कैलाली ।
सुदूरपश्चिम प्रदेशमा एक हजार तीन सय ६२ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा तीन लाख ५६ हजार ५ सय ५१ जनामा परीक्षण गर्दा एक हजार तीन सय ६२ जना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालयको तथ्यांक रहेको छ । आर्थिक वर्ष २०७६–०७७ मा १४ हजार ३ सय ९८ जनालाई एचआईभी जाँच गर्दा २ सय ८८ जना एचआईभी संक्रमित भेटिएका थिए भने २०७७–०७८ मा ४० हजार ४ सय ४४ जनालाई जाँच गर्दा २ सय ७९ जनामा एचआईभी संक्रमण भेटिएको थियो ।
यस्तै २०७८–०७९ मा ९१ हजार ४४ जनामध्येलाई जाँच गर्दा ३ सय २५ जना एचआईभी संक्रमित देखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७९–८० मा एक लाख ४४ हजार ६ सय ४७ र २०८०–०८१ मा ६६ हजार १८ जनालाई जाँच गर्दा २ सय १८ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका सूचना अधिकारी धर्मानन्द गिरीले जानकारी दिए ।
सुदूरपश्चिमका अधिकांश कामको सिलसिलामा भारत जाने व्यक्तिहरूमा एचआईभी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय डोटीका एचआईभी फोकल पर्सन मनोजप्रसाद ओझाले बताए । उनले भने ‘सबैभन्दा बढी कामको खोजीमा भारत जानेहरूमा र उनीहरूको परिवारमा एचआईभी संक्रमण देखिएको छ । थोरै सङ्ख्यामा बच्चाहरूमा देखिएको छ भने केही सङ्ख्यामा ट्रान्सजेन्डरहरूमा पनि एचआईभी संक्रमण देखिएको छ ।’
सेती प्रादेशिक अस्पताल धनगढी, टिकापुर अस्पताल, लम्कीचुहा अस्पताल, मालाखेती अस्पताल, महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल दार्चुला, जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार अछाम, प्राथमिक स्वास्थ्य केन्द्र केसरपुर बैतडी, दोधारा प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुर, जोगबुढा अस्पताल डडेलधुरा र वालपाटा अस्पताल अछाममा एचआईभी संक्रमितहरूको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका एचआईभी फोकल पर्सन ओझाले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्