नेपालगन्ज ।
आज सर्पको पूजा गरी नाग पन्चमी पर्व मनाइँदै छ । हिन्दु समुदायले श्रावण शुक्ल पक्षको पन्चमीका दिन मनाउने यस पर्वले दिनुका साथै सर्प तथा सरीसृपप्रजातीका जीवको प्रकोपबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ । साथै, यस पर्वले प्रकृतिसँग मानवको सामन्जस्यतको सन्देश पनि दिने गरेको छ । वैदिक शास्त्रहरूमा १२ वटा नागहरूको वर्णन रहेको छ ।
जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्षका र पिङ्गला गरी १२ वटा नागको पूजा गर्ने गरिन्छ । नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आ–आफ्नो यजमानको घरमा पुगेर दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँसिदिने परम्परागत चलन रहेको छ । यसरी टाँसिएको नागको चित्रले वर्षभरी विपत्तिबाट रक्षा गर्ने जनविश्वास रहिआएको छ ।
नाग पन्चमीको शास्त्रीय आधार महाभारत ग्रन्थसँग जोडिएको छ । महाभारतमा राजापरीक्षितलाई तक्षकका नाम गरेको नागले डसेर मृत्यु भएपछि परीक्षितका छोरा जन्मेजयले बुवाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्न महायज्ञ गरेको प्रसंग छ । उक्त यज्ञको आगोमा जलेर तक्षक बाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भस्म हुन्छन् । स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्षक पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मेजयसम्म आइपुग्छन् ।
सबै नागहरूको सफाया हुने स्थिति आएपछि मानसदेवीका पुत्र अस्थिकाले जन्मेजयसमक्ष माफी मागेको र जन्मेजयले यज्ञ स्थगन गरेपछि यज्ञमा होमिएका सबै सर्पहरूले पुनर्जीवन पाएको प्रसँग छ । त्यसरी सर्पहरूले पुनर्जीवन पाएको दिनकै सम्झनामा नागको पूजा हुन थालेको मान्यता छ । आजका दिन नाग देवताको पूजा गर्दा दूध, मिठाई, फूल अनि धानको लाभा चढाउने गरिन्छ । नागको पूजापछि सर्प प्रजातीहरूले दुःख नदिने विश्वास गरिन्छ । अर्काेतर्फ यस पर्वलाई वर्षामास सकिएपछिको पहिलो पर्वमा रूपमा पनि लिने गरिन्छ । यसपछि अन्य पर्वहरूको पालो आउने गर्दछ ।
अवध क्षेत्रको गुडिया पर्व पनि आजै
यता अवध क्षेत्रमा पनि यस दिन गुडिया पर्वको नाममा यो पर्व मनाउने गरिन्छ । बाँकेका अवधी समुदायहरूले पनि यस पर्वमा बालबालिकाहरू भेला भएर गुडिया पिट्दै मनाउने गर्दछन् । यसदिन टोलका अगुवाहरूले बिहानै नुहाएर घरको वरिपरि गाईको गोबरले चिन्हो तानेर गोबर चक्र बनाउने गर्दछन् । सो चक्रले घरमा सर्पलाई आउनबाट रोक्ने यहाँ धार्मिक विश्वास रहिआएको छ। यसैगरी नागको पुजाका क्रममा दूध र भिजाएको काँचो चनाबाट बनाइएको घुघरी नामको परिकार चढाइने गरिन्छ र घरको ढोकामा नाग टाँसेर पूजा पनि गरिन्छ ।
यस दिन युवायुवती गीतसङ्गीत गाएर पिङ खेल्ने र साँझपख सबै बालिकाहरूले कपडाको गुडिया बनाएर भुइँमा हाल्ने र बालकहरूले लठ्ठीले गुडिया पिट्ने चलन रहेको छ । यस दिन घुघरीका साथै पुरी, तरकारी, खिर, अचार, गुल्गुला बनाएर खाने चलन पनि रहेको अवधी संस्कृतिका जानकार सच्चिदानन्द चौवे बताउँछन् । यो पर्वमा विवाहित छोरीलाई पनि घुघरी पठाउने चलन रहेको उनले बताए ।









प्रतिक्रिया दिनुहोस्