कटानको काम अघि बढाएको हो ।
आयोजनाले कूल एक हजार पाँच सय रूख कटानको अनुमति पाएको उनले बताए । आयोजनाअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ अमृतडाँडामा पनि पूर्वाधार निर्माणका काम थालिएको छ । पर्खाल निर्माणको काम सुरु गरिएको छ । अबको केही दिनमा अन्य काम पनि सुरु गरिने खानेपानी क्षेत्र पूर्वाधार सहयोग आयोजनाले जनाएको छ । अमृतडाँडामा तीनवटा पानी प्रशोधन केन्द्र निर्माण गरिनेछ ।
त्यहाँ ९० लाख लिटरको पानी प्रशोधन केन्द्र निर्माण गरिने उल्लेख छ । भेरीको पानी अमृतडाँडामा खसालिनेछ । अमृतडाँडामा इन्टेक निर्माणको काम हुनेछ । तर केही काम अघि बढेपनि आयोजना निर्माणको कामले अपेक्षित गति लिन भने सकेको छैन । आयोजना निर्माण प्रक्रिया थालिएदेखि हालसम्म १३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । तर तोकिएकै लक्ष्यमा काम गर्नेगरी अघि बढेको आयोजनाले जनाएको छ । अहिले वीरेन्द्रनगर नगरपालिकाको प्रत्यक्ष निगरानीमा आयोजना निर्माणको काम भइरहेको छ ।
यस आयोजना र नगरपालिकाको संयुक्त समन्वयनमा काम भइरहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् ।वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’को रूपमा अगाडि सारेको यो आयोजना निर्माण प्रक्रिया धमाधम भइरहको उनको भनाइ छ । उनका अनुसार यो आयोजना तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ । २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
तीन अर्ब पाँच करोडमा ठेक्का सम्झौता गरिएको हो । ग्लोबल टेण्डरमार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजन बन्न लागेको छ ।
आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ । हाल बिनाअवरोध विभिन्न काम भइरहेका छन् । यो आयोजना निर्माण भएको खण्डमा वीरेन्द्रनगरवासीले भोग्दै आएको खानेपानीको हाहाकार अन्त्य हुनेछ ।









प्रतिक्रिया दिनुहोस्