‘महिला साहित्यकारमाथि साहित्यिक तथा प्राज्ञिक संस्थाबाटै विभेद’



नेपालगन्ज ।

साहित्यकार शिवानीसिंह थारू र निभा शाहले महिला साहित्यकारहरूमाथि साहित्यिक तथा प्राज्ञिक संस्थाहरूले नै विभेद गरिरहेको बताएका छन् । नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिले आयोजना गरेको ‘साहित्यमा महिला हस्ताक्षर ः विश्व र नेपाल’ शिर्षकको विशर्म कार्यक्रममा बोल्दै उनीहरूले उक्त कुरा बताएका हुन् । उनीहरूले पुरस्कार दिँदा र विद्यालय तथा विश्वविद्यालयका पाठ्यपुस्तकहरूमा महिला लेखिकाहरूले प्राथमिता पाउने स्थिति अझै नआइसकेको बताए ।

‘विश्वविद्यालयका पाठ्यक्रममा कति महिला लेखिकाका रचनाहरू समावेश छन् भन्ने माग्यो भने उहाँहरूले तथ्यांक दिन सक्नुहुन्न । हामीले हेर्दापनि महिला लेखिकाहरूका रचनाहरू पढ्न पाइँदैन,’ कवि शाहले भनिन् । साहित्यकार थारूले साहित्यका पुरस्कार दिने संस्थाहरूले महिला लेखिकाहरूलाई पुरस्कार दिन पनि कन्जुस्याईं र विभेद गर्ने गरेको आरोप लगाइन् । उनले प्रायः पुरस्कार दिने संस्थाहरूले छनौट समितिमा रहेकाहरूको नाम सार्वजनिक नगर्ने गर्दा उनीहरू शंकाको घेरामा रहीरहने बताइन् ।

‘जबसम्म छनौट समितिमा को छन् भन्ने कुरा पुरस्कार प्रदान भइसकेपछि पनि सार्वजनिक हुँदैन तब त्यहाँ निश्चित विचारधारा भएका वा वर्गका व्यक्तिहरू मात्रै छन् भन्ने आशंका रहिरन्छ । र त्यसमा पुरस्कार पाउने कृतिहरूको विषय प्रायः उस्तै रहनुले पनि बल पुर्याउँछ ।’ साहित्यकार शाहले राज्य संरचना र सत्ता कसको छ भन्ने कुराले साहित्यमा कस्तो पुस्तकलाई प्रश्रय दिइन्छ भन्ने निर्धारण गर्ने बताइन् । उनले अहिले पनि आलोचनात्मक चेत भएका र गुणवत्ता भएका कृतिहरूलाई पुरस्कार नदिइने गरेको बताइन् । उनले सरकारमा वा निश्चित पदमा महिला पुग्नुले मात्रै सत्तामा महिलाको सहभागिता बढेको मान्न नसकिने बताइन् ।

उनले हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिताले मात्रै सत्तामा महिलाको पहुँच पुगेको मानिने बताइन् । दुवै साहित्यकारहरूले महिला लेखिकाहरूको आर्थिक स्वायत्तता, पारिवारिक साथ र संस्थागत प्रवद्र्धनले मात्रै महिला लेखिकाका सृजनाको स्तर वृद्धि हुनसक्नेमा एकमत जनाए । उनीहरूले नेपाली महिला लेखिकाका साहित्यिक कृतिहरू पनि विश्व साहित्य तथा क्षेत्रीय साहित्यको तुलनामा प्रभावशाली रहेको र ती कृतिहरूको अनुवाद हुन जरुरी रहेको पनि बताएका छन् । साहित्यकार किरण आचार्यको अध्यक्षतामा भएको उक्त विमर्श कार्यक्रममा महिला साहित्यकारका विविध सवालहरूमा सहभागी र लेखिकाद्वयबीच अन्तक्र्रिया भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार