पुल पुनर्निर्माणका कारण सडक अवरुद्ध



सुर्खेत ।

जिल्लाको वीरेन्द्रचोक र गणेशचोकबीचको पुरानो काठको पुलको पुनर्निर्माण गर्दा सडक अवरुद्ध भएको छ । पुरानो पुल जीर्ण र दैनिक आवतजावतमा सकस हुँदै गएपछि स्थानीय प्रशासनको निर्णयअनुसार सुरक्षित र आधुनिक पुुल बनाउन लागिएको हो । पुुल पुनर्निर्माण कार्यका कारण सडक अवरुद्ध भएपछि स्थानीयलाई आउजाउमा समेत सकस भएको छ ।

यस मार्गबाट हिँड्ने वा गाडी चलाउने स्थानीय बासिन्दा तथा यात्रुहरूले समेत वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । वैकल्पिक मार्ग प्रयोग नगरेमा जाम र सुरक्षा समस्याको सामना गर्नुपर्ने चेतावनी दिइएको छ । सडक विभागका कर्मचारीहरूले पुनर्निर्माण कार्यलाई छिटो र सुरक्षापूर्वक सम्पन्न गर्ने प्रयास गरिरहेका छन् ।

तर, स्थानीय प्रशासनले उक्त सडक मार्गमा आवश्यक चेतावनी संकेत, अवरोध सूचना र सुरक्षा व्यवस्थापन सुनिश्चित गर्दै आएको छ ।स्थानीयवासीहरूले पुलको निर्माणकार्य पूरा भएपछि आवतजावतमा सहजता आउने अपेक्षा गरेका छन् । दैनिक आवतजावतको लागि यो पुल मुख्य मार्ग भएकाले यसको पुनर्निर्माणले भविष्यमा सुरक्षित र दिगो आवागमन सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

यसैबीच कर्णाली प्रदेशमा कूल चार हजार १२५.६९ किलोमिटर सडक निर्माण भएको छ । तर कालोपत्रे सडकको हिस्सा ६.०४ प्रतिशत मात्र छ भने ७६.६५ प्रतिशत सडक कच्ची अवस्थामै रहेको तथ्यांकमा उल्लेख छ । यसले यातायातको सहजतामा ठूलोे चुनौती खडा गरेको छ ।पुष्पलाल मध्यपहाडी राजमार्ग, कर्णाली कोरिडोर, मदन भण्डारी राजमार्ग र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना जस्ता ठूला परियोजनाहरूको निर्माणकार्यले गति लिएको देखिए पनि समयमै सम्पन्न गर्न पूँजीको अभाव र भौगोलिक विकटता मुख्य बाधक बनेका पनि उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १० गते बुधबार