भारतमा बिनाकारण थुनामा धनगढीका सुमित



जीवन सामान्य गतिमा बगिरहेको थियो । न त कुनै अपराध, न त कुनै उजुरी । तर एक दिन अचानक, सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका सुमित चौधरीको जीवनले यस्तो मोड लियो, जसले आज उनको परिवारलाई पीडा, अनिश्चितता र आँसुमा डुबाएको छ ।

शेरबहादुर ऐर । कैलाली ।

जीवन सामान्य गतिमा बगिरहेको थियो । न त कुनै अपराध, न त कुनै उजुरी । तर एक दिन अचानक, सुदूरपश्चिमको धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका सुमित चौधरीको जीवनले यस्तो मोड लियो, जसले आज उनको परिवारलाई पीडा, अनिश्चितता र आँसुमा डुबाएको छ ।

भारतको चन्दनचौकी घर भई विगत २० वर्षभन्दा बढी समयदेखि धनगढीमा बस्दै आएका सुमित चौधरी गत वैशाख महिनामा भारतीय प्रहरीले बिनाकारण पक्राउ गरी थुनामा राखेको परिवारजनले बताएका छन् । वैशाख २३ गतेदेखि उनी कहाँ छन्, कस्तो अवस्थामा छन्– यसको कुनै जानकारी परिवारलाई दिइएको छैन । सुमितको गिरफ्तारीले केवल एक व्यक्तिलाई होइन, पूरै परिवारलाई मानसिक यातनामा पारेको छ ।

घटना सामान्य पारिवारिक भेटघाटबाट सुरु भएको थियो । सुमित आफ्ना छोरा महेश चौधरी र बाबु भगौटी चौधरीसँगै दिदीको घरमा नातिको पासनी कार्यक्रममा सहभागी हुन गएका थिए । खुसीको त्यो क्षण उनीहरूको जीवनकै सबैभन्दा दुःखद सम्झनामा परिणत हुने कसैले कल्पना पनि गरेको थिएन । भगौटी चौधरीका अनुसार बसले सुडा भन्ने स्थानमा छोडेपछि उनीहरू पैदल हिँड्दै थिए ।

त्यही बेला बाटोमै भारतीय वन विभागका कर्मचारीहरूले सुमितलाई नियन्त्रणमा लिए । ‘कुनै कारण सोध्न नपाउँदै छोरालाई समाते,’ भगौटी भन्छन्, ‘मार्ने धम्की दिए, जबर्जस्ती कागजमा हस्ताक्षर गराए, झुटा आरोप लगाएर सुमितलाई थुनामा राखिएको छ ।’ परिवारका अनुसार सुमितसँग कुनै अवैध सामान थिएन । माइतीघरबाट ल्याएको सामान्य तरकारी (भेण्डी)समेत वन कर्मचारीले खोसेको आरोप परिवारले लगाएको छ । त्यो दिनदेखि सुमित परिवारको सम्पर्कबाहिर छन् ।

सुमितकी श्रीमती डस्नी चौधरीको आँखामा आज पनि आँसु रोकिँदैन । ‘श्रीमान् दिदीको घर जानुभएको थियो,’ उनी भन्छिन्, ‘न कुनै मुद्दा, न कुनै गल्ती । तर आज कहाँ हुनुहुन्छ, जिउँदो हुनुहुन्छ कि छैन–हामीलाई थाहा छैन ।’ उनका अनुसार परिवारको भारतको पलिया क्षेत्रमा पहिला बसोबास भए पनि अहिले २० वर्षदेखि धनगढी नै घर बनेको छ । तर नागरिकताको अस्पष्टता र सीमापार आवतजावतले सुमित आज न्यायविहीन अवस्थामा पुगेको उनी बताउँछिन् ।

सबैभन्दा पीडादायी पक्ष भनेको सुमित कहाँ थुनिएका छन् भन्ने जानकारी नहुनु हो । न त परिवारलाई भेट्न दिइएको छ, न त आधिकारिक सूचना । हरेक बिहान आशा र हरेक रात डर लिएर बितिरहेको छ । सुमितका छोरा महेश अझै सानो छन् । बाबुको अनुहार सम्झिँदा उनी आमालाई सोध्छन्, ‘बाबा कहिले आउनुहुन्छ ?’ त्यो प्रश्नको जवाफ डस्नीसँग छैन । उनी केवल छोरालाई अँगालो हालेर रोइरहन्छिन् ।
यो घटना केवल सुमित चौधरीको मात्र कथा होइन । सीमावर्ती क्षेत्रमा बस्ने सयौँ नेपाली–भारतीय परिवारको साझा पीडा हो, जहाँ नागरिकता, अधिकार र सुरक्षाबीच मानिस हराइरहेका छन् । कानुनी प्रक्रियाबिनै हुने गिरफ्तारी, परिवारलाई जानकारी नदिनु र मानवीय व्यवहारको अभावले मानवअधिकारमाथि गम्भीर प्रश्न उठाएको छ ।

परिवारले जनप्रतिनिधिहरूलाई सो घटनाबारे जानकारी दिएपछि भारत पुगेका वडा अध्यक्ष राजबहादुर ऐरसहित परिवारलाई उनीसँग भेट नदिएको जनाइएको छ । ‘हामीलाई केवल सत्य चाहिएको हो,’ भगौटी चौधरी भन्छिन्, ‘छोरा जिउँदो छ कि छैन, कहाँ छ–यति थाहा भए पनि बाँच्ने आधार मिल्छ ।’ न्याय कहिले आउँछ थाहा छैन । तर धनगढीको एउटा सानो घरमा आज पनि सुमित चौधरीको प्रतिक्षामा दियो बलिरहेको छ–आशा छ, कुनै दिन सीमापारि हराएको न्याय फर्केर आउनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार