
वीरेन्द्र जैसी । नेपालगन्ज ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) चुनावअघि सुदूरपश्चिम प्रदेशको भ्रमणमा आएका बखत उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेका थिए, ‘सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई’ । पछिल्लो समय उनको उक्त स्टाटस पुनः चर्चामा छ र त्यो चर्चामा हुनुको कारण तीन वटा प्रज्ञा प्रतिष्ठानमाको प्राज्ञ परिषद्मा नियुक्तिहरू गरिँदा एक जना पनि सुदूरपश्चिको प्रतिनिधित्व नहुनु ।
नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान एवं संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान गरी तीनवटै प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभाका सदस्य र प्राज्ञ परिषद्का सदस्यहरू प्रधानमन्त्रीले मनोनित गर्ने व्यवस्था छ । जसमध्ये प्राज्ञ परिषद् कार्यकारी निकाय हो भने सभासद्हरूले प्रतिष्ठानको वर्षमा कम्तिमा दुईपटक बस्ने बैठकमा सहभागिता जनाउन पाउँछन् । प्राज्ञ परिषद्मा प्रतिष्ठान स्थापना भएको करिब साढे सात दशकमा १४ पटक गठन हुँदा सुदूरपश्चिमका जम्मा एकजना मात्रै मनोनित भएका छन् ।
यसपटक पनि सुदूरपश्चिमका एकजना पनि परिषद् सदस्यमा मनोनित गरिएको छैन् । संस्कृति, पर्यटन ता नागरिक उड्ययनमन्त्रीको सिफारिसमा प्रधानमन्त्री शाहले साउन २० गते नियुक्त गरेका परिषद् सदस्यहरूको सूची शुक्रबार सार्वजनिक भएको थियो । उक्त सूची सार्वजनिक हुँदा तीनवटै प्रज्ञा प्रतिष्ठानमा सुदूरपश्चिमको प्रतिनिधित्व नदेखिएपछि उक्त प्रदेशका साहित्यकार तथा कला संस्कृतिकर्मीहरू क्रुद्ध बनेका छन् ।
उनीहरूले साहित्यकार नै संस्कृतिमन्त्री रहेको बेला पनि सुदूरपश्चिमलाई अपहेलना गरिएको भन्दै तीव्र आपत्ति जनाएका छन् । राजतन्त्र कालमा राजकीय प्रज्ञा प्रतिष्ठान र पछि नेपाल प्रज्ञा प्रतिष्ठानको इतिहासमा १४ पटक प्राज्ञ परिषद् गठन हुँदा २०६६ सालमा प्रा.डा. महादेव अवस्थी मनोनित गरिएका थिए । अवस्थी पनि सुदूरपश्चिमको बैतडीमा जन्मिएपनि काठमाडौँलाई नै कर्मथलो बनाउँदै आएका व्यक्ति थिए । त्यसभन्दा अघि र त्यसपश्चात अहिलेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्मा एक जना पनि मनोनित भएका छैनन् ।
यसपटक पनि सुदूरपश्चिमको प्रतिनिधित्व नभएपछि यस क्षेत्रका साहित्यकर्मी तथा कलाकर्मीहरूले विरोध जनाएका छन् । कथाकार ललित विस्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अहिले सुशासन, पारदर्शिताको नाममा बनेको सरकारले पनि सुशासनको नाममा राज्यलाई आसेपासे व्यवस्था बनाएर संस्थागत गर्दै गइरहेको छ । यसको उदाहरण हो, फारम भरेको नाटक अनि मन्त्री गनेस पौडेलज्युले फोन गर्दै धमाधम नियुक्त गरेर सुशासनमाथि भद्दा निर्बस्त्र नाच गरे । हामिले पनि नागरिक भएर भएर हेरिरहेका छौँ, तपाईँको इमान्दारिता र सुशासन ।’
कवि हेमन्त शिशिरले प्रश्न गरेका छन्, ‘सुदूरपश्चिमका लेखकहरूले प्रज्ञामा कहिल्यै सहभागिता नपाउने हो ? परिषद्मै समावेश नगरिएको कति वर्ष भयो ? यतिसम्म पनि उपेक्षा गर्न मिल्छ ? हामी जरूर जवाफ दिनेछौँ ।’ प्राज्ञ परिषद्मा रहने कुलपतिले मन्त्रीसरहको पारिश्रमिक पाउँछन् भने उपकुलपतिले सहायक मन्त्रीसरह र सदस्य तथा सचिवलाई मुख्यसचिव सरहको पारिश्रमिक प्राप्त हुने नियमावलीमा व्यवस्था छ ।
हुनत सुरुमा कथाकार रामलाल जोशीलाई प्रतिष्ठानमा सदस्य सचिव बनाउन लागिएको चर्चा चुहाइएको थियो । त्यसपछि जोशीले आफूले सदस्य सचिव नभै कुलपति नै बनाउन आग्रह गरेको तर उक्त कुरा नस्वीकारिएको स्पष्टिकरण दिएका थिए । अहिले परिषद्मा नै सुदूरपश्चिमबाट प्रतिनिधि नअटाइएपछि सम्बद्धहरू रुष्ट भएका हुन् ।
जेनजी आन्दोलनकी अगुवा रक्षा बमले पनि यस विषयमा प्रतिक्रिया दिँदै व्यंग्य गरेकी छन्, ‘नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका हालैका नियुक्तिहरूमा सुदूरपश्चिमको प्रतिनिधित्व शन्Òय । उफ ! कति झिक्कै माया हो सुदूरलाई ?’
नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित ११ जना प्राज्ञ परिषद् सदस्य मनोनयन गरिन्छन् भने अरु दुई प्रतिष्ठानमा नौ–नौ जना मनोनयन गरिने व्यवस्था छ । जसअनुसार प्रधानमन्त्रीले नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति पदमा सिन्धुलीका कुमार नगरकोटी, उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य–सचिवमा रुपन्देहीका रोशन शेरचनलाई मनोनयन गरेका छन् ।
त्यसैगरी परिषद् सदस्यहरूमा काठमाडौँकी प्रतिसरा मानन्धर, दाङका कृष्ण राज चौधरी, तेह्रथुमकी सीता सुब्बा, कास्कीका तिर्थ बहादुर गुरुङ, सिराहाकी रुपा कुमारी, दाङका नविन नेपाली, काभ्रेका दिपक सापकोटा र सुर्खेतका दुर्गा बहादुर घर्तीलाई मनोनयन गरिएको छ । यसैगरी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा ललितपुरकी एरिणा ताम्राकार, उपकुलपतिमा ललितपुरकै चन्द्र श्याम डंगोल र सदस्य–सचिवमा दोलखाका कैलाश कुमार श्रेष्ठलाई मनोनित गरिएको छ । प्रतिष्ठानका परिषद् सदस्यहरूमा काठमाडौँका जुपिटर प्रधान, झापाका कुबिर देवान, ललितपुरकी संगी श्रेष्ठ, बाँकेका ध्रुवराज शर्मा, सिराहाका ओम प्रकाश यादव र ललितपुरकी विणा पौड्याललाई मनोनित गरिएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपति पदमा काठमाडौँका ब्रजेश खनाल मनोनयन गरिँदा उपकुलपतिमा ताप्लेजुङकी झुमा लिम्बू र सदस्य–सचिवमा मोरङका भुपेन्द्र सिंह रायमाझीलाई मनोनित गरिएको छ । यस्तै परिषद् सदस्यहरूमा झापाका छेन्दोक साङ्ग राई, भक्तपुरका जीत बहादुर देउजा, ललितपुरकी सुबिमा श्रेष्ठ, बर्दियाकी सरस्वती चौधरी, भोजपुरका राजन मुकारुङ र धादिङकी रेखा शाह गुरुङ मनोनित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्