चिसोले धमाधम योजना निर्माण बन्द



हुम्ला ।

जिल्लामा अत्यधिक चिसोले धमाधम योजना निर्माण कार्य बन्द हुन थालेका छन् । हालसम्म उत्तरी हुम्लाका मात्रै ६ वटाभन्दा बढी योजनाको काम बन्द गरिएको छ । हिउँ नपरे पनि चिसो निकै बढेकाले सिमेन्टको काम नहुने भएपछि ती योजना चार महिनाका लागि बन्द गरिएको हो ।
जिल्लाका अन्य स्थानमा निर्माण भइरहेका तर सिमेन्टको प्रयोग गर्नुपर्ने सबै योजनाको निर्माण कार्य बन्द गर्नुपर्ने अवस्था आएको छ ।

चिसो माइनस डिग्री सेल्सियसमा झरेपछि कर्णाली करिडोरको च्याछरादेखि याल्वाङ गौडासम्मको सडकको सिमेन्टको काम बन्द गरिएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए । उनका अनुसार उक्त सडकमा सिमेन्टको काम गर्दा सेट हुन नसकेपछि तयार पारिएको मसलासमेत खेर गएकापछि हाललाई निर्माणको काम बन्द गरिएको होे । चिसोको कारण दुई वटा योजनामा सिमेन्टको काम बन्द गरिएको उनले जानकारी दिए । यसले गर्दा योजनाको काम गर्न ढिलाई हुने अनुमान छ ।

यता पूर्वाधार विकास कार्यालयद्वारा सञ्चालन गरिएको सिमकोट खार्पु (मानसरोवर कैलाश गेट वे) एकीकृत पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ६ वटा योजनामा सिमेन्टको काम बन्द गरिएको कार्यालय प्रमुख नरेशराज जैसीले बताए । तर संभव भएसम्म सिमेन्ट बाहेकका अन्य काम भने सुचारु गर्ने तयारी रहेको उनको भनाइ छ । यसरी बन्द गरिएका पुर्वाधार विकासका योजनामा बालमन्दिर मावि भवन, कालाशिल्ता मन्दिर (माडु) बिजय होटेलबाट मानसरोवर माविसम्मको सडक ढलान, विद्यु्त चोकबाट तल्लो गाउँ सडक ढलान, शिवमन्दिर निर्माण र तल्लो गाउँ सडक ढलानको सिमेन्टको काम बन्द गरिएको छ ।

उक्त कार्यक्रमका लागि निर्माण कम्पनीका प्रतिनिधि बिजय लामाले चिसोले काम नहुने भएपछि दुई वर्षमा सम्पन्न गर्नुपर्ने अधिकाँस योजनाको निर्माण कार्यमा ढिलाइ हुने बताए । यता सामाजिक विकास कार्यालयले ६६ वटा योजनाको निर्माण कार्य अगाडि बढाएपनि सिमेन्टको काम आगामी माघ १५ गतेसम्म बन्द गरिएको जनाएको छ । उक्त कार्यालयका सवईन्जिनीयर धर्मराज बोहराका अनुसार सिमेन्ट र स्थानीय सामाग्री जम्मा गर्ने कार्य भने जारी छ । तर चिसोका कारण सिमेन्टको काम बन्द गर्नुपरिरहेको उनले बताए ।

सबै उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सिमेन्टको काम अगाडि नबढाउन परिपत्र गरिएको कार्यालयले जनाएको छ । त्यसैगरी नाम्खा गाउँपालिकाले पनि आफ्ना केही सिमेन्टको काम गर्नुपर्ने आयोजनाको काम बन्द गर्नु परिरहेको जानकारी दिएको छ । सिमकोट गाउँपालिकाले सिमेन्टको काम बन्द गर्नुपरिरहेको जनाएको छ । गर्नुपर्ने योजनाको काम पनि चिसोले हघि बढ्न नसकेको गाउँपालिकाको भनाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार