कैलाली ।
सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८२–०८३ को मंसिर महिनामा दुई सय ५५ वटा विभिन्न प्रकृतिका अपराध दर्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार अपराध नियन्त्रण, उजुरी व्यवस्थापन, हराएका व्यक्ति खोजी तथा लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय देखिएको छ ।
प्रहरीका अनुसार मंसिर महिनामा ज्यानसम्बन्धी ३०, आत्महत्या ३९, चोरी ३३, संगठित तथा आर्थिक अपराध ४५, सामाजिक अपराध ३६ तथा महिला तथा बालबालिकासम्बन्धी २५ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, सवारी ज्यानसम्बन्धी १६ र अन्य शीर्षकअन्तर्गत ४७ वटा मुद्दा दर्ता भएका हुन् । तथ्यांकले प्रदेशमा सामाजिक अपराधसँगै महिला तथा बालबालिकासम्बन्धी मुद्दा अझै चिन्ताको विषय बनेको देखाउँछ ।
मंसिर महिनामा ७४ वटा जघन्य तथा गम्भीर अपराध दर्ता भएका छन् । यसमा मानव बेचबिखन, वैदेशिक रोजगार ठगी, हातहतियार, जुवातास, मुद्रा सम्बन्धी अपराध तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकविरुद्धका मुद्दा समावेश छन् । वैदेशिक रोजगारका नाममा ठगीसम्बन्धी घटनाहरू उल्लेखनीय रहेको प्रहरीले जनाएको छ । प्रदेशभर चालू मुद्दाका दुई सय ८४ जना फरार प्रतिवादी रहेका छन् ।
तीमध्ये मंसिर महिनामा ५९ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । हालसम्म फरार अभियुक्तको कूल सङ्ख्या पाँच सय २४ पुगेको छ । प्रहरीका अनुसार केही अभियुक्तहरू १८ वर्षभन्दा बढी समयदेखि फरार छन्, जसले कानुन कार्यान्वयनमा चुनौती थपेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ २८ जना पीडित रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।
उमेर समूहअनुसार हेर्दा २५ देखि ४५ वर्ष उमेर समूहका पीडित सङ्ख्या सबैभन्दा बढी देखिएको छ । यसले घरेलु तथा सामाजिक हिंसाका घटनामा सक्रिय उमेर समूह बढी प्रभावित हुने गरेको संकेत गर्छ । मंसिर महिनामा महिला, बालक, बालिका तथा ज्येष्ठ नागरिक गरी ५५ जना हराएको उजुरी परेको थियो । प्रहरीको खोजतलासपछि ९० जनालाई फेला पार्न सफल भएको विवरणमा उल्लेख छ ।
विशेषगरी महिला र बालबालिका फेला पार्न प्रहरीको सक्रियताले सकारात्मक नतिजा दिएको प्रहरीको भनाइ छ । घरेलु हिंसासम्बन्धी ६० वटा उजुरी दर्ता भएकोमा ५४ वटा मुद्दा मेलमिलापमार्फत समाधान गरिएको छ भने ६ वटा मुद्दा अदालत पठाइएको छ । घरेलु विवादलाई कानुनी प्रक्रियासँगै सामाजिक सहकार्यबाट समाधान गर्ने नीति अपनाइएको प्रहरीको भनाइ छ । लागूऔषध नियन्त्रणतर्फ पनि प्रहरीको सक्रियता देखिएको छ । मंसिर महिनामा ६५ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् ।









प्रतिक्रिया दिनुहोस्