कोहलपुर (बाँके) ।
गरिमा विकास बैंक लिमिटेडले १९औँ वार्षिकोत्सव विविध कार्यक्रमम गरी मनाएको छ । बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको हो । वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको बैंकले जनाएको छ ।
बैंकले सुनसरीको इटहरी, पर्साको वीरगन्ज, चितवनको नारायणगढ, काठमाडौँको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, स्यन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ८ स्थानमा गरिएको रक्तदानबाट कूल ६०२ युनिट रगत संकलन गरिएको छ । यस्तै देशभरका १९ वटा स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिएको छ ।
सो अवसरमा १६ स्थानका विद्यालयहरूमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामाग्री वितरण गरिएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले बताए । उनका अनुसार दिवसकै अवसरमा श्री निस्कोट स्वास्थ्य चौकी म्याग्दीलाई सरसफाइ सामाग्री हस्तान्तरण गरिएको छ । मातातिर्थ वृद्धाश्रम समिति र चन्द्रागिरी काठमाडौँलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको उनले बताए ।
यसैगरी सत्य साई राष्ट्रिय परिषद् नेपाल चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरणसमेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको उनको भनाइ छ । त्यसैगरी ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ बैंकले मंसिर ६ गते गरिमा रोड २०८२ सम्पन्न गरिएको छ । रेसमा एक हजारभन्दा बढी धावकहरूको सहभागिता रहेको थियो । विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरूलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने उनको भनाइ छ ।
कोहलपुरमा ९१ पिन्ट रगत संकलन
गरिमा विकास बैंक लिमिटेडले १९औँ वार्षिकोत्सवको अवसरमा कोहलपुरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा ९१ पिन्ट रगत संकलन गरिएको छ । बैंकको चप्परगौडी शाखाका प्रबन्धक विष्णु पौडेलले विगतको भन्दा यसपटक बढी रगत संकलन गरेको बताए । शाखा प्रबन्धक पौडेलले ‘रगतदान, जीवनदान’ भन्दै सामाजिक सेवाअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले भने, ‘रगतदान एक सामाजिक कार्य हो । मुत्युसँग जुधिरहेको मानिसलाई एक पिन्ट रगत दिँदा कसैको जीवन बच्छ भने यस्तो पुण्य काम किन नगर्ने त ? जति हामीले रगत संकलन गर्न सक्यौँ रक्तदाताहरूलाई विशेष आभार व्यक्त गर्दछु ।’ नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा रक्तदान सम्पन्न भएको हो । स्थापना दिवसको अवसरमा शाखाले प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्